वायु प्रदूषण बढेपछि मंगलबारदेखि ४ दिन देशभरका सम्पूर्ण शिक्षण संस्था बिदा

सुदीप कैनी

काठमाडौँ — शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले मंगलबारदेखि ४ दिन देशभरका सम्पूर्ण शिक्षण संस्थामा बिदा दिने निर्णय गरेको छ । 

पछिल्लो समय देशभर वायु प्रदूषण बढेकाले विद्यार्थीको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै सरकारले ४ दिन विद्यालय बिदा दिने निर्णय गरेको शिक्षा मन्त्रालयका सचिव सञ्‍जय शर्माले जानकारी दिए । सरकारको निर्णयपछि चैत १७, १८, १९, २० गते शिक्षण संस्था बन्द हुनेछ । पूर्वनिर्धारित परीक्षाहरू भने यथावत सञ्‍चालन हुने बैठकले निर्णय गरेको छ ।

चैत २१ गते भने शनिबार परेकाले अब आइतबार मात्रै शिक्षण संस्था खुल्नेछन् । प्रदूषण नघटे अरु केही दिन विद्यालय बन्द गर्ने बारेमा पनि बैठकमा छलफल भएको थियो ।


शुक्रबारदेखि काठमाडौंसहित देशभरको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) अत्यधिक बढेको छ । वातावरण विभागअन्तर्गतको वायु गुणस्तर मापन केन्द्रले पनि एक्यूआईले जोखिमको तह नाघेको देखाएका छन् ।

शुक्रबार काठमाडौं उपत्यकाको वायुको गुणस्तर सूचकांक ४७० सम्म पुगेको थियो । विश्व स्वास्थ्य संगठनले एक्यूआई ३०० भन्दा बढी हुनुलाई ‘घातक’ भनेको छ ।

प्रकाशित : चैत्र १६, २०७७ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्

चार सयको बीउ, एक लाखको साग

कान्तिपुर संवाददाता

धनकुटा — ६ रोपनी क्षेत्रफल भएको टाहार बारीमा रायोको साग भरिएको छ । छथर जोरपाटी गाउँपालिका–६ मझुवाकी नेत्रकुमारी विष्टलाई सागको मुठा बाँध्दै डोकोमा राखेर बिक्रीको तयारी गर्न भ्याइनभ्याइ छ । उनले महिना दिनमा १ लाख रुपैयाँको साग बेचिसकिन् । ४ सयको बीउबाट उनले यति आम्दानी हात पारेकी हुन् ।

माघ दोस्रो सातादेखि बेच्न थालेकी विष्टले सुरुमा मुठाको २ रुपैयाँका दरले नै १ हजार ८ सय मुठा साग बेचेको सुनाइन् । सोचेभन्दा उल्लेख्य उत्पादन भएकाले कम मूल्यमा बेच्नुपरेको उनको भनाइ छ ।

‘अन्य तरकारीको दाँजोमा रायोको सागबाट बर्सेनि राम्रै आम्दानी हुन्छ,’ उनले भनिन्, ‘असिनाले क्षति नपुगेको भए आम्दानी अझ बढ्थ्यो ।’ सुरुमा २ रुपैयाँ मुठा बेचे पनि पछिल्लो महिनामा प्रतिमुठा ६ रुपैयाँमा बिक्री गरेको विष्ट बताउँछिन् । उनी जस्तै छिमेकी दुर्गाबहादुर थापाले पनि १ लाख रुपैयाँभन्दा बढीको साग बेचे ।

दुई सातापहिले असिनाले साग बालीमा सामान्य क्षति पुर्‍याए पनि अत्यधिक माग बढेकाले मनग्गे आम्दानी भएको उनको भनाइ छ । किसान दलबहादुर थापाले पनि ५० हजारभन्दा बढीको साग बेचेको बताए । मझुवा गाउँबाट यस वर्ष हालसम्म कम्तीमा १० लाखको रायोको साग बिक्री भइसकेको किसानले जानकारी दिए ।

छथर जोरपाटी गाउँपालिका–१ स्थित फलाटे गाउँबाटै यस वर्ष २५ लाख रुपैयाँको साग बिक्री भएको छ । २५ घर रहेको उक्त गाउँका प्रायः बासिन्दा तरकारी खेतीमा निर्भर छन् ।

सागबाट मात्रै औसत प्रतिघर १ लाखभन्दा बढी आम्दानी हुने गरेको स्थानीय युवराज कार्कीले बताए । कार्कीले तीन रोपनी क्षेत्रफलमा रायोको साग लगाएका छन् । यसबाट डेढ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिसकेको उनले जानकारी दिए ।

प्रकाशित : चैत्र १६, २०७७ १४:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×