भारतीय अभिनेता सोनु सुदको सहयोगमा मधुले पाए नयाँ जीवन

वैशाख १०, २०७८

देवेन्द्र भट्टराई

काठमाडौँ — कोभिड–१९ संक्रमणका माझ देशभित्रै वा विदेशमा अलपत्र श्रमिकलाई उद्धार र सहयोग गरेर घर फिर्ता ल्याउन भूमिका खेल्दै आएका भारतीय अभिनेता सोनु सुदले जटिल मानिएको मेरुदण्डसम्बन्धी रोग ‘एंकाइलोजिङ स्पोन्डिलाइटिस’ बाट ग्रसित नेपाली युवकको उपचारमा मद्दत गरेका छन् ।

पर्वत, सिद्रे मूल घर भई हाल पोखरा, काहुखोला बस्दै आएका ३० वर्षीय मधु पौडेल १९ वर्षको उमेरदेखि बाथ रोगले थलिएका थिए । ‘हिँड्दाहिँड्दै कम्मरदेखि तल खुट्टाका आँख्ला (जोइन्ट) दुखेर उसलाई असाध्य हुने गरेको थियो,’ पर्वतमा दुःखजनी गर्दै बसिरहेकी मधुकी आमा सीताकुमारीले फोनमा भनिन्, ‘पछि त्यो दुःखाइ काछ (जाँघ) को जोर्नी (हिप जोइन्ट) मा बेसी हुन थाल्यो । खुट्टा पनि बांगिँदै गए, हिँडडुल गर्नै गाह्रो भयो । स्कुल छाड्नुपर्‍यो, दीर्घरोगीझैं घरवरपर गरिरह्यो । बिहे पनि हुन सकेन ।’ 

मधुको यही रोग हो भन्ने चार वर्षअघि मात्रै पोखरामा पत्ता लागेको थियो तर पैसा अभावले राम्रो ठाउँमा लगेर उपचार गर्न सम्भव भएको थिएन । गाउँमा आफन्तको खेतीबारी कमाएर मुस्किलले छाक टार्दै आएकी सीताका श्रीमान् भीमप्रसाद पौडेल (६१) पोखरामा साइकलमा चुरोट बिक्री गर्दै जीवन निर्वाह गरिरहेका छन् । ‘हामी गरिबको दैव सहाराझैं भयो,’ सीताले भनिन्, ‘खोइ, भारतकै एक जना सहयोगीले छोराको उपचारमा भरथेग गरिदिए रे भन्ने सुनेकी छु । ऊ अस्पतालबाट डिस्चार्ज भइसकेको रहेछ । अब एक महिनाजतिमा घर फिर्न सक्छ रे ।’

एम्स अस्पतालमा उपचारार्थ आएका बेला लट्ठीको सहारामा मधु । तस्बिर सौजन्य : डा.दीपक गौतम

आफ्ना तीन छोरामध्ये जेठा मधुले मेरुदण्डसम्बन्धी रोगकै कारण १० कक्षाबाट पढाइ छाडेको र अरू दुई छोरा गोविन्द र विष्णुले एसएलसीसम्म पढाइ पूरा गरेको सीताले बताइन् । सामान्य भाषामा बुझ्दा ‘एंकाइलोजिङ स्पोन्डिलाइटिस’ मेरुदण्ड र कम्मरको तल्लो भागलाई असर गर्ने एक प्रकारको बाथ रोग हो । सुरुमा यो रोगले कम्मरको तल्लो भाग र पिठ्युँलाई जोड्ने जोर्नी (स्याक्रो–आइलियाक जोइन्ट) लाई आक्रमण गर्छ तर यो जोर्नी अचल (स्थिर) रहने हुनाले सामान्यतया बिरामी अरू जोर्नीलाई असर गर्न थालेपछि मात्रै अस्पताल पुग्छन् । ‘एंकाइलोजिङ स्पोन्डिलाइटिस’ भएपछि बिहान ओछ्यानबाट उठ्दा मेरुदण्ड, कम्मर र जोर्नीमा पीडाजन्य दुखाइ हुने गर्छ । समयमै डाइग्नोसिस हुन नसकेको अवस्थामा जोर्नीहरू जाम हुँदै जाने र बिरामी हिँडडुल गर्नै नसक्ने अवस्थामा पुग्छ । ‘मधुले बेहोरेको यही अवस्था हो,’ दिल्लीको एम्स अस्पतालको अर्थोपेडिक विभागका जोइन्ट–रिप्लेसमेन्ट सर्जन सहप्राध्यापक डा.दीपक गौतमले कान्तिपुरसँग भने ।

गौतमका अनुसार धेरैजसो बिरामी सुरुको अवस्थामा यही रोगसँग मिल्दोजुल्दो भएर मेरुदण्डमा ‘डिस्क’ को समस्या भन्दै त्यहीअनुरूपको उपचार गराइरहेका हुन्छन् । ‘यो रोग निको हुनुमा न त निश्चित कुनै कारण छ न त निर्क्योल नै,’ एम्सकै अर्थोपेडिक विभागका प्रमुख प्राध्यापक डा.राजेश मल्होत्राले भने, ‘तर आधुनिक उपचार पद्धतिमा यस्ता धेरै औषधि आइसकेका छन्, जसले रोगको गतिलाई एकदमै कम गराउन सक्छ ।’ उनका अनुसार केही बिरामीका हकमा वंशानुगत परीक्षण गर्दा जसको शरीरमा ‘एचएल फोर्टी एट–ट्वान्टी सेभेन’ नामक जिन हुन्छ, ती व्यक्तिमा यो रोग हुन सक्ने सम्भावना अधिक हुन्छ ।

डा. दीपक गौतम

‘नेपालमा यो दुर्लभ रोगबारे स्पेसिफिक रूपमा अध्ययन भएको जानकारी छैन,’ डा.गौतमले भने, ‘विश्वको समग्र स्थिति हेर्दा उत्तर अमेरिकामा १० हजार जनामध्ये ३२ जना, युरोपमा २३, एसियामा १६, ल्याटिन अमेरिकामा १० र अफ्रिकामा ७ जना एंकोलोजिङ स्पोन्डिलाइटिसबाट ग्रसित पाइएको छ ।’ पछिल्लो तथ्यांकमा यही रोगबाट भारतमा मात्रै १० हजार जनसंख्यामध्ये ६ प्रतिशत यो रोगबाट पीडित भएको पाइएको छ । नेपालमा यो रोग बिरलै देखिएकाले हुन सक्छ, यसबारे अध्ययन–अनुसन्धान भएको देखिन्न । ‘गत फेब्रुअरीमा जब मधु पहिलोपटक एम्सको अर्थोपेडिक ओपीडीमा आएका थिए, उनी पनि मेरुदण्ड, कम्मर र हिप जोर्नी सबै जाम भइसकेको अवस्थामा थिए । हिप–जोइन्ट फ्युज्ड भइसकेको अवस्थामा आएका उनी एक लट्ठीको सहारामा हिँडिरहेका थिए । उनी सजिलो गरी कुर्सीमा बस्न पनि सक्दैनथे,’ मधुको शल्यक्रियामा संलग्नमध्येका एक डा.गौतमले भने ।

डा. मल्होत्रा र डा.गौतमले कान्तिपुरसँग फोनमा भने, ‘यस्तो स्टेजमा आएका र कम उमेरका बिरामी हामीले भारतभित्रै धेरै पाएका छौं तर नेपालबाट यस्तो डिफर्म्ड अवस्थाका बिरामी आएको यो पहिलो घटना हो ।’ एम्समा कार्यरत नेपाली चिकित्सक डा.गौतम र विभाग प्रमुख डा.मल्होत्राले सन् २०१६ मा यसै रोग ‘एंकाइलोजिङ स्पोन्डिलाइटिस’ का बिरामीमा गरिने शल्यचिकित्सा अनुसन्धानका लागि वेलकम ट्रस्ट–इन्डियन एलाइन्सबाट झन्डै ६० लाख रुपैयाँ बराबरको अनुदान प्राप्त गरेका थिए ।

डा. राजेश मलहोत्रा

रोगको संवेदनशीलता र स्वयं बिरामीले बेहोरेको असहज शारीरिक स्थितिका कारण सुरुमा ‘थ्री–डी मोडेल’ मा भर्चुअल शल्यक्रियाको अभ्यास गरेपछि मात्रै डा.मल्होत्रा र डा.गौतमको टिम मधुको उपचारमा लागिपरेको थियो । गत अप्रिल ५ तारिखमा झन्डै ३ घण्टाको अवधि लगाएर डा.मल्होत्रा र डा.गौतमले मधुको दुवै हिपको ‘टोटल हिप रिप्लेसमेन्ट’ शल्यक्रिया सफलापूर्वक गरेका थिए । अप्रिल २० मा अस्पतालबाट डिस्चार्ज भएर नजिकै मस्जिदमोठ डेरामा बसिरहेका मधुको हड्डी दरिलो बनाउन नियमित इन्जेक्सन लगाउने काम भइरहेको छ ।

अनि भेटिए सोनु

मधुको तत्कालै दुवै ‘हिप–रिप्लेसमेन्ट’ गर्नुपर्ने भयो तर यति संवेदनशील र महँगो उपचार पद्धतिका लागि खर्चको जोरजाम भएको थिएन । आफन्तजनसँग ब्याजमा खोजेको थोरै पैसा लिएर पोखराबाट दिल्लीसम्म गएका मधु र गोविन्दका लागि नेपाली हिसाबमा ८ लाख रुपैयाँभन्दा बढी लाग्ने यो शल्यक्रिया आफैंमा मुस्किलको कुरा थियो । घरमा बुबा–आमासँग पैसा माग्ने अवस्था थिएन ।

त्यसपछिको चरणमा आर्थिक सहयोग र भरथेगको खोजी गर्दै मधुले भारतीय अभिनेता सोनु सुदको कल्याणकारी अभियानमा भर परेर सहयोगको पुकारा गरेका थिए । मधुले गत फेब्रुअरी १३ मा ट्वीटरमा सोनु सुद र उनको फाउन्डेसनलाई सम्बोधन गर्दै लेखेका थिए, ‘हेलो सर, म मधु पौडेल, नेपालबाट हुँ । विगत १० वर्षदेखि एंकाइलोजिङ स्पोन्डिलाइटिस रोगसँग लडिरहेको छु । मैले कक्षा १० देखि स्कुल पनि छाड्नुपर्‍यो । एम्सका डाक्टरहरूले मलाई सर्जरी गर्नुपर्ने सल्लाह दिएका छन् तर मसँग पैसा छैन । के तपाईं मेरो मद्दत गर्न सक्नुहुन्छ ?’

यही पुकाराको सुनुवाइ गर्दै सुदले मधुको उपचारका लागि आर्थिक सहयोग गर्ने बचन दिएका थिए । यो खर्चको विवरणबारे सोनु सुद फाउन्डेसनले केही नखुलाए पनि गत मार्च १ मा सुदले ट्वीटरमा लेखेका थिए, ‘अतिथि देवो भवः हिंदुस्तान से अपने देश नेपाल बिना लाठी के दौडते हुए जाओगे ।’ कोरोना महामारीका माझ सोनु सुदले हजारौं बिचल्लीमा परेका र देश–विदेशमा रहेका भारतीय सर्वसाधारणलाई उद्धार र सहयोग गर्दै आएका छन् । भारतभित्रै पनि आर्थिक अभावका कारण स्वास्थ्य उपचार नपाउनेलाई सुदले सहयोग गरेका छन् ।

सम्बन्धित समाचार

सोनु सूदले एक नेपाली युवकलाई उपचारमा सघाउने

देवेन्द्र भट्टराई विगत २५ वर्षदेखि पत्रकारितामा सक्रिय छन् । उनी कान्तिपुर पब्लिकेसन्समा सहायक सम्पादकको रुपमा कार्यरत छन् । उनी परराष्ट्र, शिक्षा, श्रम, कला, साहित्य,फिचर लगायतका विषयमा कलम चलाउँदै आइरहेका छन् । साथै उनी रेगिस्तान डायरी, स्रष्टा र समय पुस्तकका लेखक हुन् ।

Link copied successfully