स्वास्थ्य सहयोगका लागि चीन सरकारलाई अपील

काठमाडौँ — नागरिक अभियन्ताहरुले बढ्दो कोरोना महामारीमा चीन सरकार र चिनियाँ नागरिकलाई भयावह स्वास्थ्य अवस्था सुधारका निम्ति सहयोग गर्न आग्रह गरेका छन् । जागरुक नागरिकहरुको तर्फबाट बुधबार ८३ जना अभियन्ताहरुले संयुक्त अपील जारी गरी स्वास्थ्य संकटमा विगत जस्तै सहयोगी हात अघि बढाउन आग्रह गरेका हुन् ।

स्वास्थ्य सहयोगका लागि चीन सरकारलाई अपील

‘अक्सिजनको विकराल अभावका कारण हाम्रा स्वास्थ्य संस्थाको सेवा प्रवाहमा अवरोध भएको छ । नेपाल सरकारले दोस्रो लहर कम गर्न अहिले तुरुन्त ५० हजार अक्सिजन सिलिन्डर आवश्यक रहेको बताएको छ’ उनीहरुले भनेका छन्, ‘चीनले २० हजार सिलिन्डर र अन्य स्वास्थ्य सामग्री पठाउने कुराले हामीलाई सहयोग गर्न चाहने यहाँहरूको उदार भावना अभिव्यक्त भइसकेको छ । यो सहायतालाइ छरितो ढुवानीमार्फत् थप बढाउँदै अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर्स र देशभर अक्सिजन वितरणका लागि आवश्यक अन्य सहायता उपलब्ध गराउन हामी अनुरोध गर्दछौं ।’

उनीहरुले दीर्घकालीन रुपमा संक्रमण रोक्न थप खोप सहायता गर्न भनेका छन् । चीन सरकारले अनुदानमा दिएको भेरोसेल खोप– कुल ८ लाख डोज– को पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउन नेपाल सरकारले मिति तय गरिसकेकाले थप खोप आवश्यकता परेको उनीहरुको भनाइ छ , ‘थप खोप उपलब्ध गराएर नेपाललाई सहयोग गर्न हामी चिनियाँ सरकारलाई अपिल गर्छौं ताकि खोप अभावमा थप मानवीय क्षति रोक्न सकियोस्’ उनीहरुलको अपील छ ।

उनीहरुले ‘यो जटिल परिस्थितिमा हाम्रा छिमेकी र मित्रहरूले प्रदान गर्ने सहृदयी सहायताको आशा गर्नु बाहेक हामीसँग अहिले अन्य विकल्प नभएको' भन्दै काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीलाई सहयोगका लागि समन्वयको आग्रह गरेका छन् ।

यसरी संयुक्त गर्नेहरुमा प्राध्यापक हेमराज पन्त, अभियन्ताहरु जगन्नाथ लामिछाने, प्रेम सापकोटा, वरिष्ठ अधिवक्ता रमेशदेव भट्ट, वसन्ती चौधरी, अधिवक्ता अजयशंकर झा, प्रदिप परियार र कलाकार खगेन्द्र लामिछाने लगायत छन् ।

प्रकाशित : वैशाख ३०, २०७८ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?