सीमा क्षेत्रबाट प्रवेश गरेकालाई अनिवार्य आइसोलेसनमा राख्‍न स्वास्थ्य मन्त्रालयको निर्देशन- समाचार - कान्तिपुर समाचार

सीमा क्षेत्रबाट प्रवेश गरेकालाई अनिवार्य आइसोलेसनमा राख्‍न स्वास्थ्य मन्त्रालयको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमावर्ती क्षेत्रबाट प्रवेश गरेकाहरुलाई अनिवार्य १० दिन आइसोलेसनमा राख्‍न निर्देशन दिएको छ । 

भारतीय सीमा क्षेत्रमा कोरोना पोजिटिभ भएकाहरु सार्वजनिक बसमा नै यात्रा गरिरहेको पाइएको भन्दै स्वास्थ्य मन्त्रालयले सबै प्रदेशका स्वास्थ्य निकायहरुलाई आइसोलेसन व्यवस्थापनका लागि निर्देशन दिएको हो । सबै प्रदेशका सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वस्थ्य कार्यालयहरुको समन्वयमा कोरोनाको लक्षण वा चिन्ह भएकालाई अस्पतालमा र लक्षण नभएकालाई आइसोलेसनको व्यवस्था गरी १० दिन अनिवार्य रुपमा राख्न सोमबार सूचना जारी गरेको छ ।

मन्त्रालयले आइसोलेसन सेन्टरमा राखेबापतको प्रतिदिन प्रतिबिरामी दुई हजार सोधभर्ना उपलब्ध गराउने बताएको छ ।



प्रकाशित : चैत्र १६, २०७७ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्

तनहुँको भिमाद नगरपालिकाका विद्यालय खुला रहने

सम्झना रसाइली

तनहुँ — वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण केन्द्र सरकारले यही चैत २० गते शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरे पनि यहाँको भिमाद नगरपालिकाले भने नगरक्षेत्रभित्रका विद्यालयमा नियमित पठनपाठन जारी रहने जनाएको छ ।

नगरपालिकामा हालसम्म वातावरणीय असहज अवस्था नरहेको हुँदा विद्यालयहरु नियमित सञ्चालन गरिने नगर प्रमुख मेखबहादुर थापाले बताए । उनले भने, ‘मौसम विज्ञहरुअनुसार काठमाडौं र लुम्बिनी क्षेत्रमा बढी तुवाँलोको प्रभाव देखिएको छ तर हाम्रो क्षेत्रमा वनजंगलका हरियालीका कारण मौसम प्रतिकूलताको ठूलो प्रभाव नदेखिएकोले विद्यालयमा नियमित पठनपाठन गराउने भएका हौं ।’

कोरोना संक्रमणका कारण नियामित पठनपाठन हुन नसक्दा विद्यार्थीको सिकाई अवरुद्ध भएको हुँदा विद्यालयभित्रै स्वास्थ्य सुरक्षाका मापदण्ड अप्नाएर सहजीकरण गर्ने भनेर शिक्षालाई निरन्तरता दिन विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरिएको उनले बताए । वातावरण प्रतिकूल भएर स्वास्थ्यमा समस्या देखिन थाले सरकारको निर्णयअनुसार विद्यालय बन्द गरिने नगरप्रमुख थापाले बताएका छन् ।


प्रकाशित : चैत्र १६, २०७७ १८:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×