अक्सिजनको माग तेब्बर

अक्सिजन सिलिन्डरलाई भन्सार छुट
राजु चौधरी

काठमाडौँ — कोरोनाको दोस्रो लहर तीव्र बनेसँगै भारतमा संक्रमितको संख्याले दिनहुँजसो ‘रेकर्ड’ बनाइरहेको छ । त्यहाँ अक्सिजनको अभाव बढ्दै छ । नेपालमा पनि संक्रमितको संख्या बढ्दो छ, जसका कारण यहाँ अक्सिजन माग तीन गुणा बढेको उद्योगी बताउँछन् ।

अक्सिजनको माग तेब्बर

त्रासकै कारण सर्वसाधारणले व्यक्तिगत रूपमा समेत मौज्दात गर्न लागेको उनीहरूको भनाइ छ । यद्यपि नेपालमा अक्सिजन अभाव छैन । समस्या सिलिन्डरमा मात्रै रहेको उद्योगीहरूले जनाएका छन् ।

‘पछिल्लो समय अक्सिजनको माग तेब्बर पुगेको छ । भारतका कोभिडसम्बद्ध समाचार प्रभाव र अक्सिजन अभाव हुने अनुमानले दैनिक १५/२० जना व्यक्ति कोभिडको शंका लागेर अक्सिजन लिन आउने गरेको उनीहरूको भनाइ छ । ‘अहिलेसम्म माग धानिरहेका छौं,’ सगरमाथा अक्सिजन नेपाल प्रालिका रिकेश महर्जनले भने । सगरमाथा अक्सिजनमा रहेका करिब १० हजार सिलिन्डरमध्ये प्रायः होल्डिङमा छन् । ७/८ सय रोटेसनका क्रममा रहेको उद्योगले बताएको छ ।

संक्रमितको संख्या दिनहुँ बढिरहेकाले सरकारले सिलिन्डर आयात/खरिदको संख्या बढाउनुपर्ने उद्योगीहरूको भनाइ छ । शरीरमा अक्सिजनको मात्रा कम हुँदा बिरामीलाई कृत्रिम अक्सिजन दिनुपर्छ । तर उद्योगबाट रिफिल गरेर पठाउन आफूहरूलाई सिलिन्डरकै समस्या रहेको उद्योगीहरूको गुनासो छ । ‘धेरै सिलिन्डर होल्डिङमा हुन्छन् । ३/४ सय सिलिन्डर रोटेसनमा छन् । अहिलेसम्म चलिरहेकै छ,’ शंकर अक्सिजन ग्यास प्रालिका प्रबन्धक शम्भु भण्डारीले भने । ‘हरेक अस्पतालमा माग बढ्दो क्रममा रहेकाले सरकारले सिलिन्डरको आयात संख्या बढाउनुपर्छ । थप सिलिन्डर आयात नभए समस्या हुन सक्छ,’ उनले भने ।

भण्डारीको उद्योगमा करिब १२ हजार सिलिन्डर छन् । तर उक्त संख्या पर्याप्त होइन । उद्योगीले सिलिन्डरमा सधैंभर लगानी गर्न नसक्ने भएकाले सरकारले सहुलियत वा छुटमा मगाउनुपर्ने उनले बताए । नेपाल अक्सिजन ग्यास उत्पादक संघका अनुसार अक्सिजन सिलिन्डर नेपालमा बन्दैनन् । चीन र भारतबाटै आयात गर्नुपर्छ । पछिल्लो समय भारतमा कोभिडका बिरामी धेरै भएकाले समस्या छ । आधिकारिक रूपमा आग्रह गरे पनि भारतबाट आयात हुने सम्भावना कम छ । चीनबाट ल्याउन सकिन्छ, त्यसका लागि सरकारले पहल गर्नुपर्ने उद्योगीहरूको भनाइ छ ।

‘आयात प्रक्रिया पूरा गरी नेपाल ल्याउन करिब २/३ महिना नै लाग्छ,’ भण्डारीले भने, ‘नेपालमा पनि अक्सिजन अभाव हुन नदिन सरकारले सिलिन्डरका लागि तुरुन्त पहल गर्नुपर्छ । सरकारले जीटूजीमार्फत पहल गरे एक महिनामा पनि ल्याउन सकिन्छ ।’ भारतकै अवस्था देखेर आत्तिएर अक्सिजन सिलिन्डर मौज्दात नगर्न पनि उनले सर्वसाधारणलाई आग्रह गरे । ‘सामान्य अवस्थाको मान्छेले मौज्दात राख्नु हुँदैन । जरुरी पनि भइसकेको छैन,’ उनले भने, ‘अक्सिजन एलपी ग्यासजस्तो होइन, हामी अक्सिजनमा आत्मनिर्भर छौं । बरु कहीँ–कतै सिलिन्डर खाली भए तत्काल फिर्ता गरौं ।’

एभरेस्ट अक्सिजनका सञ्चालक शिवप्रसाद घिमिरेले पनि अक्सिजन पर्याप्त भए पनि सिलिन्डरको अभाव रहेको प्रस्ट्याए । ‘अक्सिजन सिलिन्डर अस्पताल, उद्योग र दमका बिरामीले लगेका हुन्छन्,’ उनले भने, ‘भइरहेका उद्योग ६० प्रतिशत मात्रै चलेका छन् । सिलिन्डर भए जति पनि अक्सिजन दिन सकिन्छ ।’ नेपाल अक्सिजन ग्यास उत्पादक संघका अध्यक्ष गौरव शारडाका अनुसार उपत्यकामा अक्सिजनका ८ वटा उद्योग छन् भने उपत्यकाबाहिर १८ उद्योगले उत्पादन गरिरहेका छन् । ती उद्योगबाट करिब ४० प्रतिशत अक्सिजन औद्योगिक क्षेत्रले प्रयोग गरिरहेका छन् ।

बिरामीको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले दैनिक ६ हजार सिलिन्डरको माग गरिरहेको शारडाले जानकारी दिए । तर उद्योगीसँग दैनिक ८ हजार सिलिन्डर उत्पादन गर्ने क्षमता रहेको उनको दाबी छ । ‘अहिले मागअनुसार आपूर्ति गर्न सकेका छौं । क्षमता ८ हजार भए पनि पूर्णरूपमा सदुपयोग भएको छैन । सरकारले सिलिन्डरको व्यवस्था गरे उत्पादन थप बढाउन सकिन्छ,’ उनले भने ।

संक्रमितको संख्यालाई दृष्टिगत गरी संघले एक साताअघि स्वास्थ्य मन्त्रालयसँग पनि छलफल गरेको थियो । त्यस क्रममा २० देखि ४० हजार सिलिन्डर ल्याउन सहयोग मागेको थियो । उद्योगीहरूले आयात गर्दा भन्सार दरमा सहुलियत दिन पनि आग्रह गरेका थिए । ‘सरकारले १५ प्रतिशत भन्सार शुल्क, ५ प्रतिशत अन्तःशुल्क र भ्याट तोकेको छ,’ अध्यक्ष शारडाले भने, ‘तर, सरकारले अक्सिजन उद्योगीको व्यथा बुझेन । समस्या नबुझ्दा केही उद्योग बन्दसमेत भए ।’

उनका अनुसार सरकारबाट सहयोग नहुँदा उपत्यकाबाहिर ४ र उपत्यकामा ३ उद्योग बन्द छन् । संघका अनुसार २० हजार सिलिन्डर भनेको एक सय ट्रक हो । उक्त ट्रक केरुङ हुँदै आयात गर्दा ४५ देखि ६० दिनमा नेपाल आइपुग्छ । ‘प्रयास गरिरहेका छौं । सरकार तत्काल एक्सनमा जानुपर्छ,’ उनले भने । एउटा अक्सिजन सिलिन्डरलाई १८ हजारदेखि २० हजार रुपैयाँ पर्छ । उक्त सिलिन्डरमा ४७ लिटर अक्सिजन हुन्छ ।

अक्सिजन सिलिन्डरलाई भन्सार छुट

सरकारले अक्सिजन सिलिन्डर आयातमा लाग्ने भन्सार महसुल छुट दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अक्सिजन सिलिन्डरमा लाग्दै आएको भन्सार महसुल पूरै छुट दिने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले बताए । कोरोनाको दोस्रो लहर बढेसँगै अक्सिजन सिलिन्डरको माग बढेको छ ।

सोमबार नै नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले अक्सिजन सिलिन्डर आयातमा भन्सार छुट दिन माग गरेका थिए । अर्थमन्त्री पौडेललाई आगामी आर्थिक वर्षको बजेट तर्जुमाका लागि चेम्बरका तर्फबाट सुझाव पेस गर्ने क्रममा अक्सिजन सिलिन्डरको आयातमा भन्सार महसुल छुट दिन आग्रह गरिएको थियो । परिसंघले भने विज्ञप्ति जारी गरी सिलिन्डरमा भन्सार छुटको माग गरेको हो ।

प्रकाशित : वैशाख १४, २०७८ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?