कोरोनाविरुद्ध भर्चुअल बैठकमा जुटे चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका दल

जगदीश्वर पाण्डे

काठमाडौँ — कोरोना महामारीविरुद्ध दुवै मुलुकका राजनीतिक दलले संयुक्त लडाइँ थाल्नुपर्ने जनाउँदै चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) र नेपालका राजनीतिक दलहरू भर्चुअल बैठकमा जुटेका छन् । 

कोरोनाविरुद्ध भर्चुअल बैठकमा जुटे चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका दल

बेइजिङबाट प्राप्त सूचना र नेपाली नेताहरूका अनुसार ‘महामारीविरुद्ध लड्न र जनताको जीवन रक्षा गर्न सँगै काम गर्ने तथा चीन र नेपालका राजनीतिक दलहरूको महामारीविरुद्ध संयुक्त लडाइँ’ शीर्षकमा बैठक भइरहेको छ ।

सीसीपीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागले आयोजना गरेको बैठकको नेतृत्व विभागका प्रमुख सोङ ताओले गरिरहेका छन् ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेपाल मजदुर किसान पार्टीलगायतका नेताहरू सहभागी छन् । नेकपा एमालेबाट महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, कांग्रेसबाट नेता नारायण खड्का, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल र कृष्णबहादुर महराले सहभागिता जनाएका छन् । जसपाबाट अध्यक्ष उपेन्द्र यादवले सहभागिता जनाएका छन् ।

सीसीपीले नेपालका राजनीतिक दलहरूसँग यसरी बैठक गर्न लागेको यो पहिलोपटक हो । यसअघि पनि विदेश विभागले भर्चुअल र नेपालमै आएर कार्यक्रम गर्दा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा पार्टीसँग मात्र गर्दै आएको थियो ।

नेकपा फुटेपछि सीसीपीले यसपटक एमाले र माओवादी केन्द्रसहित अन्य राजनीतिक दललाई पनि छलफलमा सहभागी गराएको हो ।

सीसीपीको विदेश विभागले यसअघि काठमाडौंमै आएर चिनियाँ राष्ट्रपति सी चिनफिङको ‘सी विचारधारा’ बारेमा समेत नेकपाका नेताहरूलाई कक्षा दिएको थियो ।

प्रकाशित : जेष्ठ १२, २०७८ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?