बेलझुन्डीस्थित कोरोना अस्पतालमा अक्सिजन सकियो, ४० बिरामीको ज्यान जोखिममा

अस्पतालको गेटमा कोरोना संक्रमित बिरामीहरू उपचार पाउने आसमा पर्खिरहेका छन्, कतिपयको अवस्था निकै गम्भीर भए पनि भर्ना लिन सकिएकाे छैन : अस्पताल व्यवस्थापक

वैशाख १९, २०७८

दुर्गालाल केसी

दाङ — कोरोना विशेष अस्पताल बेलझुन्डीमा अक्सिजन अभाव भएको छ । अक्सिजन नभएपछि ४० बिरामीको ज्यान जोखिममा रहेको अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताए । 

अहिले अस्पतालमा रहेका ५९ बिरामीमध्ये ४० जनालाई अक्सिजन आवश्यक रहेकोमा मौज्दात रहेको अक्सिजन पनि सकिएको उनले जानकारी दिए । 

‘हिजो रातिदेखि नै अक्सिजनको व्यवस्था गर्न अनुरोध गरे पनि कसैले केही गर्न सकेन । अहिले एक्कासि अक्सिजन सकियो,’ उनले भने, ‘अहिले स्थिति संकटपूर्ण छ । बिरामी बचाउन गाह्रो भयो ।’ 

यो अस्पतालमा शनिबार मात्रै १० आईसीयू, ५० एचडीयू र ४० सामान्य गरी १ सय शय्या तयार पारिएको थियो । यसअघि ५ आईसीयू र ३० सामान्य गरी ३५ शय्या मात्रै थिए । 

शय्या विस्तार भए पनि अक्सिजन नभएपछि नयाँ बिरामी भर्ना गर्न नसकिएको उनले बताए । ‘अहिले अस्पतालको गेटमा कोरोना संक्रमित बिरामीहरू उपचार पाउने आसमा पर्खिरहेका छन्,’ उनले भने, ‘कतिपयको अवस्था निकै गम्भीर भए पनि अक्सिजन अभावमा अस्पतालभित्र लैजान सकिएको छैन ।’ 

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully