इजरायलमा कार्यरत नेपाली श्रमिकको चिन्ता

जेरुसेलममा कार्यरत श्रीराम अधिकारीले भने, ‘रकेटबाट सुरक्षित रहन जताततै आइरन डोम छ । यहाँका मान्छेहरु त्यति धेरै डराएको देख्दिनँ । बजार खुल्ला नै छ । किनमेल गर्नेहरुको भीड छ । सडकमा मान्छेहरु हिंडिरहेकै छन् । रेल दौडिरहेको छ । गाडी कुदिरहेकै छ । तर यहाँ कार्यरत नेपाली साथीभाइको फेसबुक हेर्ने हो भने कसैको मनमा चैन छैन ।’
होम कार्की

काठमाडौँ — हेटौंडाका श्रीराम अधिकारी इजरायलको विवादित राजधानी जेरुसेलमा केयर गिभरको काम गर्छन् । बुधबार मध्यान्हको एक फोन सम्पर्कमा अधिकारी जेरुसेलमको हाटबजार (सुख)तिर किनमेलमा निस्किएका थिए ।

इजरायलमा कार्यरत नेपाली श्रमिकको चिन्ता

हाटबजारमा सोमबार रातिदेखि इजरायल र प्यालेस्टाइनको सीमामा चर्किंदै गएको द्वन्द्वको डर देखिएको थिएन । प्यालेस्टिनी विद्रोही समूह हमासले हजारभन्दा बढी रकेट प्रहार गरिसकेको छ । जेरुसेलमको केन्द्रतिरको जनजीवन सामान्यझैं देखिन्थ्यो ।

‘रकेटबाट सुरक्षित रहन जताततै आइरन डोम छ । यहाँका मान्छेहरु त्यति धेरै डराएको देख्दिनँ । बजार खुल्ला नै छ । किनमेल गर्नेहरुको भीड छ । सडकमा मान्छेहरु हिंडिरहेकै छन् । रेल दौडिरहेको छ । गाडी कुदिरहेकै छ,’ जेरुसेलमको बर्णन गर्दै उनी भन्दै थिए, ‘यहाँ कार्यरत नेपाली साथीभाइको फेसबुक हेर्ने हो भने कसैको मनमा चैन छैन ।’

‘हिजो मेरो घरनजिकै झरेको बमले क्षति गराएको ठाँउ मर्मत कार्य हुँदै रहेछ । अहिलेसम्म हामी सबै नेपाली सुरक्षित रहेको जानकारी गराउँदै सबै नेपाली सुरक्षित र सजक रहनुहोला’, दीपिका भुसालले आफ्नो स्टाटसमा लेखेकी थिइन् । नीतु खतिवडाको स्टाटस थियो, ‘कर्मभूमिमा कोरोना भाइरस त नियन्त्रण भयो । बन्दुक, बारुदको हमला सकिएन । सबैजना सुरक्षित रहूँ, साइरन बज्नासाथ बंकरमा लुक्न आफू पनि जाऊँ, रोजगारदातालाई पनि लैजाऊँ । सबैको जय होस् ।’ सुनील श्रेष्ठले लेखेका थिए, ‘इजरायल बसाइमा आजको रात साह्रै डरलाग्दोसित बित्यो ।’

गैरआवासीय नेपाली संघ इजरायलका अध्यक्ष गणेश गिरिको सन्देश थियो,‘ स्थिति तनावपूर्ण देखिएकोले इजरायलको जुनसुकै क्षेत्रमा कार्यरत नेपाली दाजुभाइ–दिदी बहिनीलाई सतर्क र सुरक्षित रहन हरबखत चनाखो रहनुहोला । कहीं कतै केही समस्या भइहालेमा सूचना आदानप्रदान गर्दै एकअर्कामा सम्पर्कमा रहनुहोला ।’

गाँजाक्षेत्रमा इजरायली सेनाले कसरी प्रतिक्रिया जनाएको छ भन्ने अधिकारीले देखेका त छैनन् तर प्यालेस्टाइनीले प्रहार गरेको रकेट भने यतातिर मकैको फूल उठे जसरी आइरहन्छ । ‘टिभीमा हामीले महाभारतको युद्धमा प्रहार गरिएको वाँण एकआपसमा ठोक्किएर हावामै जलेर गायब भएको देखेका थियौं । त्यसरी नै यहाँ पनि उताबाट आएको रकेटलाई इजरायली पक्षले आकाशमै नष्ट गरिदिन्छ,’ उनले भने, ‘उताबाट रकेट आएपछि यहाँको राडर स्वचालित हुन्छ । माथि आकाशमा नै नष्ट गरिदिन्छ ।’

त्यो बुझेर होला गाँजाक्षेत्रबाट पनि एकैपटक २५/३० वटा रकेट फालिदिन्छ । ती सबैलाई आकाशमा नष्ट गर्न सक्तैन । केही भने भुईंमा झर्न आइपुग्छ । गाँजाक्षेत्रमा भने इजरायलबाट ठूलो मानवीय क्षति पुर्‍याइसकेको छ । जसको आलोचना संसारभर हुन थालिसकेको छ ।

१२ अक्टोबर २००८ मा अधिकारी इजरायलमा काम गर्न पुगेका थिए । नेपाली महिला र पुरुष श्रमिकका लागि इजरायल आकर्षक गन्तव्य बनेको थियो । बृद्धबृद्धाको स्यहारसुसार र कृषिक्षेत्रमा नेपालीले अवसर पाएका थिए । त्यतिखेर ३० हजार नेपाली पुगिसकेका थिए । ‘दक्षिणीभेग आश्केलनमा काम गर्थे । यो गाँजाको बोर्डर नजिकै पथ्र्यो । इजरायलको सबैभन्दा जोखिमक्षेत्र पथ्र्याे’, उनले भने, ‘जतिखेर पनि बमहरु झरिरहन्थ्यो । मेरो कोठाबाहिर थियो । रोजगारदाताको घरमा जाँदा आँउदा वस चढ्नुपर्ने थियो । बम आउनासाथ साइरन बज्थ्यो । त्यतिखेर बसले सुरक्षित ठाउँ लगेर हामीलाई बंकरमा राख्थ्यो । त्यसयता मलाई बानी नै परिरहेको छ ।’

२००८ पछि उनलाई २०१४ को दुई पक्षीय युद्धले डर देखाएको थियो । त्यसपछि फेरि अहिले द्वन्द्व चर्केको छ । पछिल्ला केही दिनदेखि जेरुसेलममा हिंसा भड्किइरहेको छ । जेरुसेलमस्थित अल अक्सा मस्जिदमा जान प्रतिबन्ध लगाइएपछि प्यालेस्टाइनका नागरिक क्रुद्ध भएका छन् । यो मस्जिदलाई इस्लाममा तेस्रो पवित्र स्थान मानिन्छ । यो यहुदीहरुको पनि पवित्र धार्मिक स्थल छ ।

सोमबार ‘जेरुसेलम दिवस’ मनाइरहँदा हिंसा भड्कियो । अरब–इजरायल युद्धपछि पूर्वी जेरुसेलममाथि कब्जा गरिएको सम्झनामा सोमबार जेरुसेलम दिवस मनाइएको थियो । प्यालेस्टाइन रेड क्रेसेन्ट सोसाइटीका अनुसार इजरायली प्रहरीसँगको झडपमा ३ सयभन्दा बढी घाइते भए ।

सन् १९६७ को मध्यपूर्वको युद्धपछि इजरायलले पूर्वी जेरुसेलममाथि कब्जा गरेको थियो । त्यसपछि उसले पूरा जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ । तर अन्तर्राष्ट्रिय समुदायले यसलाई मान्दैन । प्यालेस्टाइनले भने पूर्वी जेरुसेलमलाई भविष्यको एक सार्वभौम र स्वतन्त्र मुलुकको राजधानीका रुपमा लिँदै आएको छ । यही विषयमा प्यालेस्टाइन र इजरायलबीच विवाद रहिरहँदा पटक–पटक युद्धको रुप लिंदै आएको छ ।

सँधैभरि द्वन्द्व भइरहने हुनाले इजरायलमा हरेक घरमा बंकर निर्माण अनिवार्य छ । आपतकालीन अवस्थामा बंकरमा रहने हुनाले नेपाली श्रमिक आँत्तिहाल्ने गरेको छैन । २००९ देखि श्रमिक जान बन्द भएपछि नेपाली श्रमिकको संख्या दिन प्रतिदिन घट्दै गइरहेको छ । ‘२००९ अघिसम्म आएका नेपालीहरु नै छन् । लामो समय भएकाले धेरैजसो फर्किसके । आउन बन्द छ । फर्किनेहरु मात्रै भेटिन्छ’, अधिकारीले भने, ‘नेपालीहरु जोखिमयुक्त मानिएका तेल अभिभ, किरात मल्लाखी, आश्केलोन, विरसेबा, यस्दीरोड, नेतीवोततिर पनि छन् । ‘हाम्रो कमाइले गर्दा पनि जोखिम सहजै स्वीकार गरिएको होलाजस्तो लाग्छ’, उनले भने, ‘यहाँको न्युनतम तलब ४५ सय सेक्कल (करिब एकलाख ६५ हजार रुपैयाँ) छ । ओभरटाइमसहित दुईलाख ५० हजार रुपैयाँसम्म कमाइ गर्ने साथीहरु छन् ।’

इजरायलमा संयुक्त परिवारमा बस्ने चलन छैन । विवाहपछि बाउको घरमा छोरा बस्दैन । बुढाबुढीहरु आआफ्नो हिसाबले काम गरेर बसेका हुन्छन् । ‘डाक्टरले काम गर्न नसक्ने भनेपछि प्रमाणीकरण गरेपछि श्रमिक राख्न पाउँछ’, उनले भने, ‘त्यही भएर यहाँ केयर गिभरको ठूलो माग छ ।’

केयर गिभर भिसामा काम गर्न आएका श्रमिकले अर्को क्षेत्र रोज्न पाइँदैन । ‘पहिलो करार अवधि ५ वर्ष तीन महिना हुन्छ । रोजगारदाताको मृत्यु भएमा अर्को ठाउँमा काम गर्न पाउने विशेष भिसा पाउन सक्छ । त्यो भिसामा काम गर्नेलाई रोजगारदाताले स्वीकार गरुन्जेल काम गर्न पायो’, उनले भने, ‘पछिल्लो समय इजरायलमा जति नेपाली श्रमिक छन्, ती सबै नियमित र विशेष भिसा पाएकाहरु हुन् ।’

तेल अभिभस्थित नेपाली दुताबासका अनुसार एकहजार ८ सय ४४ जना दुतावासको रेकर्डमा छन् । त्यसबाहेक गैरकानुनी हैसियतमा एकहजार जना रहेका छन् । ‘हामीले कोभिडको समयमा दुतावासमा दर्ता गर्न आव्हान गरेका थियौं । त्यस समयमा एकहजार ८ सय ४४ जनाले नाम दर्ता गर्नु भयो’, नियोग उपप्रमुख अर्जुन घिमिरेले भने, ‘नेपाल र इजरायलपछि केयर गिभरमा कामदार पठाउने सम्बन्धमा श्रम सम्झौता भइसकेको छ । अवस्था सामान्य बनेपछि नयाँ श्रमिकको भर्ना प्रक्रिया सुरु हुन्छ ।’

दूतावासले इजरायल र प्यालेष्टाइनबीच तनाब बढ्दै गएपछि सचेत रहन आग्रह गरेको छ । ‘यसले हामी सबैलाई त्रसित तुल्याएको छ । तथापि यसबाट नआँत्तिन तथा सम्भव भएसम्म सुरक्षाका उपायहरुको खोजी गर्न हामी इजरायलबासी सबै नेपालीहरुमा हार्दिक अपिल गर्दर्छौं’, इजरायलका लागि नेपाली राजदुत अन्जान शाक्यले भनिन्, ‘साइरन बज्नासाथ घरभित्र हुनुहुन्छ भने बंकर, भर्‍याङ क्षेत्रमा जान, झ्याल नजिक नजान र घरबाहिर हुनुहुन्छ भने नजिकैको बंकरमा पसिहाल्नुहोला ।’

प्रकाशित : वैशाख ३०, २०७८ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?