प्रस्तावित राजदूत सुवेदी भन्छिन्– ‘सबै जना जान्नेबुझ्ने भएरै राजदूत भएका होइनन्’

‘सम्बन्धकै कुरा गर्ने हो भने यहाँ मेरो घरबाट प्रधानमन्त्री केपी शर्मा ओलीको घर ५ सय मिटर मात्रैको दूरीमा छ ।’

काठमाडौँ — विभिन्न ११ देशमा राजदूत नियुक्त गर्न परराष्ट्र मन्त्रालयले शुक्रबार नाम सिफारिस गरेकोमा डेनमार्कका लागि प्रस्तावित सुमित्रा सुवेदीको विस्तृत परिचय भने हत्तपत्त फेला परेन । ‘म मोफसलमा बस्ने राजनीतिक कार्यकता हुँ, केन्द्रमा नभएकैले तपाईंले परिचय नपाएको होला’ भन्दै शनिबार झापाको दमकबाट फोन सम्पर्कमा आएकी ६० वर्षीया सुवेदीले आफूलाई ‘पूर्णकालिक राजनीतिक कार्यकर्ता’ भन्न रुचाइन् । राजनीतिमा प्रवेश गर्नैका लागि विद्यालय तथा क्याम्पसमा प्राध्यापन गर्न छाडेको बताउने सुमित्रा सुवेदी (भण्डारी) राजदूतमा आफ्नो नाम प्रस्तावित भएपछि आफैं छक्क परेकी रहिछन् ।

प्रस्तावित राजदूत सुवेदी भन्छिन्– ‘सबै जना जान्नेबुझ्ने भएरै राजदूत भएका होइनन्’

नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल महिला संघको झापा जिल्लामा तीनपटक अध्यक्ष बनेकी सुमित्राले संघको केन्द्रीय सदस्य तथा नेपाल परिवार नियोजन संघमा पूर्व केन्द्रीय उपाध्यक्षको तहमा काम गरेकी छन् । दमकस्थित खानेपानी उपभोक्ता समितिमा समेत प्रतिस्पर्धी उम्मेदवार रहेकी उनी जिल्लाको शिक्षा समितिमा सदस्य छिन् । प्रस्तावित राजदूत सुवेदीसँग कान्तिपुरका देवेन्द्र भट्टराईले गरेको संक्षिप्त फोनवार्ता :

तपाईंलाई कूटनीतिक जगत्‌का बारेमा केकति जानकारी छ ?

भन्नैपर्ने हुन्छ, अब यो कूटनीति मेरा लागि नयाँ फिल्ड हो । तर पनि देशको अन्तरसम्बन्धका बारेमा र द्विपक्षीय सम्बन्धहरू कसरी विकास गर्नुपर्छ भन्नेबारे म जानकार छु । सम्बन्ध विस्तारमा के–के सम्भावना छन्, नेपालसँग जोडिन सक्ने द्विपक्षीय र बहुपक्षीय क्षेत्रहरू के–के हुन सक्छन् भन्नेबारे अवगत छु । म अर्थशास्त्रकी विद्यार्थी भएकाले सामान्यतया सम्बन्धको आयाम र अन्तरसम्बन्धबारे केही पढेकी छु ।

कूटनीतिको सारभूत पक्षबारे जानकार नभएकै अवस्थामा द्विपक्षीय वा बहुपक्षीय सम्बन्ध वा सहयोग–समन्वयको काम गर्न मुस्किल पर्छ कि भन्ने लाग्दैन ?

काम गर्न सक्ने–नसक्ने भन्ने कुरा मुलुकको राजनीतिक स्थिरतामा पनि भर पर्छ । यता आफ्नो घरमा राजनीतिक स्थिरता नभईकन बाहिरबाट कुनै पनि मुलुकले लगानी गर्न वा सहयोग परिचालन गर्न कठिनाइ मान्छन् नै । अस्थिरताको अवस्थामा कुनै पनि प्रोजेक्ट दिन अरू मुलुक सशंकित हुन्छन् नै । कुनै पनि काम गरिसकेपछि जस उनीहरूले पनि लिन खोज्छन्, यो स्वाभाविक छ । त्यो जस लिने सम्भावना भएन र योजना लागू गर्न सक्ने सम्भावना भएन भने अस्थिरतामा लगानी गर्नुको अर्थ केही छैन भन्ने स्वभावत: भइहाल्छ । यस कारण काम गर्ने/नगर्ने कुरामा कुनै राजदूतलाई दोष दिनुभन्दा पनि घरभित्रकै राजनीतिक स्थायित्वलाई दोष दिनुपर्ने हुन्छ जस्तो मलाई लाग्छ । फेरि कूटनीतिक स्थिरताका लागि पनि राजनीतिक स्थिरता र स्थायित्व चाहिन्छ नै ।

तपाईं एउटा समृद्ध युरोपेली मुलुकमा राजदूत भएर जाने सूचीमा पर्नुभएको छ । भाषागत कठिनाइ र अरू शिष्टाचारका पक्षबारे कत्तिको जानकार हुनुहुन्छ ?

मान्छे जन्मँदैखेरि केही पनि जानेर वा बुझेर आएको हुँदैन । सबैथोक सिकेर जान्ने कुरा हो । सधैंभरि यही लोकल ठाउँमा बसेर यहीँ वरपरको मात्रै कल्पना गरेर पनि हुँदैन । फेरि सबैजना जान्ने–बुझ्ने भएर मात्र राजदूत बनेर गएका त होइनन् होला । एउटै मान्छेमात्रै कुनै मुकाममा राजदूत भएर बसिरहने कुरा पनि आउँदैन, नयाँ मान्छे पनि जानैपर्छ । कतिपय कुरा गएरै सिकिन्छ । डेनमार्क भनेको मानवअधिकार तथा विकास समृद्धिका अनेक आयामका कुराले चिनिएको मुलुक हो । त्यस कारण सिक्नमा केही समस्या हुन्छजस्तो मलाई लाग्दैन । जहाँसम्म भाषाको कुरा छ, भाषा भनेको आफूले बोलेको कुरा अरूलाई बुझाउन सक्ने माध्यम मात्रै हो । बुझाउन सक्ने कन्फिडेन्स हुनुपर्‍यो, त्यो मसँग छ । अंग्रेजीमा फरर्र बोल्दै जाने कुराहरू भनेको सिक्दै जाने कुरा पनि हो । मेरा कति कमजोरी होलान्, मसँग कति ‘कन्फिडेन्स’ पनि होला । तर, यत्ति हो, दुई देशबीचको सम्बन्ध विस्तारमा केही काम गर्न सक्छु भन्ने विश्वास भने मसँग छ ।

राजदूत छनोट र नियुक्तिमा परराष्ट्रले एउटा ‘क्राइटेरिया’ बनाएको हुन्छ, छ पनि । तर तपाईंको हकमा कहीँकतै नातावाद–कृपावादका कारण यो स्थानमा आइपुग्नुभएको भन्ने टीका–टिप्पणी सुरु भएको छ नि ?

अब कसले, के–कसरी बुझ्छ, म त्यो भन्न सक्दिनँ । तर सम्बन्ध त जसको जहाँ पनि हुन सक्छ । त्यसै भन्ने हो भने यहाँ (दमक) मेरो घरबाट प्रधानमन्त्री केपी शर्मा ओलीको घर ५ सय मिटर मात्रैको दूरीमा छ । हेर्नुस्, २०३६ सालमा धरानमा क्याम्पस पढ्दैदेखि म विद्यार्थी आन्दोलनको राजनीतिमा होमिएकी हुँ । म आफ्नै राजनीतिक योगदान, पहिचान र करियर लिएर अगाडि बढेकी महिला हुँ । बरु, यस्तै अनेक सम्बन्धका कारण मेरो योगदान ओझेलमा परेको हो भन्ठान्छु म । कुनै सम्बन्धका कारण मैले कतै ठाउँ नपाउनुपर्ने कुनै कारण छैन । हामी राजनीतिमा लागिरहनेका हकमा के हुन्छ भने बेलाबेलामा कुनै पदका लागि नाम चल्छ, फेरि सेलाउँछ । फेरि कतै नाम आउँछ, फेरि ब्याक हुन्छ । कतै मसँग सम्बन्धको कुरा आउँछ, कतै मेरो मोफसल बसाइको । यो सबै खेप्दै–खेप्दै म यहाँसम्म आएकी हुँ । मेरा लागि पनि अहिलेको निर्णय आकस्मिकझैं छ । जे होस्– केन्द्रको नजरमा परिएछ भन्ने भएको छ । यस्तो निर्णय र प्रस्तावनामा विरोध भएन भने फेरि रमाइलो पनि हुँदैन ।

प्रकाशित : जेष्ठ २, २०७८ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?