चार चिकित्सक र दुई एमबीबीएस उत्तीर्ण विद्यार्थीसहित ८ पक्राउ
काठमाडौँ — विद्यालय तहको शैक्षिक योग्यताका कागजात किर्ते गरी बंगलादेश र चीनबाट एमबीबीएस अध्ययन गरेका ६ जना चिकित्सक पक्राउ परेका छन् । एसएलसीकै किर्ते मार्कसिट पेस गरेर ललितपुरको किस्ट मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत छात्रा र किर्ते कागजात बनाउने बागबजारस्थित दीपज्योति इन्टरनेसनल कन्सल्टेन्सीका सञ्चालक महोत्तरीका अरुण चौधरी पनि पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सप्तरी विष्णुपुर गाउँपालिका–२ घर भई न्युरो अस्पताल विराटनगरमा कार्यरत मोहम्मद सिद्दिकी, महोत्तरी सरपल्लो घर भई धनुषाको जनकपुर चिल्ड्रेन हस्पिटलमा कार्यरत सुभाषप्रसाद साह, धनुषा सबैला घर भई काठमाडौंको चाबहिलस्थित दीर्घायु गुरु अस्पतालमा कार्यरत मोहम्मद साहिद राजा र पश्चिम रुकुमको चौरजहारी मिसन अस्पतालमा कार्यरत दीपेन्द्र गौतमलाई पक्राउ गरेको हो । आरोपितहरूविरुद्ध केही महिनाअघि ब्युरोमा उजुरी परेको थियो । तर, फाइल केही त्यसै थन्किएको थियो । केही दिनअघि उजुरीमाथि छानबिन गर्दा केही कैफियत भेटियो । त्यसपछि प्राप्त कागजात र परीक्षा बोर्ड/परीक्षा नियन्त्रण कार्यालयमा भएका कागजात भिडाउँदा परीक्षाका प्राप्तांक, जन्ममिति र कतिको नाम नै फरक देखियो । त्यसपछि एमबीबीएस अध्ययनका लागि अनुमतिको प्रमाणपत्र दिने काउन्सिलबाट पनि ब्युरोले कागजात झिकाएर दोहोरो परीक्षण गर्दा किर्ते गरेको भेटिएको प्रहरीले जनाएको छ ।
अनि मात्रै किर्तेमा संलग्न चौधरी र कागजातवाला ८ जनालाई पक्राउ गर्न अदालतले पुर्जी दियो । त्यसकै आधारमा मोरङ, महोत्तरी, पश्चिम रुकुम, भक्तपुर र ललितपुरबाट किर्ते प्रमाणपत्रधारी चिकित्सक/विद्यार्थी र बागबजारबाट नक्कली कागजात बनाउन सघाउने कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका हुन् ।
सीआईबीका प्रमुख डीआईजी सहकुल थापाका अनुसार बागबजारस्थित दीपज्योति इन्टरनेसनल कन्सल्टेन्सीका सञ्चालक अरुण चौधरीले सबै जनाको प्रवेशिका परीक्षाको प्रमाणपत्र किर्ते र अंक थपघट गरी हेरफेर गरेका थिए । ‘एमबीबीएस अध्ययनका लागि चाहिने नम्बर नआएपछि प्रवेशिकाको मार्कसिटमा अंक केरमेट र केहीको उमेर परिवर्तन गरी अंक बढाएर नक्कली मार्कसिट बनाएका रहेछन् । सबै किर्ते कागजात बनाउन कन्सल्टेन्सी सञ्चालकले सहयोग गरेको देखियो,’ डीआईजी थापाले कान्तिपुरसँग भने, ‘अनुसन्धान गर्दै जाँदा सन् २०११ अघिबाटै सबै किर्ते कागजात बनाइएको भेटियो ।’
अस्पतालमा कार्यरत तीन चिकित्सकसहित बंगलादेशबाट ५ र एक जनाले चीनबाट एमबीबीएस अध्ययन सकेर फर्केका हुन् । नेपाल मेडिकल काउन्सिलको दर्ता किताबमा दीर्घायुका चिकित्सक साहिद राजाले मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण गरी स्थायी प्रमाणपत्र लिएका छन् । बंगलादेशको नर्थइस्ट मेडिकल कलेजबाट २०१८ मा उत्तीर्ण उनी दीर्घायुको आकस्मिक सेवामा कार्यरत छन् । गत वर्ष उनले काउन्सिलको परीक्षा पास गरेका थिए ।
न्युरो अस्पताल विराटनगरका सिद्दिकी नर्थ बंगाल मेडिकल कलेज बंगलादेशबाट २०१८ मा अध्ययन सकेर आएका हुन् । उनी न्युरोको कोभिड आकस्मिक उपचार केन्द्रमा कार्यरत छन् । चिल्ड्रेन हस्पिटल जनकपुरमा कार्यरत साहले बंगलादेशकै बीजीसी ट्रस्ट मेडिकल कलेजबाट २०१७ मा अध्ययन सकेका थिए । उनले पछिल्लो एक वर्षदेखि काउन्सिलबाट अस्थायी चिकित्सा सेवा गर्न पाउने अनुमति लिएका छन् । उनी उक्त अस्पतालमा इमर्जेन्सी वार्डमा कार्यरत छन् । चिकित्सक सुभाषप्रसाद साहले २०६३ मा सप्तरीको श्री योगकुमार उच्च माविबाट ६१ प्रतिशत ल्याई एसएसली उत्तीर्ण गरेका थिए । मिसन अस्पताल रुकुमका गौतमले भने बिनाअनुमति काम गरिरहेको पाइएको छ । उनले इलाजसम्बन्धी कानुनको बर्खिलाप गरी काम गरिरहेको भेटिएको ब्युरोले जनाएको छ ।
साहिल राजा, सिद्दिकी र फराज हुसेन पनि २०६४ मै क्रमशः सरस्वती उच्च मावि, वर्ल्ड भिजन सेकेन्डरी स्कुल सप्तरी र आइडियल मोडेल स्कुल ललितपुरबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । फराज बंगलादेशको इम्ब्राहिम मेडिकल कलेजबाट सन् २०१९ मा अध्ययन सकेर नेपाल आएका हुन् ।
त्यस्तै चीनको हुवेई मेडिकल कलेजबाट एमबीबीएस अध्ययन सकेर आएका सप्तरीका ३१ वर्षीय अखिलेशकुमार देव र बंगलादेशबाट आएका ललितपुर सानेपाका २९ वर्षीय फराज हुसेन खाँ तथा ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत २७ वर्षीय महोत्तरीकी पल्लवी सिंहलाई पनि ब्युरोले पक्राउ गरेको छ । स्रोतका अनुसार देवले २०६४ मा महावीर मावि सप्तरीबाट ६१ प्रतिशत अंक ल्याएका थिए भने प्लस टु २०६७ मा छिन्नमस्ता एकेडेमीबाट दोस्रो श्रेणीमा उत्तीर्ण भएका थिए । २०२० मा चीनबाट दोस्रो श्रेणीमा एमबीबीएस सकेर आएका उनले अझै मेडिकल काउन्सिलको परीक्षा पास गरेका छैनन् । पल्लवीले जनकपुरस्थित सिद्धार्थ शिशु सदन बोर्डिङ स्कुलबाट ७० प्रतिशत अंक ल्याएर प्रवेशिका उत्तीर्ण गरेको देखिन्छ । उनी किस्टमा एमबीबीएस अध्ययनरत छिन् । केहीको कागजात खुल्न बाँकी भएको ब्युरोले जनाएको छ ।
किर्ते कागजात पेस गरी एमबीबीएस अध्ययनका लागि बंगलादेश र चीन जानुपूर्व मेडिकल काउन्सिलबाट उनीहरूलाई सिफारिस गरिएको पनि खुलेको छ । बंगलादेश जान नपाएकी सिंह भने किस्टमा भर्ना भएकी थिइन् । सन् २०१२ मा उनी अध्ययनका लागि किस्टमा भर्ना भए पनि पटक–पटक अनुत्तीर्ण हुँदै आएकी थिइन् । उनले एमबीबीएस उत्तीर्ण गरेकी छैनन् ।
२०१२ मा किस्टमा एमबीबीएस अध्ययनका लागि भर्ना भएकी पल्लवी सिंह पटक–पटक अनुत्तीर्ण भइन् । मेडिकल कलेजमा पनि उनको योग्यतामाथि भित्रभित्रै सहपाठीले नै प्रश्न उठाउन थाले । त्यसको गाइँगुइँ चिकित्सा शिक्षा आयोगमा पनि पुग्यो । त्यस बेलै बंगलादेश पढ्न गएका अन्य ६ जनाको पनि शैक्षिक योग्यताका प्रमाणपत्र हेर्दा गडबडी देखियो । उनीहरूले पेस गरेका सबै कागजात परीक्षा नियन्त्रण कार्यालय र उच्च माध्यमिक शिक्षा परिषद्मा भएकासँग जुधाउँदा मेल नखाएको ब्युरोले जनाएको छ । त्यसपछि अनुसन्धान गर्दै जाँदा पेस गरिएका कागजात नै फर्जी भेटिए ।
महोत्तरीबाट पक्राउ परेका जनकपुर चिल्ड्रेन हस्पिटलका चिकित्सक सुभाषप्रसाद साह बंगलादेशबाट अध्ययन सकेर फर्किएपछि एक युवतीसँग लिभिङ टुगेदर’ मा बस्न थाले । त्यही क्रममा अस्पतालमा उनको जागिर भयो । छिट्टै विवाह गर्ने भनेर युवतीलाई प्रलोभनमा पारेका उनले विवाह गर्न आलटाल गर्थे । विवाह गर्न नमानेपछि ती युवतीले केही दिनअघि महोत्तरी प्रहरीमा उजुरी दिइन् ।
प्रहरीले अभद्रको कसुरमा पक्राउ गरी अनुसन्धान थाल्यो । पछि साह युवतीसँग ‘कोर्ट म्यारिज’ गर्न राजी भएपछि प्रहरीले उनलाई परिवारको जिम्मा लगायो । त्यही क्रममा महोत्तरीको जलेश्वरबाट ब्युरोले साहलाई पक्राउ गरेको हो । ब्युरोका अनुसार दीर्घायुका चिकित्सक साहिद राजा इमाडोलबाट, अर्का चिकित्सक गौतम मिसन अस्पताल पश्चिम रुकुम, सिद्दिकी न्युरो अस्पताल विराटनगर, देव विराटनगरको बरगाछी, फराज हुसेन सानेपा र सिंह मध्यपुर थिमिस्थित कोठाबाटै पक्राउ परेका हुन् । उनीहरू सबैलाई अदालतबाट म्याद थप गरी सरकारी छाप तथा दस्तखत किर्ते गरेको अभियोगमा अनुसन्धान अघि बढाइएको ब्युरोले जनाएको छ ।
पढ्न योग्यता नपुगेपछि किर्ते
२०६८ देखि २०७१ को बीचमा सातै जनाले एमबीबीएस अध्ययनका लागि नेपाल र बंगलादेशका विभिन्न मेडिकल कलेजमा अध्ययनका लागि प्रक्रिया अघि बढाए । एसएलसी, ११ र १२ कक्षाको अध्ययन सकेर उनीहरूको एमबीबीएस अध्ययनमा जाने योजना पहिलेबाटै रहेको खुलेको छ । तर, प्रवेशिकाको प्रमाणपत्रमा विज्ञान पढ्न आवश्यक अंक नपुगेपछि प्रक्रिया अघि बढेन । त्यसपछि बागबजारस्थित कन्सल्टेन्सीसँग पनि परामर्श थाले । कन्सल्टेन्सीले प्रक्रिया अघि बढाउने तर खर्च बढी लाग्ने भन्दै आश्वासन दियो ।
पक्राउ परेका आरोपितले दिएको प्रारम्भिक बयानअनुसार दीपज्योति इन्टरनेसनल कन्सल्टेन्सीका सञ्चालक अरुण चौधरीले सबैका कागज जम्मा गरे । त्यसपछि अंक नपुगेका ठाउँमा किर्ते गरी चाहिएको अंक थपघट गरे । त्यसलाई नोटरीबाट पनि प्रमाणित गराए । त्यसकै आधारमा सबै प्रक्रिया पूरा गरी नेपाल मेडिकल काउन्सिलमा अध्ययनका लागि जानेले भर्नुपर्ने योग्यताको फाराममा सम्पर्क व्यक्ति कन्सल्टेन्सी सञ्चालक चौधरी र उनकी श्रीमतीको नाम राखियो । त्यसको जानकारी अध्ययनका लागि जानेलाई पनि दिइयो । फाराम भरेको केही दिनपछि अध्ययनमा जान चाहिने योग्यताको प्रमाणपत्र काउन्सिलले दियो । सम्पर्क व्यक्ति उनै चौधरी बसे । प्रक्रिया पुर्याएर ६ जना बंगलादेश गए । पल्लवी सिंहले बंगलादेशमा भएका आफन्तसँग कुरा गरिन् । बंगलादेशमा मेडिकल कलेज कालोसूचीमा पर्न थालेको, पढाइ राम्रो नभएको भन्दै नेपालमै अध्ययन गर्न सुझाए । त्यसपछि उनी किस्टमा सन् २०१२ मा भर्ना भइन् । अरू बंगलादेश गए ।
बंगलादेश गएकामध्ये दुई जना सन् २०२१ फेब्रुअरीमा मात्रै नेपाल फर्किएका हुन् । अरू केही वर्षमै आए । त्यसमध्ये चाबहिलस्थित दीर्घायुका मोहम्मद साहिद राजाले काउन्सिलको स्थायी परीक्षा पनि उत्तीर्ण गरे । अरू दुई जना न्युरो अस्पताल विराटनगर र जनकपुर चिल्ड्रेन हस्पिटल धनुषाका क्रमशः मोहम्मद साहिद राजा र सुभाषप्रसाद साहले काउन्सिलबाटै अस्थायी चिकित्सा सेवाको अनुमति लिए । रुकुमको मिसन अस्पतालका दीपेन्द्र गौतम अनुमतिबिनै अस्पतालमा काम गर्न थाले । अरू दुई जना भर्खर बंगलादेशबाट फर्किएका कारण काउन्सिलको परीक्षा पनि दिएका छैनन् ।
