लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध दोस्रोपटक अविश्वास प्रस्ताव दर्ता- समाचार - कान्तिपुर समाचार

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध दोस्रोपटक अविश्वास प्रस्ताव दर्ता

४० सांसदको हस्ताक्षर
अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दोस्रो पटक अविश्वासको प्रस्ताव दर्ता भएको छ ।  माओवादी केन्द्र, नेपाल कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गरेको हो । प्रस्तावमा ४० जनाले हस्ताक्षर गरेका छन् । 

जसमा नेपाली कांग्रेसका १९, माओवादीका १८, जसपाका २ र राजमोका एक प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । जसमा नयाँ मुख्यमन्त्रीका रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । संविधानको धारा १८८ को उपधारा ४ र लुम्बिनी प्रदेशको प्रदेशसभा नियमावली २०७४ को नियम १४४ को उपनियम १ बमोजिम प्रस्ताव दर्ता गरिएको हो ।

प्रस्तावमा प्रदेशसभाको विशेष अधिवेशन मागका लागि समावेदनसमेत गरिएको छ । मुख्यमन्त्री पोखरेलले ठूलो दलका रुपमा संविधानको धारा १६८ को १ अनुसार गठन गरेको सरकार वैध नभएको उनीहरुको दावी छ । यसको सट्टामा संविधानको धारा १६८ को २ बमोजिम चारदलीय गठबन्धनको सरकार बनाउनुपर्ने उनीहरुको माग छ । प्रदेशसभाका २ सदस्यको राजीनामा र एकको पार्टी परिवर्तनपछि हाल एमाले ३८ सदस्यमा खुम्चिएको छ । विपक्षी दलले मुख्यमन्त्रीले ३ जनाको किर्ते हस्ताक्षर बुझाएको भन्दै उनीहरुले त्यसको छानबिनसमेत माग गरेका छन् ।

यसअघि वैशाख ६ मा पनि गठबन्धनका ४१ जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरी प्रदेशसभामा अविश्वासको प्रस्तावसहित विशेष अधिवेशनका लागि समावेदन गरेका थिए । त्यसअनुसार प्रदेश प्रमुख धर्मनाथ यादवले वैशाख १९ मा विशेष अधिवेशन बोलाएका थिए । विशेष अधिवेशनको कार्यसूची आइसकेपछि त्यसैदिन मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि विशेष अधिवेशन अन्त्य भएको थियो ।

विशेष अधिवेशन अन्त्य भएलगत्तै मुख्यमन्त्री पोखरेल पुन: मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एमालेका ४१ सदस्य रहेकाले ठूलो दलका रुपमा मुख्यमन्त्री बनेको र सरकार बनाएको एमालेको दाबी छ । यसअघि गठबन्धनबाट अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३ सहित ४ जना जसपा सदस्य अहिले मुख्यमन्त्री पोखरेलको सरकारमा छन् । उनीहरु ४ जना नै प्रदेशसभा सदस्यबाट निलम्बित भइसकेका छन् । यद्यपि सर्वोच्च अदालतमा सदस्य कायम राख्न भन्दै उनीहरुले रिट हालेका छन् ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेहरू

प्रकाशित : वैशाख २६, २०७८ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्

देउवासँगको छलफलपछि ठाकुर र महतो ओलीलाई भेट्न बालुवाटार पुगे

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । केहीबेरअघि उनीहरु ओलीलाई भेटेर बालुवाटारबाट निस्किएको स्रोतले बताएको छ ।

महन्थ ठाकुर । फाइल तस्बिर ।


आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग लामो छलफल गरेपछि ठाकुर र महतो प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

ओली नेतृत्वको सरकार ढालेर कांग्रेस नेतृत्वमा नयाँ सरकार बनाउने गृहकार्यमा माओवादी, जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष छ । त्यसकै लागि देउवाले ठाकुर र महतोालाई बोलाएर ओलीलाई विश्वासको मत नदिन र आफ्नो नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए ।

निकट स्रोतका अनुसार ठाकुर र महतोले जसपाले ओलीलाई विश्वासको मत पनि नदिने र नयाँ गठबन्धनको सरकारलाई पनि समर्थन नगर्ने संकेत गरेका छन् । यद्यपि यसबारे पार्टीमा छलफल गरेर मात्रै औपचारिक निर्णय गर्ने जवाफ ठाकुर र महतोले दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन् ।

पछिल्लो समय ओलीसँगै संवाद र सहकार्यमा रहेका ठाकुर र महतो पछिल्लो घटनाक्रम बारे परामर्श गर्न बालुवाटार पुगेका हुन् ।

प्रकाशित : वैशाख २६, २०७८ १२:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×