कान्तिपुरको कार्टुनलाई लिएर प्रधानमन्त्री ओलीको आपत्ति

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कान्तिपुर दैनिकमा प्रकाशित कार्टुनलाई लिएर आपत्ति जनाएका छन् । आइतबार बालुवाटारमा आयोजित पार्टी निकट पत्रकारहरुसँगको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कान्तिपुर दैनिकको प्रथम पृष्ठमा प्रकाशित कार्टुनलाई लिएर आपत्ति जनाएका हुन् ।

कान्तिपुरको कार्टुनलाई लिएर प्रधानमन्त्री ओलीको आपत्ति

‘आज एउटा प्रेत संस्थाको भिमकाय फोटो बनाएर, प्रेत संस्थाको प्रतिकको फोटो बनाएर त्यसको खल्तीमा राष्ट्रपतिलाई राखेको कति आनन्द आएको होला लोकतन्त्रका नाममा यसप्रकारका घृणित क्रियाकलाप गर्न,’ ओलीले भने, ‘राजतन्त्र भनेको एउटा प्रेत संस्था हो । त्यो प्रेत संस्थाको विकराल फोटो बनाउने र जनताबाट निर्वाचित जनप्रतिनिधित्व, गणतन्त्रको प्रतिक रहेको संस्थालाई प्रेत, सामन्ती संस्थाको लगेर खल्तीमा राख्ने ।’

यस्ता क्रियाकलाप लोकतन्त्रले दिएको स्वतन्त्रताको हकको दुरुपयोग भएको ओलीको दाबी छ ।

यस्तै, प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा ५ लाई राष्ट्रपतिको स्वविवेकीय अधिकारको प्रयोग गर्ने एउटा मात्रै ठाउँ भएको भन्दै त्यसमा उजुरी नलाग्ने दाबी गरे । ‘म कानुनविद्, संविधानविद् मित्रहरु, बहसमा उत्रिएका बौद्धिक वर्गका मित्रहरुलाई आग्रह गर्दछु, राष्ट्रपतिको स्वविवेकीय अधिकारको प्रयोग गर्ने यो मात्रै ठाउँ हो । त्यसमाथि कहाँ उजुरी लाग्न वा त्यसमा कुनै हेरफेर गर्न सकिने स्थिति हुँदैन ।’संविधानमा भएको व्यवस्थाको अपव्याख्या गरेर अन्यथा दाबी गर्नु उचित नहुने ओलीको भनाइ छ ।

‘प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनका लागि मिति तोक्ने छ । संविधानको व्यवस्था हो यो । संविधानको धारा ७६(५) अनुसार सरकार बन्न नसकेपछि अर्को कुनै विकल्प छैन । यसमा कू कहाँ भयो ? केही बुद्धिजिवीहरु न्वारनदेखिको बल लगाएर बुद्धि र प्रतिष्ठाको गलत प्रयोग गरेर अपव्याख्यामा उत्रे,’ ओलीले भने ।

प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी दलहरु सर्वोच्च अदालतमा मुद्दा दर्ताको तयारी गरिरहेका बेला ओलीले त्यसप्रति पनि टिप्पणी गरे ।‘अब मोर्चा कसेर मुद्दा हाल्ने रे । सच्चाइ सच्चा नै हुन्छ । धेरेले मोर्चा कसेर बल पुर्‍याएको अर्थ हुँदैन । न्यायलाई मोर्चाले, दबाबले प्रभावित गर्न सक्दैन, गर्न हुँदैन,’ ओलीले भने, ‘संविधानको धारा ७६(५) अन्तरगत सरकार गठनका लागि समय दिएर दाबी पनि परेर । राष्ट्रपतिज्यूले आफूले आफ्नो अधिकारको प्रयोग गरेर भरपर्दो आधार नपुेको ठहर गर्नुभयो । राष्ट्रपतिले ठहर गर्दा दाबी नपुगेको देख्नु भयो ।’

विपक्षी दलले कन्फयुजन खडा गरेका कारण आफूले गरेको दाबीलाई राष्ट्रपतिले भरपर्दो नठानेको ओलीको भनाइ थियाे ।

प्रकाशित : जेष्ठ ९, २०७८ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?