१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

देउवासँग यादव–भट्टराईको प्रस्ताव : कांग्रेस तयार नभए जसपाको नेतृत्वमा सरकार

जसको विवाह हुँदै छ, उही तयार नभएपछि जन्ती जान हतार किन गर्ने भन्ने हुन्छ, अहिले हामी त्यही स्थितिमा छौं । – उपेन्द्र यादव, अध्यक्ष, जसपा
समर्थन फिर्ता नलिएको र संसद्माअविश्वास प्रस्ताव पनि नआएको अवस्थामा सडकबाट सत्ता बदल्ने भनेर निर्णय गर्ने कुरा आउँदैन । – राजेन्द्र महतो, वरिष्ठ नेता, जसपा

काठमाडौँ — वैकल्पिक सरकार निर्माणबारे औपचारिक निर्णय लिन नसकेको जनता समाजवादी पार्टी (जसपा) ले प्रमुख प्रतिपक्ष कांग्रेसलाई संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न वा वैकल्पिक सरकारमा आफ्नो नेतृत्वलाई स्वीकार गर्न प्रस्ताव अघि सारेको छ ।

देउवासँग यादव–भट्टराईको प्रस्ताव : कांग्रेस तयार नभए जसपाको नेतृत्वमा सरकार

प्रधानमन्त्री ओलीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता भए जसपालाई औपचारिक निर्णय लिन सहज हुने भन्दै पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवासँग यस्तो प्रस्ताव राखेका हुन् ।

यादव र भट्टराई देउवालाई भेट्न मंगलबार उनकै निवास बूढानीलकण्ठ पुगेका थिए । लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र देउवाबीच पनि छुट्टै भेटघाट भएको थियो । देउवा र दाहालबीच केन्द्र र प्रदेश सरकारको गठबन्धन तथा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताबारे छलफल भएको कांग्रेसका एक पदाधिकारीले बताए । देउवाको मुख्य चासो एमसीसीप्रति थियो । सभामुखको असहयोगका कारण एमसीसी सम्झौता अनुमोदन हुन नसकेको भन्दै देउवा दाहालसँग असन्तुष्ट छन् ।

एमसीसी सम्झौता अनुमोदन प्रस्ताव तत्काल संसद्मा पेस हुँदा कांग्रेस र एमाले एक ठाउँमा उभिन सक्ने र त्यसले गठबन्धनलाई असर पार्न सक्ने चिन्ता दाहालमा देखिन्छ । दाहालले एमसीसी सम्झौता अनुमोदन गर्नेदेखि केन्द्र र प्रदेश सरकारको गठबन्धन र निर्वाचनसम्मै सहकार्य गरेर अघि बढ्न देउवासँग प्रस्ताव राखेका छन् । तर यसलाई निष्कर्षमा पुर्‍याउन जसपा निर्णायक छ । जसपामा यादव र भट्टराई प्रधानमन्त्री ओलीलाई तत्काल विस्थापन गर्नुपर्ने पक्षमा छन् ।

अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो त्यसका लागि अझै तयार छैनन् । ठाकुर र महतो तयार नभएसम्म सरकार निर्माणका लागि संख्या नपुग्ने भनेर देउवा पन्छिँदै आएका छन् । यादव र भट्टराईको प्रस्तावमा देउवाले ठोस जवाफसमेत नदिएको उनीनिकट स्रोतले बतायो । यादवले सत्ता समीकरणका लागि मुख्य शक्ति कांग्रेस तयार नहुँदासम्म समीकरण नबदलिने बताए । ‘जसको विवाह हुँदै छ, उही बेहुला नै तयार नभएपछि जन्ती जानलाई हतार किन गर्ने भन्ने हुन्छ, अहिले हामी त्यही स्थितिमा छौं,’ यादवले कान्तिपुरसँग भने, ‘मंगलबार देउवासँग भएको कुराकानी पनि उपलब्धिपूर्ण भएको छैन ।’

कांग्रेसले भने चैत २० गतेको केन्द्रीय कार्यसमिति बैठकबाट आफ्नै नेतृत्वमा सरकार निर्माणको पहल गर्ने औपचारिक निर्णय गरेको छ । तर जसपा सत्ता समीकरणका विषयमा मतान्तर हुनाले अनिर्णीत छ । ठाकुर र महतोले निलम्बित सांसद रेशम चौधरीलगायत पार्टीका नेता तथा कार्यकर्ताको रिहाइ र उनीहरूविरुद्ध परेको मुद्दा फिर्ताको विषयलाई लिएर सरकारसँग संवाद गरिरहेका छन् । यी मुद्दा सम्बोधन भए उनीहरूको झुकाव प्रधानमन्त्री ओलीतिरै हुने देखिन्छ । यादव पक्षले भने ओली नेतृत्वको सरकारलाई समर्थन वा सरकारमा साझेदारी हुन नसक्ने बताउँदै आएको छ ।

संसद्मा अविश्वासको प्रस्ताव आए वा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउन कांग्रेस तयार भए जसपालाई निर्णय लिन सहज हुने भनाइ यादव र भट्टराईको छ । फरक विचारधाराको नेतृत्व लिएका महतोले पनि सत्ता समीकरण बदल्ने एजेन्डा संसद्मा आएपछि मात्रै पार्टीले निर्णय लिने धारणा राख्दै आएका छन् । ‘संसद्को एजेन्डामा आयो भने एउटा निर्णयमा हामी पुग्नुपर्छ, अहिले सरकार बहुमतको छ । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

समर्थन पनि फिर्ता नलिने र संसद्मा अविश्वासको प्रस्ताव पनि नआएको अवस्थामा सरकार फेरबदल संसद्को एजेन्डा नै बन्न सकेको छैन । यस्तो अवस्थामा हामीले सडकबाट सत्ता बदल्ने भनेर निर्णय गर्ने कुरा आउँदैन,’ उनले भने । अध्यक्ष यादवले कांग्रेस तयार नहुने हो भने जसपाको नेतृत्वमा सरकार बनाउन अघि बढ्नुपर्ने बताए । ‘कि त अविश्वास प्रस्ताव ल्याएर कांग्रेसले पहल गर्नुपर्‍यो, कांग्रेस तयार नहुने हो भने जसपालाई सहयोग गर्नुपर्‍यो भन्ने हाम्रो भनाइ हो,’ उनले भने ।

देउवा कांग्रेस नेतृत्वमा वैकिल्पक सरकार बनाउने मनस्थितिमा छैनन् । आफ्नै नेतृत्वमा सरकार बनाउने चाहना पनि उनको देखिँदैन । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको अडान भने जसपाका यादव र भट्टराईको जस्तै छ । ओलीलाई सत्तामा निरन्तरता दिन नहुने पक्षमा पौडेल र सिटौला अडिग छन् । सके कांग्रेसकै नेतृत्वमा नभए जसपा वा माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउन समर्थन दिनुपर्ने पक्षमा पौडेल र सिटौला पुगेका छन् । केही दिनअघि कांग्रेस महामन्त्री शशांक कोइरालाले सार्वजनिक रूपमै कांग्रेसको नेतृत्वमा सम्भव नभए अन्य दलको नेतृत्वमा भए पनि सरकार निर्माण गरेर ओलीलाई विस्थापित गर्नुपर्ने बताएका थिए ।

संस्थापन पक्षीय नेता ज्ञानेन्द्रबहादुर कार्कीले भने पार्टीको निर्णयबाट कांग्रेस दायाँबायाँ गर्ने स्थिति नभएको उल्लेख गर्दै अन्य पार्टीको नेतृत्वमा बन्ने सरकारमा कांग्रेस सहभागी हुने वा समर्थन दिने कुरा अहिले नभएको बताए । ‘अहिले पार्टीको निर्णयमै अडिग छौं, यसबाट दायाँबायाँ गर्ने कुरा छैन,’ उनले भने, ‘सत्ताको मुख्य साँचो जसपाको हातमा छ । उसको स्थिति प्रस्ट नभएसम्म कांग्रेसले अविश्वासको प्रस्ताव लैजानु अपरिपक्व हुन्छ । संख्या नै नपुग्ने स्थितिमा कांग्रेसले अविश्वास प्रस्ताव लैजाने कुरा आउँदैन ।’

कांग्रेस, माओवादी केन्द्र र जसपा एक ठाउँमा आउन सक्दा मात्रै वैकल्पिक सरकार बन्ने स्थिति बन्छ । जसपाको अनिर्णयका कारण प्रतिनिधिसभा पुनःस्थापना भएको डेढ महिना पुग्दा पनि सरकार निर्माणले ठोस आकार लिन सकेको छैन । माओवादी केन्द्रले तीन दलबीच समझदारी जुटाएर प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउँदा उचित हुने भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । प्रधानमन्त्री ओलीले माओवादी केन्द्रलाई समर्थन फिर्ता लिन बारम्बार चेतावनी दिँदै आएका छन् । देउवा र ठाकुर–महतोले पनि समर्थन फिर्ता नलिएको भन्दै माओवादी केन्द्रलाई प्रश्न गर्दै आएका छन् ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । प्रधानमन्त्रीले विश्वासको मत पाएनन् भने वैकल्पिक सरकार बन्नेतिर भन्दा प्रतिनिधिसभा विघटनतर्फ मुलुक अघि बढ्ने सम्भावना रहन्छ । प्रधानमन्त्री ओली, देउवा, ठाकुरको चाहनासमेत यतैतिर देखिएको छ । संविधानको धारा ७६ (२) अन्तर्गत रहेका प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए संविधानको धारा ७६ (३) अनुसार उनकै नेतृत्वमा अल्पमतको सरकार बन्न पुग्छ । अल्पमतका प्रधानमन्त्रीले पनि विश्वासको मत लिन सकेनन् र त्यसपछि अर्को प्रधानमन्त्री पनि नियुक्ति हुन सकेन भने संविधानतः ओलीले प्रतिनिधिसभा विघटन गर्न पाउँछन् । यही कारण माओवादीले समर्थन फिर्ता नलिएर अल्झाउँदै आएको छ ।

प्रकाशित : वैशाख २, २०७८ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?