विदेशमा रहेका नेपालीसामु सहयोगको अपील- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेशमा रहेका नेपालीसामु सहयोगको अपील

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संकटको यो समयमा विदेशमा रहेका नेपालीलाई सहयोग गर्न सरकारले आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नियोगहरुमार्फत सहयोगको लागि आह्वान गरेको हो । नेपालका विभिन्न मुलुकमा गरी ३० राजदूतावास, तीन संयुक्त राष्ट्रसघीय स्थायी नियोग र ६ वटा वाणिज्य दूतावास छन् ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार हरेक मुलुकमा रहेका नेपाली वा उनीहरु आवद्ध संघसंगठनलाई स्वास्थ्य सामग्री सहयोग गर्न अनुरोध गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिन्डर, पीपीई, अक्सिजन कन्सन्ट्रेटर, मास्क, पन्जालगायत अतिआवश्यक स्वास्थ्य सामग्रीको सूची परराष्ट्रलाई पठाएको थियो । ‘उक्त सूचीलाई नै हामीले विभिन्न नियोगहरुमा पठाएका छौं । त्यहीअनुसार सहयोग गर्नको लागि अनुरोध गरेका हौं,’ लम्सालले भनिन् ।

यसअघि कतार, बहराइन, ओमान, यूएई, कुवेत र साउदी अरेबियामा रहेका नेपालीहरुले खरिद गरी ५६० थान अक्सिजन सिलिन्डर नेपाल पठाएका थिए ।

प्रकाशित : जेष्ठ ४, २०७८ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्

नेपालमा फैलिएको कोरोना भाइरस ‘भारतीय डबल म्यूटेन्ट’

स्वरूप आचार्य

काठमाडौँ — नेपालमा पछिल्लो समय व्यापक रुपमा फैलिरहेको कोरोनामध्ये अधिकांश रुपमा भारतीय ‘डबल म्यूटेन्ट (बी.१.६१७)’ भाइरस रहेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार गत साता ३५ वटा नमुना संकलन गरेर जीन सिक्वेन्सिङ गर्दा ३४ वटामा भारतीय ‘बी.१.६१७.२’ र एउटामा ‘बी.१.६१७.१’ भाइरस रहेको पाइएको मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनस्थित उच्च स्रोतका अनुसार भने नेपालमा हाल फैलिरहेकोमध्ये ७० प्रतिशत भाइरस भारतीय डबल म्यूटेन्ट हो भने बाँकी ३० प्रतिशत यूके भेरियन्ट तथा पुरानै भेरियन्ट हो । ‘हामीले आन्तरिक रुपमा अध्ययन गर्दा अधिकांश रुपमा भारतीय डबल म्यूटेन्ट नै हाल व्यापक रुपमा फैलिएको पाएका छौं,’ नाम उल्लेख नगर्ने सर्तमा विश्व स्वास्थ्य संगठनस्थित स्रोतले भन्यो, ‘अहिले मन्त्रालयले गराएको जीन सिक्वेन्सिङले त्यसैलाई पुष्टि गरेको छ । डबल म्युटेन्टको अन्य उपक्रम पनि फैलिएको देखिनु चिन्ताको विषय हो ।’ उनका अनुसार ‘बी.१.६१७.१’ र ‘बी.१.६१७.२’ विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ भनेर घोषणा गरेको ‘बी.१.६१७’ कै उपक्रमहरु हुन् ।

'बी.१.६१७ लिनेज आफै‌ंमा धेरै संक्रामक छ भनेर पुष्टि भएको छ । त्यसको सब लिनेज बी.१.६१७.१, बी.१.६१७.२ हुन् । आनुवांशिक उत्परिवर्तन भएर यस्ता धेरै सब लिनेजहरु देखिन सक्छन् । त्यसैले त्यसमा भन्दा पनि बी.१.६१७ लाई नै फैलिनबाट रोक्नुपर्छ,' स्रोतले भने ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिअनुसार मन्त्रालयले ३५ वटा नमुना विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको भारतको सीएसआईआर– इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा जीन सिक्वेन्सिङका लागि पठाएको थियो । त्यहाँ गरिएको परीक्षण पछि नेपालमा हाल मुलभूत रुपमा कोरोना भाइरसका तीनवटा भेरियन्ट फैलिरहेको पुष्टि गरेको ।

विश्व स्वास्थ्य संगठनले वैशाख २७ गते भारतीय डबल म्यूटेन्ट भेरियन्ट (बी.१.६१७) लाई विश्वव्यापी ‘भेरियन्ट अफ कन्सर्न’ (याद गर्नुपर्ने भेरियन्ट) भनी घोषणा गरिसकेको छ । यो भाइरस सबै उमेर समूहमा धेरै संक्रामक तथा जोखिमपूर्ण रहेको पत्ता लागिसकेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले पहिलो लहरको समयमा कोरोना भाइरसको जीन सिक्वेन्सिङ गरेर अध्ययन गर्दा नेपाल तत्कालीन अवस्थामा फैलिएको भाइरसमा पनि केही आनुवांशिक परिवर्तन भने देखिएको थियो । तर, उक्त परिवर्तनले के कस्तो असर गर्छ वा गर्दैन भन्ने अध्ययन भने गरिएन ।


सच्याइएको : यसअघि प्रकाशित समाचारमा बी.१.६१७(डबल म्युटेन्ट भारतीय भेरियन्ट) हुनुपर्नेमा भुलवश अन्यथा उल्लेख हुन गएकोमा क्षमाप्रार्थी छौं ।



प्रकाशित : जेष्ठ ४, २०७८ २०:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×