चार मन्त्रीको सांसद पद खारेज- समाचार - कान्तिपुर समाचार

चार मन्त्रीको सांसद पद खारेज

फेरि शपथ लिनुपर्ने, ६ महिना मात्रै मन्त्री बन्न पाउने
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका चार सांसदको पद गएको छ । ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह र श्रममन्त्री गौरीशंकर चौधरीको सांसद पद गएको हो ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले चार सांसदले दल त्याग गरेकाले राजनीतिक दलसम्बन्धि ऐनअनुसार उनीहरूलाई सांसदबाट हटाउन माओवादी केन्द्रले सूचना दिएको जानकारी संसद सचिवायमाल आएको प्रतिनिधिसभालाई जानकारी गराएका थिए ।

मन्त्री रहेका चारैजना सांसदले मन्त्रीमै रहिरहनका निम्ती फेरि शपथ लिनुपर्ने हुन्छ । संविधानमा सांसद् नभएको व्यक्ति ६ महिना मात्रै मन्त्री हुन पाउने व्यवस्था छ ।

त्यस्तै, ६ महिनाभन्दा बढी प्रतिनिधिसभाको कार्यकाल रहने अवस्थामा रिक्त सांसद् पदका लागि उपनिर्वाचन हुने पनि संवैधानिक व्यवस्था छ । त्यसअनुसार रिक्त रहेका सांसद पदमा उपनिर्वाचन गर्नुपर्ने हुन्छ ।

सांसद पद रिक्त रहेको सूचना संघीय संसद् सचिवालयले निर्वाचन आयोगलाई दिनेछ । त्यसपछि उपनिर्वाचनको प्रक्रिया अगाडि बढ्नेछ ।

फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र ब्युुँताएर नेकपाको आधिकारीकता ऋषि कट्टेललाई दिएपछि यी चार सांसद एमालेतिर लागेका थिए ।

माओवादी केन्द्रले एमालेतिर लागेका प्रदेश सभा सदस्य र संघीय सांसदहरूलाई पदमुक्त गर्नका लागि सम्बन्धित निकायमा लेखिपठाएको थियो ।

प्रकाशित : चैत्र २६, २०७७ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्

सरकारको विकल्प खोज्नुस् प्रतिपक्षमा बस्न तयार छौं : एमाले सांसद बस्नेत

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)का सांसद महेश बस्नेतले प्रतिपक्षी र सरकारको समर्थन गरिरहेको दललाई केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारको विकल्प खोजेमा आफूहरू प्रतिपक्षमा बस्न तयार रहेको बताएका छन् ।

महेश बस्नेत । फाइल तस्बिर

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद बस्नेतले वैधानिक ढंगले सरकार गठन गर्नका लागि सुझाव दिएका हुन् ।

'सरकारको विकल्प खोज्ने हो भने खोज्नुस्, हामी प्रतिपक्षमा बस्न तयार छौं,' बस्नेतले भने । सरकारको समर्थन गर्दै आलोचना पनि गरिरहेको माओवादीलाई उनले समर्थन फिर्ता लिए वैधानिक ढंगले एमाले सरकार अगाडि बढ्ने बताए । 'विगतमा एमालेलाई न पोथी न भाले भन्ने माओवादी आज त्यै अवस्थामा छ । ऊ न विश्वासको मत फिर्ता लिन सक्छ न सरकार गठन गर्न सक्छ,' उनले भने ।

प्रधानमन्त्रीको राजीनामा मात्रै नमाग्न बस्नेतको भनाइ थियो । प्रधानमन्त्रीको राजीनामा माग्ने ढंग प्रतिपक्षी दलहरूको नपुगेको बस्नेतले बताए । उनले सरकारलाई विश्वासको मत प्राप्त नहुने र अर्को सरकार पनि गठन नहुने हो भने निर्वाचनमा जानुपर्ने पनि बताए ।

वर्तमान सरकारले विभिन्न क्षेत्रमा व्यापक विकास गरेको, सुशासन कायम गरेको बस्नेतको दाबी थियो । उनले राजनीतिप्रति निराश भएका युवाहरूमा प्रधानमन्त्री ओलीले आश भरेको बताए । 'आइ हेट पोलिटिक्स भन्ने युवा आज आई लभ यू केपी ओली भनिरहेका छन्,' उनले भने ।

रानीपोखरी, धरहरा, सडक, अस्पताल निर्माण गर्दा प्रतिपक्षी दलहरूको टाउको दुखेको बस्नेतको भनाइ थियो ।

प्रकाशित : चैत्र २६, २०७७ १५:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×