२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

नक्कली पीसीआर रिपोर्ट बोकेका १ सय ७२ यात्रु विमानस्थलमा पक्राउ

सुरज कुँवर

काठमाडौँ — नक्कली पीसीआर प्रमाण बोकेर विभिन्न गन्तव्यमा जान लागेका १ सय ७२ यात्रु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार, प्रहरीले सुराकीको आधारमा बुधबार मध्यपूर्वी गन्तव्यतर्फ जाँदै गरेका नेपाली, भारतीय र पाकिस्तानी यात्रुलाई पक्राउ गरेको हो ।

नक्कली पीसीआर रिपोर्ट बोकेका १ सय ७२ यात्रु विमानस्थलमा पक्राउ

बिहान ९ बजे सलाम एयरको उडानबाट मस्कट, जजिरा एयरको उडानबाट कुवेत र एयर अरेबियाको उडानबाट शारजाह जान लागेका यात्रुहरुलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको विमानस्थलस्थित टर्मिनल ड्युटी कार्यालयले जनाएको छ ।

जाँच गरी बोर्डिङ पास लिइ सकेका सलाम एयरका ३२ जना, जजिरा एयरका ३६ जना र एयर अरेबियाका ५४ जना यात्रु गरी १ सय २२ जना यात्रुलाई डिपार्चर हलबाट पक्राउ गरिएको थियो । यसमा ७२ जना नेपाली, ४९ जना भारतीय र एक जना पाकिस्तानी यात्रु छन् ।

त्यस्तै प्रहरीले हेल्थ डेस्कबाट ५० जना यात्रुलाई पक्राउ गरेको थियो । जसमा २९ जना नेपाली, १९ जना भारतीय र २ जना पाकिस्तानी छन् । ‘नौ हजार रुपैयाँमा नक्कली पीसीआर नेगेटिभ लेखिएको प्रमाणपत्र बिक्री हुने गरेको सूचना प्राप्त भएको छ,’ तिवारीले भने ।

हाल भारतबाट मध्यपूर्वी श्रम गन्तव्य भएका मुलुकमा जान रोक भएकाले भारत, पाकिस्तान लगायतका छिमेकी मुलुकका यात्रु काठमाडौं हुँदै ती मुलुकमा जाने गरेका छन् । ती मुलुकका वायुसेवाहरुले पछिल्लो ७२ घन्टाको पीसीआर नेगेटिभ भएको प्रमाणका आधारमा यात्रु लैजाँदै आएका छन् ।

प्रकाशित : वैशाख ८, २०७८ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?