भूकम्पका ६ वर्ष : इपिसेन्टरले बिर्सियो त्रासदी

६ वर्षअघिको भूकम्पको केन्द्रबिन्दु गाउँ बारपाकको जनजीवन पुरानै लयमा फर्किसकेको भए पनि घरका नयाँ संरचना भने अब पुरानोजस्तो छैन 

वैशाख १२, २०७८

हरिराम उप्रेती

गोरखा — गुजुमुच्च बस्ती, लाहुरेको गाउँ । बौद्ध हिमालको काखमा रहेको बारपाक, भीसी गजे घलेको गाउँका रूपमा पनि परिचित बन्यो । गुरुङ, घले र दलित समुदायका एकनासका घर रहेको बारपाकको दृश्य भूकम्पको घटनाअघिसम्म बेग्लै थियो । ढुंगाको गारो, ढुंगाकै छानो भएका घर धेरै थिए । २०७२ वैशाख १२ को भूकम्पको इपिसेन्टर यो गाउँमा अब भने अग्ला पक्की घर थुप्रै भएका छन् । 

६ वर्षको अन्तरालमा बारपाकको निजी आवासतर्फ मात्र ९६ प्रतिशत पुनर्निर्माण सकिएको छ । ढुंगाका छाना भएका घर विस्थापित भएका छन् । अधिकांश घर पक्की बनेका छन् । ढुंगाको छाना, ढुंगाकै गारो भएको गाउँमा अहिले जस्तापाता टल्किएका छन् । धेरैले करोडसम्म खर्चेर पक्की घर बनाएका छन् । बारपाकका कृष्णबहादुर गुरुङ घर हेरेरै धनी र गरिब सर्लक्कै छुट्टिने बताउँछन् । ‘पैसा हुनेको बिल्डिङ छ, पैसा नहुनेको साना र जस्ताले छाएका घर छन्,’ उनले भने, ‘भूकम्पपछि सबैभन्दा देखिने परिवर्तन भनेको नै घरमा हो ।’ देखासिकी गरेर कंक्रिट पिलरको घर बनाउन स्थानीय आकर्षित भएकाले पनि बारपाकको मौलिकता हराएको भन्दै उनले व्यक्त चिन्ता गरे ।  

ढुंगामाटाका अधिकांश घर भूकम्पले ढालेको थियो । ‘त्यो बेला छानाका ढुंगाले च्यापेर पनि कति घाइते भए, मरे, ढुंगामाटोको घर जगैदेखि पनि भत्कियो,’ उनले भने, ‘पुरानो घरले ज्यानकै क्षति गरेपछि सिमेन्टको घर सुरक्षित होला भन्ने पनि सबैलाई लागेको छ ।’ 

सरकारले दिएको ३ लाख रुपैयाँले घर निर्माण गर्न सकस परेको यहाँ भेटिएका भूकम्पपीडितले बताएका छन् । निर्माण सामग्री ढुवानी र ज्यालामा नै बढी रकम खर्च हुने गरेको मीनकुमारी गुरुङले बताइन् । ‘घर त बनायो ऋण तिर्न सकेको छैन,’ उनले भनिन्, ‘सरकारले दिएको ३ लाखमा १२–१३ लाख रुपैयाँ थप्दा चारकोठे घर बन्दो रहेछ । तीन–चार लाख रुपैयाँ ऋण छ, सयको दुई रुपैयाँले ब्याज तिर्दातिर्दा हैरान भइसकियो ।’ आर्थिक स्थिति कमजोर भएका यहाँका अधिकांश घर बनाउँदा ऋण लागेको गुनासो गर्छन् ।

बारपाकमा झन्डै ६ सयको हाराहारीमा आरसीसी घर बनेको पुनर्निर्माण प्राधिकरणका इन्जिनियर सुरेशचन्द्र पोखरेलले बताए । भूकम्पलगत्तै सरकारले बनाएको १७ वटा मापदण्डको नमुनाका आधारमा घरहरू बनेका हुन् । ‘देखासिकीले आरसीसी घर बनाउँदा धेरैलाई आर्थिक समस्या छ,’ उनले भने । आगामी असारसम्म बारपाक गाउँको निजी आवास पुनर्निर्माण सक्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए । घुम्न पुगेका क्षितिज थापाले भूकम्पपछिको बारपाक गाउँबाट सहरमा फेरिएको अनुभव गरे । ‘भूकम्प प्रतिरोधी घरहरू बनेपछि बारपाकको स्वरूप फेरिएछ,’ उनले भने । 

भूकम्पपछि बारपाकमा आन्तरिक पर्यटक भने बढेका छन् । बारपाकको ताक्लेनान्माको करिब पाँच रोपनी क्षेत्रफल समेटेर बनेको बुद्ध पार्क वैशाखयता दैनिक पर्यटकले भरिएको छ । लकडाउनपछि बारपाक आउने पर्यटकको संख्या बढेको स्थानीय बताउँछन् । बुद्ध पार्कमा बुद्वको मूर्ति, माने तथा स्तूप राखिएको छ । ताक्लेनान्माको पार्कबाट बारपाक गाउँ र बौद्ध हिमाल देखिने गरी पर्यटकले फोटो लिन सक्छन् । भूकम्प स्मृति पार्क र भ्यु टावर निर्माण पूरा भएपछि बारपाकलाई अझै पर्यटकीय आकर्षणको गन्तव्य बनाउन सकिने स्थानीय बताउँछन् । भूकम्पको केन्द्रबिन्दुका रूपमा चर्चित बारपाकमा त्यो बेला धेरै क्षति भएको थियो । शनिबार बिहान ११.५६ बजे बारपाक केन्द्रबिन्दु बनेर ७.८ रेक्टर स्केलको भूकम्प आएको थियो । जसमा परेर गोरखाका मात्र ४ सय ७२ जनाले ज्यान गुमाए । एक हजार जनाभन्दा बढी घाइते भए । ६ वर्षको अन्तरालमा भूकम्प त्रासदी बिर्संदै जनजीवन पुरानै लयमा फर्किसकेको छ । 

वडा कार्यालय, प्रहरी चौकी, स्वास्थ्य चौकीलगायतका सरकारी संरचनाले नयाँ भवन पाए । बारपाक गाउँको बीचमा रहेको हिमालय माविको विद्यालयको आकर्षक भवन बनेको छ । यहाँका अधिकांश घर बनिसके । भूकम्पको पहिलो वार्षिकीको दिन २०७३ वैशाख १२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले बारपाककै गोपाल विकको घरको शिलान्यास गर्दै देशभर पुनर्निर्माण सुरु भएको सन्देश दिएकी थिइन् । भूकम्पले क्षति पुर्‍याएको बारपाकका १ हजार ३ सय ७९ मध्ये १ हजार ३ सय १९ लाभग्राहीले घर निर्माण सकेर तेस्रो किस्ता लगिसकेका छन् । 

भूकम्पले क्षति पुगेको गोरखा दरबारको भने अझैसम्म पुनर्निर्माण पूरा भइसकेको छैन । १९९० सालको भूकम्पले हल्लाएको दरबारलाई २०७२ को भूकम्पले थप क्षति गरेपछि २०७४ कात्तिकबाट पुनर्निर्माण सुरु भएको थियो । ठेक्का सम्झौताअनुसार २०७६ मंसिरभित्र काम सक्नुपर्ने थियो । ठेकेदारको ढिलासुस्तीले म्याद सकिएको दुई वर्ष बित्दासम्म पुनर्निर्माणले पूर्णता पाएको छैन । 

भूकम्पपछि जोखिममा परेको धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा ५ सय ७३ घर बनेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको घर बिहीबार हस्तान्तरण गरिएको हो । पुरानो लाप्राक गाउँ पहिरोको जोखिममा परेपछि गुप्सीपाखामा एकीकृत बस्ती निर्माण भएको छ । तर उक्त बस्तीका घरमा स्थानीय सरिसकेका छैनन् । ५ सय ७३ मध्ये करिब ३० घरपरिवार मात्र गुप्सीपाखामा सरेका छन् । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully