टिकट काटे, फर्कन पाएनन्- समाचार - कान्तिपुर समाचार

टिकट काटे, फर्कन पाएनन्

कमाउन गएका छोराको शव कुर्दै परिवार
हरिराम उप्रेती

गोरखा — वैदेशिक रोजगारीमा मलेसिया पुगेका छोराको मृत्यु भएपछि तीन सातायता गोरखा नगरपालिका–१२ नयाँगाउँकी ५२ वर्षीया तिलमाया कुँवरका आँखा ओभाएका छैनन् ।

कमाउन गएका छोराको विदेशमै मृत्यु भएपछि शवको पर्खाइमा तिलमाया कुँवर

कमाउन गएको छोराको शव कुरेर बसेको पनि तीन साता भयो तर कहिलेसम्म शव आइपुग्छ, उनलाई थाहा छैन । घर फर्कन हवाई टिकट लिएका छोराको मृत्युको खबरसँगै परिवारमा सन्नाटा छाएको छ ।

२०७५ वैशाखमा मलेसियास्थित जोहोरबारु पुगेका २८ वर्षीय मेघबहादुर कुँवरले गत वर्ष लकडाउन सुरु भएदेखि नै स्वदेश फर्कने प्रयास थालेका थिए । परिवारका अनुसार कम्पनीले बिदा नदिएपछि उनी उतै रोकिए । स्वास्थ्य समस्या भएर स्वदेश फर्कने निधोमा पुगेका मेघबहादुरले गत फागुन २३ मा हवाई टिकट लिएर परिवारमा जानकारीसमेत गराएका थिए । त्यसपछि परिवार खुसी पनि भयो । तर ‘छिट्टै आउँछु’ भनेका उनी फर्किन पाएनन् ।

स्वदेश फर्कने तरखर गरिरहेका उनी स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भए । फागुन २१ मा उनको उपचारका क्रममा निधन भयो । ‘छोरो आउने खबरले खुसी थिएँ, पछि दम बढेछ, अस्पताल लगेपछि बिसेक हुन्छ, राम्रो खबर सुन्न पाइन्छ भनेको त

यस्तो भयो,’ तिलमायाले भनिन् । उनका अनुसार पछिल्लो पटकको फोन संवादमा मेघबहादुरले श्वासप्रश्वास र हातखुट्टा झमझमाउने समस्या देखिएको बताएका थिए ।

मेघबहादुर तिलमायाका एक्ला छोरा हुन् । चार छोरीको विवाह भइसकेको छ । ‘एउटै छोरा पनि गुमाएँ, अहिले केही सोच्न र गर्न सकेको छैन,’ तिलमायाले भनिन्, ‘सबैले नयाँ घर बनाए, हामी पनि बनाउनुपर्छ भनेर उसैको जोडबलले नवलपुरमा घर बन्दै थियो, घरको ढलान पनि भर्खर सकिएको छ तर उसैले देख्न पाएन ।’

मेघबहादुर २०७१ सालमा विवाह बन्धनमा बाँधिएका थिए । उनी मलेसिया उडेपछि जन्मिएकी छोरी २ वर्ष पुगिन् । प्रत्यक्ष नभेटे पनि मेघबहादुर दैनिकजसो भिडियो कलमा छोरीसँग कुराकानी गर्थे । ‘अहिले अरू आफन्तको फोन आउँदा पनि छोरी बाबा, बाबा... भन्दै मोबाइल तान्न आउँछिन्,’ मेघबहादुरकी श्रीमती हीरामाया सारू कुँवरले सुनाइन् ।

बिरामी हुँदा पनि घर फर्किन नदिएको कम्पनीले उनको उपचारमा समेत ध्यान नदिएको मेघबहादुरका भिनाजु नाता पर्ने नारायण कुँवरको आरोप छ । उनको शव छिटो नेपाल ल्याएर अन्त्येष्टि गर्ने परिवारको माग छ । रोजगारीको सिलसिलामा हाल मलेसिया रहेका उनका साथी रामकृष्ण खड्काले शव नेपाल ल्याउन व्यक्तिगत र कानुनी झन्झट नरहेको कान्तिपुरसँगको कुराकानीमा बताए । ‘एयरलाइन्स उपलब्ध नभएर ढिला भएको छ, २५ तारिखमा पठाउने भनेको स्थगित भयो, हाम्रोतर्फबाट सक्ने पहल गरिरहेका छौं,’ उनले भने, ‘प्लेन चार्टर गरेर पठाउन रकम बढी लाग्छ, नियमित एयरलाइन्समा पठाउँदा केही समय लाग्ने भयो ।’

गैरनेपाली आवासीय संघ (एनआरएनए) मलेसियासँग पनि शव पठाउन समन्वय भइरहेको उनले बताए । निमोनियाका कारण फोक्सोमा पानी जमेर मृत्यु भएको बुझिन आएको उनले सुनाए । उनका अनुसार पोस्टमार्टम रिपोर्ट अस्पतालले

उपलब्ध गराएको छैन । ‘अस्पतालले शव र पोस्टमार्टम रिपोर्ट एकसाथ पठाउने गरेको बुझिएको छ,’ उनले भने । शव जोहोरबारु हेल्थ डिपार्टमेन्टमा राखिएको छ ।

प्रकाशित : चैत्र १५, २०७७ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौँको तुवाँलो अझै केही दिन रहने

रासस

काठमाडौँ — शुक्रबारदेखि काठमाडौँ उपत्यकाको आकाश एक्कासि बाक्लो तुवाँलाले ढाकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै हावा नचलेका कारण त्यसैबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको छ । 

स्थिर रहेको वायुमण्डल आगामी दुई–तीन दिनसम्म सुधार हुने सम्भावना कम रहेको मौसमविद् विभूति पोखरेलले बताइन् । उनका अनुसार पछिल्लो समय अधिकांश जिल्लामा डढेलो लागिरहेको, लामो समय पानी नपरेको र हावा नचलेका कारण वायुप्रदूषण बढेको हो । प्रदूषित वायुमण्डल सफा हुन कि त वर्षा हुनुपर्छ वा हावा चल्नुपर्छ अहिले त्यो भएको छैन । धेरै किसिमको प्रदूषण मिसिएका कारणले सर्वसाधारणले आँखा पोलेको महसुस गरेका छन् ।

यसबाट हुने प्रदूषणका कारण स्वास्थ्यमा पर्ने नकारात्मक असर आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या आदिबाट बच्न आवश्यक कार्यबाहेक घर बाहिर ननिस्किन र निस्किनुपरे मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही अपराह्नपश्चात् देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित फाट्टफुट्ट वा हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव छ डिग्री र अधिकतम तापक्रम २६ दशमलव चार डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम एक दशमलव नौ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित : चैत्र १५, २०७७ १२:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×