यस्तो छ टेकु अस्पतालको हालत- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्तो छ टेकु अस्पतालको हालत

बेड भरिएपछि अस्पतालबाहिरै घण्टौं छटपटिन बाध्य छन् संक्रमित
मकर श्रेष्ठ

काठमाडौँ — भुइँमा कालो म्याट ओछ्याइएको थियो । ५० वर्षीय पुरुष घरी कोल्टे परेर सुत्थे, घरी उठेर अस्पतालको आकस्मिक कक्षबाहिरको पिलरमा अडेस लगाएर बस्थे । उनलाई चिकित्सकले सिलिन्डरबाट अक्सिजन दिइरहेका थिए । उनकी श्रीमती घरी छेउमा गएर पानी खुवाउँथिन्, कहिले मास्क लगाइदिन पुग्थिन् ।

राजधानीको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइतबार आकस्मिक कक्षबाहिरै भुइँमा अक्सिजन लिइरहेका संक्रमित । अस्पतालका जनरल र आईसीयू सबै वार्ड भरिएपछि प्रांगणमै उपचार थालिएको हो । तस्बिर : किरण पाण्डे/कान्तिपुर

उनको अवस्था बुझ्न चिकित्सक र नर्सहरू बेलाबेला आइरहन्थे । अक्सिजन लेबल नाप्थे । घरमा हुँदा ६५ मा झरेको थियो अक्सिजन लेबल । अस्पतालमा बाहिरै राखेर अक्सिजन दिँदा ९० भन्दा बढी भएको नर्सले जानकारी दिँदा उनकी श्रीमती पुलुक्क श्रीमान्तिर हेर्दै अनुहार उज्यालो बनाउँथिन् । त्यही खबर आफन्तलाई सुनाउँथिन् ।

होम आइसोलेसनमा बसेका उनलाई तीन दिनअघि पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै जाँच गराउन ल्याइएको थियो । स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै चिकित्सकले उनलाई घरमै बस्नु भन्दै फर्काइदिएका थिए । ‘राति ११ बजेदेखि सास फेर्न गाह्रो भयो । घरमै अक्सिजन दियौं । सुधार नभएपछि अस्पताल ल्याउन एम्बुलेन्स खोज्यौं, कतै पाएनौं,’ बिरामीकी श्रीमतीले भनिन्, ‘प्राइभेट गाडीमा घर नजिकैको पाटन अस्पताल पुर्‍यायौं । राख्ने ठाउँ छैन भनेर फर्काइदियो । अल्कामा गयौं, त्यहाँ पनि अक्सिजन छैन भनेर लिएन । बानेश्वरको सिभिलमा गयौं, त्यहाँ पनि बेड छैन भन्दै फर्कायो ।’ उनले हैरानीका फेहरिस्त सुनाउँदै गइन् । ‘अस्पतालबाहिर पुगेर स्वास्थ्य मन्त्रालयको हटलाइनमा फोन गर्थ्यौं । जतिखेर पनि नजिकको अस्पताल जानुस् भन्थ्यो । टेकुको अवस्था सोध्दा बेड छैन भनेपछि हामी बेड खोज्न वीर, टिचिङ सबै अस्पताल गयौं कसैले राख्न मानेनन्,’ उनले भनिन्, ‘अनि टेकुमै हारगुहार गरेर भए पनि उपचार गरिदिन आग्रह गर्ने भन्दै आयौं । हामी पुग्दा अरूलाई पनि बाहिरै राखेर उपचार भइरहेको रहेछ । बाहिर भए पनि अक्सिजन दिने भएकाले यहीं राख्यौं ।’ आइतबार बिहान ६ बजे आकस्मिक कक्ष बाहिरको भुइँमै बसेर अक्सिजन लिइरहेका उनलाई अपराह्न ४ बजेमात्रै भित्र बेडमा सारिएको थियो ।

ती पुरुषकै छेउमा बालाजुकी ५० वर्षीया महिला फलामको कुर्सीमा बसेकी थिइन् । उनलाई पनि अक्सिजन लगाइएको थियो । उनका ३० वर्षीय छोरा ह्वीलचियरमा थिए । उनीहरू बिहान ९ बजे आइपुगे पनि अपराह्नसम्म अस्पतालबाहिरै थिए । अस्पतालमा आमा–छोराकै एक्सरे भयो । ‘आमाको अक्सिजन लेबल घटेको पाइएपछि अक्सिजन दिएर राखिएको छ,’ उनीसँगै ह्वीलचियरमा बसेका युवकले भने, ‘भित्र बेड छैन भनेर बाहिर राखिएको छ । अन्यत्र जाऊँ यही अक्सिजन पनि पाइँदैन ।’ अस्पतालको अक्सिजन प्लान्ट छेउको पर्खालमा दुई वटा सिलिन्डर ठड्याइएको थियो । त्यसमध्ये एउटामा एक साताअघि डिस्चार्ज भएकी महिलालाई प्लास्टिकको कुर्सीमा राखेर अक्सिजन दिइराखिएको थियो । उनले अस्पतालको बाहिरै उपचार गरेको फोटो र भिडियो खिच्न पुगेका पत्रकारहरूसँग सरकारमाथि रिस पोखिन् । ‘आफूलाई कति गाह्रो भएको छ । हामीले जतिसुकै असुविधा भोगेको भिडियो देखाए पनि सरकारले गर्ने केही होइन,’ उनले भनिन्, ‘सरकारमा बस्नेलाई लागेपछि थाहा हुन्छ कोरोना कस्तो रोग हो ?’


पीडाका बेला पनि बेडमा बसेर उपचार गर्न नपाएकोमा उनको सरकारप्रति आक्रोश देखिन्थ्यो । जतिसुकै आक्रोश भए पनि छिनछिनमा आएर स्वास्थ्यकर्मीले गर्ने जाँचले उनको दुखाइलाई केही हदसम्म शान्त बनाउँथ्यो । उनलाई पनि अबेरसम्म अस्पताल बाहिरै अक्सिजन दिइएको थियो । पौने ५ बजेतिर एक युवतीलाई एम्बुलेन्सबाट सहिद शुक्रराज ट्रपिकल अस्पतालमा ल्याइएको थियो । चिकित्सकले एम्बुलेन्समै उनको अवस्था बुझे । सास फेर्न गाह्रो भएकाले अरू अस्पतालले भर्ना लिन नमानेपछि उनी टेकु अस्पतालको शरण लिन पुगेकी थिइन् । भर्ना गर्न बेड नपाइए पनि उनलाई एम्बुलेन्सबाट ओरालेर आकस्मिक कक्ष जाने सिँढीकै छेउमा राखेर अक्सिजन दिइयो । अस्पतालको आकस्मिक कक्ष बाहिर १० वटा सिलिन्डर राखिएको छ । अस्पतालमा पुग्ने केहीलाई भुइँमै सुताएर अक्सिजन दिइएको थियो । केहीलाई प्लास्टिकको कुर्सीमा राखिएको थियो । अक्सिजन नचाहिने बिरामी अस्पताल परिसरमा छरिएर बसेका थिए ।


एउटै परिवारका ५ जना नै थलिएर उपचार गराउन टेकु पुगेका थिए । संक्रमितको स्याहार गर्न पोजिटिभ नदेखिएका परिवारका सदस्यहरू पनि खटिइरहेका थिए । संक्रमितहरू काठमाडौं उपत्यकाका ठूला भनिएका निजी र सरकारी अस्पताल चहारेर कतै पनि भर्ना नपाएपछि टेकुमा पुग्छन् । स्वास्थ्य मन्त्रालयमा एम्बुलेन्स र बेडका लागि आग्रह गर्दा नजिकको अस्पतालमा जान जवाफ पाउँछन् । ‘टाढै गए पनि बेड पाउन गाह्रो भयो,’ बुहारीलाई सास फेर्न गाह्रो भएपछि काठमाडौं उपत्यकाका ९ वटा अस्पताल चहारेर टेकु अस्पताल बाहिर ह्वीलचियरमा बसेर अक्सिजन लिइरहेका महिलाका आफन्तले भने ।

‘केहीले बेड भए पनि अक्सिजन नभएको भन्दै भर्ना लिन चाहेनन्,’ उनले भने । टेकुमा बाहिरै अक्सिजन पाइने भएकाले बसेको उनले बताए । टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले भित्र राखेर उपचार गर्न नसक्ने भएपछि आइतबार दिउँसो २९ जनालाई बाहिरै अक्सिजन जडान गरेर उपचार गरिरहेको बताए । राति १० बजे पनि १० जनालाई बाहिरै राखेर उपचार भइरहेको उनले सुनाए ।


‘आईसीयू, जनरल वार्ड र इमर्जेन्सीका सबै बेड भरिएपछि बाहिर राखेर उपचार गर्नुको विकल्प नै भएन,’ उनले भने, ‘यसरी बाहिरै राखेर उपचार गर्नुपर्दा मेरो पनि मन दुखेको छ ।’ स्वास्थ्य मन्त्रालयका अनुसार टेकुको आइसोलेसनमा ८५ जना, आईसीयूमा ११ जना र भेन्टिलेटरमा १२ जना उपचारत छन् । संक्रमितको संख्या बढेपछि अक्सिजन चाहिने बिरामीले अस्पताल नपाउँदा ज्यान गुमाउने गरेका छन् । काठमाडौंमा आइतबार मात्रै ३ हजार १ सय ६१ जनालाई कोरोना पुष्टि भएको छ । भक्तपुरमा ५ सय ४ र ललितपुरमा ५ सय ३३ जनालाई कोरोना संक्रमण देखिएको छ । सरकारी र निजी अस्पतालमा बेड नपाएपछि बिरामीहरू घरमै फर्काएर लैजाने गरेका छन् ।


सरकारले वीरको पुरानो भवनको केही वार्ड, नयाँ भवन र ट्रमा सेन्टरलाई कोभिडको केन्द्रीय अस्पताल बनाउने निर्णय गरिसकेको छ । ट्रमामा उपचाररत बिरामीलाई वीर अस्पताल र जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालमा व्यवस्थापन गरेर ट्रमाको दुई सय बेड संक्रमितको मात्रै उपचार गर्न लागिएको हो । वीरको इमर्जेन्सीमा बेडको पर्खाइमा बसेकालाई ट्रमामा सारिएको निर्देशक सन्तोष पौडेलले बताए ।

‘तीन दिनभित्र १५ वटा भेन्टिलेटर तयार गर्ने लक्ष्य छ,’ उनले भने । आईसीयू र भेन्टिलेटर नपाएर केही दिनयता मृत्यु हुनेको संख्यासमेत बढेको चिकित्सकहरू बताउँछन् । मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरि ८८ जनाको मृत्यु भएको जनाएको छ । पशुपति क्षेत्र विकास कोषका एक कर्मचारीका अनुसार काठमाडौं उपत्यकामा आइतबार संक्रमणकै कारण मृत्यु भएपछि राति साढे ९ बजेसम्म ६७ जनाको शव ल्याइसकेको बताए । ‘अझै १८ जनाको शव ल्याइँदै छ,’ कोषका कर्मचारीले भने, ‘शनिबार ७६ जनाको शव अन्त्येष्टि गरिएको थियो ।’

प्रकाशित : वैशाख २७, २०७८ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल समूहले दियो ओलीलाई ‘सच्चिने अन्तिम मौका’

बिनु सुवेदी

काठमाडौँ — प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट लखेटिएको महसुस गरेका एमालेको झलनाथ खनाल– माधवकुमार नेपाल समूहका सांसदले पार्टी एकताका लागि उनलाई ‘अल्टिमेटम’ दिएका छन् ।

यो समूहका सांसदले गरेको निर्णयअनुसार ओलीले सोमबार बिहानसम्म गत फागुन २८ गते गरेको निर्णय फिर्ता र पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउने प्रतिबद्धता व्यक्त गर्नुपर्नेछ । तर बालुवाटारको दृष्टिबाट यी दुवै निर्णय असम्भवप्रायः छ ।

खनाल–नेपाल समूहका नेताहरूले बारम्बार गरेका यी प्रस्तावलाई ओलीले अप्ठ्यारोमा साथ दिएका माओवादीका आगन्तुक सदस्यलाई पार्टीबाट हटाउन नसक्ने र पार्टी २०७५ जेठ २ भन्दा धेरै अघि बढिसकेको भन्दै अस्वीकार गर्दै आएका छन् । यी दुवै विषयमा नेपाल पक्षको पनि आफ्नै अडान रहेकाले मिल्ने सम्भावना शून्यजस्तै भएको हो ।

संसद् सचिवालय सिंहदरबारमा आइतबार करिब ३ घण्टा बसेको यो समूहका सांसदको बैठकले पार्टीलाई पूर्ववत् अवस्थामा फर्काउन अध्यक्ष ओलीलाई सोमबार बिहान ९ बजेसम्मको समय दिएको एमाले सचिव योगेश भट्टराईले बताए । ‘पार्टीलाई सहमतिमा पुर्‍याउने दायित्व अध्यक्षको हो भन्नेमा एकमतमा पुगेका छौं, उहाँले त्यो दायित्व गम्भीरतासाथ पूरा गर्नुभएको छैन, आजै निकालेको वक्तव्यमा समेत पार्टीको एउटा समूहलाई लाञ्छित गर्नुभएको छ, त्यसमा हामीले चिन्ता व्यक्त गरेका छौं,’ उनले भने, ‘फागुन २३ मा दुई पार्टीको एकता भंग भएपछि एमाले स्वतः जेठ २ मा फर्केको कुरा सर्वोच्चले नै भनिदिएको छ । हामी अब पार्टीको जीवन, संगठन, विचार र नेतृत्व एकतापूर्वको अवस्थामा फर्किनुपर्छ भन्नेमा दृढ छौं । आज पनि हामीले २०७५ जेठ २ को अवस्थामा फर्किन वैशाख २७ गते बिहान ९ बजेसम्मको समय दिएका छौं । उहाँले यसमा प्रतिबद्धता जनाए प्रतिनिधिसभामा हाम्रो उपस्थिति हुन्छ र विश्वासको मत दिन्छौं ।’ भट्टराईले त्यसो भएन भने कठोर कदम चालिने र त्यसका लागि साढे ९ बजे संसद् सचिवालयमा उपस्थित हुन सांसदहरूलाई भनेको बताए ।

सांसदहरूको बैठक बस्नुअघि आइतबार प्रधानमन्त्री ओलीले नेताहरू विष्णु पौडेल र सुवास नेम्वाङलाई नेता नेपालसँग कुराकानी गर्न पठाएका थिए । त्यही कुराकानीका बारेमा नेता नेपालले बैठकलाई ब्रिफिङ गरेका थिए । ‘उनीहरू मिल्ने ठाउँमा कुरा गर्दैनन्, केपी ओली पार्टी विभाजन गर्ने डिजाइनअन्तर्गत चलिरहेका छन्, हामीलाई धकेल्नु नै उनको मुख्य उद्देश्य हो,’ बैठकमा नेता नेपालले भने ।

‘इतिहासमा उनलाई सहयोग गरेर भूल गरियो । अब हामीले विद्रोह गर्नुपर्छ । त्यसको सुरुवात सांसद पदबाट राजीनामा दिएर हुन्छ । यो विद्रोह नै अर्को पार्टी निर्माणको आधार भयो,’ बैठकमा नेता नेपालले भने । नेता नेपालले बालुवाटारबाटै खबर आएपछि पक्कै केही सन्देश होला भनेर आफूले भेटे पनि उनीहरूले नयाँ कुरा नल्याएको बताए । ‘बालुवाटारबाट आएको भनेपछि केही सन्देश होला भनेर म भेट्न गएँ, तपाईंजस्तो जिम्मेवार मान्छे, भोलि भोट हाल्नुपर्‍यो भने,’ नेता नेपालको भनाइ उद्धृत गर्दै सांसद विरोध खतिवडाले भने, ‘के छ त प्रस्ताव भनेको, केही छैन भने । केही छैन भनेपछि किन आएको त भनेर म उठें । उनीहरूले हामीलाई अल्झाउने मात्रै काम गरिरहेका छन् ।’ बैठकमा सहभागी सांसदहरूका अनुसार एमाले सांसदको हैसियतमा आफूहरूको बैठक अन्तिम पनि हुन सक्ने भन्दै नेताहरू भावुक बनेका थिए । उनीहरूले आफूहरूको संघर्षले बनेको पार्टीलाई ओलीले तहसनहस पारेको बताएका थिए । सांसद रामकुमारी झाँक्रीले बैठकमा नेताहरूले भावनात्मक कुरा पनि गरेको र उपस्थित सबैले आ–आफ्ना धारणा राखेको बताइन् ।

‘हामीले स्कुलमा पढेका थियौं नि, घर छोड्ने रात भन्ने मनोवाद, त्यस्तै भयो आजको बैठक पनि,’ झाँक्रीले कान्तिपुरसित भनिन्, ‘राजीनामा गरेपछि त एमाले रहेनौं र एमाले रहने सम्भावना पनि भएन । त्यसैले पार्टीसित जोडिएका स्मृति–विस्मृतिका कुरा भए । ओलीले दिएका दुःख, पीडाको सम्झना गरियो ।’ बैठकमा धेरै नेताहरूले बनिबनाउ पार्टी छोड्दा आइपर्ने अप्ठ्याराबारे चासो राखेका थिए । बैठकमा तीन जना समानुपातिक सांसदसहित २० जना उपस्थित थिए । आफ्ना पक्षमा ३५ जना सांसद भए पनि केही सांसद कोभिड संक्रमित भएका कारण र केही यातायातको अप्ठ्यारोले बैठकमा आउन नसकेको झाँक्रीले बताइन् ।

यसअघि शनिबारको बैठकमा सामूहिक राजीनामाको निष्कर्षमा पुगेको खनाल–नेपाल समूह आइतबार आफ्नो पक्षको स्थायी कमिटी बैठक सकेर राजीनामाको निर्णायक बैठक गर्न संसद् सचिवालय सिंहदरबार पुगेको थियो । वरिष्ठ नेता नेपालसहित उनीपक्षीय नेताहरू सिंहदरबारमा रहेकै बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर राजीनामाको निर्णय रोक्न आग्रह गर्दै थप संवाद गर्न आफ्ना तर्फबाट उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई पठाउने बताएका थिए । सिंहदरबारमै नेपाल, पौडेल र नेम्वाङबीच चलेको बैठक पनि २०७५ जेठ २ लाई बटमलाइन बनाउने कि नबनाउने भन्ने विवादमै टुंगियो ।

बैठकमा नेम्वाङ र पौडेलले अहिले राजीनामाको कुरा थाती राख्नु, जेठ २ मा फर्किने/नफर्किने भन्नेबारे पछि सल्लाह गरौंला भन्ने ओलीको सन्देश सुनाएका थिए । तर, नेपाल उक्त प्रस्तावमा सहमत भएनन् । बैठकपछि नेता नेम्वाङले पार्टी एक हुनुपर्छ भन्नेमा दुवै पक्ष सहमत भएको र त्यसलाई कसरी टुंगोमा पुर्‍याउने भन्नेबारे चिन्ता व्यक्त भएको बताए । ‘माधव कमरेडको प्रधानमन्त्रीसित कुराकानी भएर तय भएको भेट हो, हामीले कमरेडसित पार्टीको समस्याका बारेमा खुलाखुलस्त कुरा गर्‍यौं, प्रधानमन्त्रीको चिन्ता र सरोकारका कुरा माधव कमरेडसमक्ष राख्यौं,’ नेता नेम्वाङले भने, ‘उहाँले पनि आफ्ना कुरा खुलस्त ढंगले सुनाउनुभयो । पार्टी एकतालाई बलियो बनाउने कुरा हाम्रो कुराकानीमा प्रतिबिम्बित भएको छ । कसरी यसलाई टुंगोमा पुर्‍याउने भन्नेबारेमा चिन्ता व्यक्त भएको छ । कुराकानीमा पनि त्यो अभिव्यक्त भएको छ । यसलाई टुंगोमा पुर्‍याउन के आधार हुन्छ, तय हुन्छ । त्यसबारे फेरि बसेर छलफल गर्ने निर्णय भएको छ ।’

उक्त बैठकमा ओली पक्षका नेताहरूले कुनै नयाँ प्रस्ताव नल्याएको र समय गुजार्ने रणनीतिसहित आएको निष्कर्ष नेपाल पक्षको छ । सचिव भट्टराईले एकताको पहल गरेका थियौं भन्ने देखाउन ओली पक्षका नेताहरू वरिष्ठ नेता नेपाललाई भेट्न आएको बताए । नेता पौडेलले नेपाललगायतका नेताहरूले राजीनामा दिने कुरा आफूले नपत्याएको बताए । ‘आन्तरिक समस्या समाधान गर्ने र पार्टीलाई एकताबद्ध गर्ने कुरा भयो,’ उनले भने, ‘उहाँहरूले राजीनामा दिनुहुन्छ भन्ने मैले पत्याउँदिनँ । त्यो विनाशको बाटो कसले तय गर्ला र ?’

सामूहिक राजीनामा गर्ने अपराध कर्म नगरौं : ओली

समझदारीका लागि बीचको बाटो खोज्ने भन्दै नेपालसँग पौडेल र नेम्वाङ छुट्टिएको केहीबेरमै ओलीले वक्तव्य निकाल्दै राजीनामा दिने या फ्लोर क्रस गर्नेजस्तो अपराध कर्ममा नलाग्न आग्रह गरेका छन् । उनले कतिपय व्यक्तिहरूको स्वार्थ र अहंकारका कारण पार्टीमा समस्या सिर्जना भएको बताउँदै पार्टीभित्रै रहे कसैलाई काखा र कसैलाई पाखा नगरिने पनि स्पष्ट पारेका छन् । कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इर्ष्याहरू छन्, यस आन्दोलनलाई उनीहरूको स्वार्थपूर्तिको माध्यम र त्यसको सिकार बनाउनु हुँदैन,’ वक्तव्यमा छ, ‘आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरूको स्वार्थलाई मलजल गर्न कतै फ्लोर क्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने, कतै केही नलागे सामूहिक राजीनामा गरी, गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारिछाड्नेजस्ता हानिकारक प्रयासहरू भएका छन् ।’

उनले कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विजयीहरूलाई दिग्विजय गराएर उत्सव मनाउनेजस्तो घातक र दुःखद् प्रवृत्तिहरू देखा परेको बताउँदै यी प्रवृत्ति कुनै पनि हिसाबले उपयुक्त होइनन् र यी हानिकारक छन् भनेका छन् । अध्यक्ष ओलीले जानी/नजानी यस्ता अपराध कर्ममा संलग्न नहुन पनि आग्रह गरेका छन् । ‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं भोलि हामी जनतालाई के जवाफ दिन्छौं ?’ वक्तव्यमा छ, ‘त्यसैले यस्तो अपराध कर्ममा जानी/नजानी कुनै पनि हिसाबले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु । यो पार्टी हामीले बनाएको हाम्रो पार्टी हो । यस पार्टीका इमानदार नेता–कार्यकर्ता पार्टीलाई हानि पुग्ने र आन्दोलनलाई क्षति पुर्‍याउने कुनै पनि क्रियाकलापमा संलग्न हुँदैनन् भन्नेमा म विश्वस्त छु । भ्रम फैलाइएजस्तो र हल्ला चलाइएजस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात गर्दैन । म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु ।’

विश्वासको मतको पक्षमा भोट हाल्न ह्वीप

एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । मुख्य सचेतक विशाल भट्टराईले कोभिडका कारण भौतिक उपस्थितिसहित बैठक बस्न नसकिएको भन्दै वक्तव्यमार्फत सबै सांसदलाई विश्वासको मत लिने ओलीको प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएका हुन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २७ गते दिनको १ बजे संविधानको धारा १०० (१) बमोजिम विश्वासको मत लिनुहुने भएको र सो प्रयोजनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान भएको हुँदा उक्त बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्नुहुन सबै सदस्यलाई सूचित गर्न संसदीय दलको नेताको निर्देशनअनुसार राजनीतिक दलसम्बन्धी ऐनको दफा २८ र एमाले संसदीय दलको विधान ७७ को धारा २४ बमोजिम यो ह्वीप जारी गरेको छु,’ भट्टराईले भनेका छन्, ‘अत: उक्त बैठकमा उपस्थित भई विश्वासको मतको पक्षमा मतदान गर्नुहुन अनुरोध छ ।’

प्रकाशित : वैशाख २७, २०७८ ०६:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×