काठमाडौँ — लुम्बिनी प्रदेश सभा सदस्य विमला वलीले कसैको दबाबमा नभई आफ्नै खुसीले माओवादी केन्द्रलाई रोजेको बताएकी छन् ।
आइतबार लुम्बिनीमा पत्रकार सम्मेलन गर्दै वलीले आफूलाई कसैले माओवादीमा लाग्न दबाब नदिएको र आफूले राजीखुसी पार्टी छानेको बताएकी छन् । 'निर्वाचनका बेला मैले माओवादीबाट सपोर्ट पाएको थिएँ । कसैले मलाई आउनुपर्छ भनेकाले होइन, मैले आफ्नै खुसीले यो दल रोजेकी हुँ,' उनले भनिन् ।
आफू निर्वाचित भएर आउँदा एमाले र माओवादी एकजुट रहेको, त्यतिबेला को माओवादी र को एमाले भन्ने आफूलाई थाहा नभएको उनको भनाइ थियो । 'म आउँदै गर्दा पार्टी एकजुट थियो । मैले नेकपाबाट निर्वाचन जितेँ,' पत्रकार सम्मेलनमा उनले भनिन् ।
विमलाका श्रीमान् उत्तरकुमार वली भने २०७४ सालमा एमालेबाट निर्वाचित भएका थिए । उनको सवारी दुर्घटनामा मृत्यु भएपछि विमला प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।
उपनिर्वाचनमा आफूले माओवादी नेताहरूबाट नै बढी समर्थन र सहयोग पाएकाले सोही पार्टीमा लाग्ने निर्णय आफूले गरेको विमलाको भनाइ थियो ।
वली दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा भएको उपचुनावमा नेकपाबाट निर्वाचित भएकी थिइन् ।
लुम्बिनी प्रदेशमा एमालेले एकल बहुमतको सरकार गठन गर्ने निर्णय गरेलगत्तै वलीले आफू माओवादी केन्द्रमा प्रवेश गर्ने बताएकी थिइन् ।
