कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माओवादी केन्द्रद्वारा लुम्बिनी प्रदेशसभाका दुई सांसदलाई निलम्बन गर्न सिफारिस

अमृता अनमोल

बुटवल — नेकपा (माओवादी केन्द्र) बाट लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई सदस्यको निलम्बन गर्ने प्रक्रिया सुरु भएको छ । संसदीय दल लुम्बिनीले प्रदेशसभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थी दलमा नरहेको जानकारीसहितको पत्र प्रदेश सभामा दर्ता गरेको हो । यसलगत्तै उनीहरु प्रदेशसभाबाट निलम्बन हुने प्रक्रिया सुरु भएको छ  । 

माओवादी केन्द्रद्वारा लुम्बिनी प्रदेशसभाका दुई सांसदलाई निलम्बन गर्न सिफारिस

केन्द्रीय सदस्यसमेत रहेका दधिराम न्यौपाने रुपन्देहीको क्षेत्र नम्बर १ को २ र दिनेश पन्थी गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ को २ का प्रत्यक्ष तर्फका सांसद हुन् । एमाले ओली समूहमा लागेका उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीले कारबाही गरेपछि सांसदबाट समेत निलम्बनको प्रक्रिया थालिएको हो ।

माओवादी केन्द्र संसदीय दलका तर्फबाट सचेतक तुलाराम घर्तीले प्रदेशसभा सचिवालयमा न्यौपाने र पन्थी दलमा नरहेको सूचना दर्ता गराएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले बताए । राजनीतिक दलसम्बन्धी दफा ३४ मा दलमा त्याग गर्ने सदस्य सांसद नहुने व्यवस्था छ ।

प्रदेशसभाले अब प्रदेशसभा नियमावली २०७४ को नियम १९० अनुसार उनीहरुलाई निलम्बन गर्ने प्रक्रिया थाल्ने सचिव पुन मगरले बताए । निवेदन सोमबार बस्ने प्रदेशसभा बैठकमा पेस गर्ने कार्यसूची रहेको पनि उनले बताए । ८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका तर्फबाट २० सदस्य रहेका थिए । न्यौपाने र पन्थी ओली गुटमा लागेपछि चैत ११ गते यी दुई सदस्यलाई माओवादी केन्द्र संसदीय दल लुम्बिनीले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ नपाएपछि चैत १३ मा बसेको बैठकले कारबाही गरी सदरका लागि केन्द्रीय कमिटिमा पठाएको थियो ।

केन्द्रीय कमिटीको सुझावअनुसार अध्यक्ष पुष्पकमल दाहालले आइतबार उनीहरुको कारबाही सदर गरेका छन् । अध्यक्षले कारबाही पत्र सदर गरेलगत्तै संसदीय दल लुम्बिनीले आज दुई सदस्यलाई कारबाही गरेको सूचना प्रदेशसभामा दर्ता गराएको हो ।

प्रकाशित : चैत्र २२, २०७७ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?