ओली हटाएर सर्वपक्षीय सरकार बनाउनु पर्ने बुढाथोकी नेतृत्वको माओवादी केन्द्रको निष्कर्ष 

जेष्ठ ९, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कर्णजीत बुढाथोकी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले केपी ओली सरकारलाई सत्ताच्युत गर्दै सर्वपक्षीय सरकार बनाउनु पर्ने निष्कर्ष निकालेको छ । 

जेठ ७ र ८ गते बसेको स्थायी कमिटी बैठकले कोरोना महामारीको कहालीलाग्दो अवस्थामा संसद् विघटन गरेका ओलीलाई निरंकुशको संज्ञा दिँदै उनलाई हटाएर जनउत्तरदायी राष्ट्रिय सर्वदलीय, सर्वपक्षीय सरकार गठन गर्नुपर्ने निष्कर्ष निकालिएको आइतबार विज्ञप्तिमार्फत जनाइएको हो । त्यस्तै कांग्रेस, एमाले, प्रचण्ड समूहहरुको सत्ता स्वार्थको गैर राजनीतिक जिम्मेवार जनविरोधी हर्कतविरुद्ध पनि उत्रन पार्टीपंक्तिलाई माओवादी केन्द्रले आह्वान गरेको छ । 

यस्तै प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधनिक, स्वेच्छाचारी ढंगले जेठ ७ गते दोस्रो पटक संसद् विघटन गरेकोमा आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै माओवादी केन्द्रले उक्त कदमको घोर भर्त्सना गरेको छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको यस कदम कांग्रेसले पनि तत्कालीन राष्ट्रपति रामवरण यादवलाई अलोकतान्त्रिक, असंवैधानिक हर्कत लर्न लगाएको घटना स्मरण गराउँदै त्यसकै निरन्तरता भएको र उच्च रुपमा एमालेले राष्ट्रपतिलाई दुरुपयोग गरिरहेको ठहर गरिएको छ । 

यस्तै बैठकले कोभिड-१९ का कारण राष्ट्रिय भेला स्थगित गर्ने र कोभिड १९ महामारीलाई मध्यनजर गर्दै अध्यक्ष बुढाथोकीको संयोजकमा कोरोना रोग प्रतिरोध तथा व्यवस्थापन कार्यदल गठन गर्ने निर्णय गरेको अध्यक्ष बुढाथोकीले जनाए । उनका अनुसार कार्यदलमा पार्टी पदाधिकारी, स्थायी समिति, राजनीति परिषद्, केन्द्रीय समिति, प्रदेश अध्यक्ष र जबस प्रमुख रहने छन् ।

कान्तिपुर

Link copied successfully