२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन 

काठमाडौँ — कांग्रेस नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई नर्भिक अस्पतालमा उपचारका क्रममा नेता जोशीको शुक्रबार राति ८ बजेर २४ मिनेटमा निधन भएको अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिए । उनलाई भेन्टिलेटरको सहायतामा उपचार गराइएको थियो । 

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन 

मस्तिष्कघात भई फागुन १४ गते नर्भिक अस्पताल भर्ना भएका जोशीको शुक्रबार बिहानदेखि मुटुले काम गर्न छोडेको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको थियो । पूर्व उद्योगमन्त्रीसमेत रहेका नेता जोशी काठमाडौंमा लोकप्रिय नेता थिए । ५७ वर्षीय जोशीकै पहलमा नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको थियो ।

विसं २०१९ असार ३ गते काठमाडौंमा जन्मिएका नेता जोशी काठमाडौं क्षेत्र नं. ८ बाट २०७० सालमा तत्कालीन संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । उनी उनी कांग्रेसका केन्द्रीय सदस्यसमेत थिए ।

पूर्वसभासद जोशी २०३६ सालबाट विद्यार्थीकालबाटै राजनीतिमा लागेका थिए । उनले राजनीतिक यात्राका क्रममा पटक-पटक पक्राउ परी हिरासतमा बसेका थिए ।

यसैबीच, नेता जोशीको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले दु:ख व्यक्त गरेका छन् । सभापति देउवाले सामाजिक सञ्‍जाल फेसबुकमार्फत श्रद्धाञ्जली दिँदै आफू मर्माहत भएको जनाएका छन् ।

देउवाले लेखेका छन्- 'नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नवीन्द्रराज जोशीको असमायिक निधनको खबरले निकै मर्माहित भएको छु । जोशीजीको निधनले कांग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै यस दुःखद् घडीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।'

यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिकमात्र नभएर उच्च सामाजिक भावना भएका नेता जोशीलाई गुमाउँदा आफू पीडा सहन नसक्ने अवस्थामा रहेको बताएका छन् । उनले सामाजिक सञ्‍जालमा लेखेका छन्, 'आम जनताका ढुकढुकी लोकप्रिय नेता जोशीको निधनको खबरले मलाई मर्माहत बनाएको छ । नेपाली कांग्रेसका भरोसा योग्य नेता जोशी राजनीतिक मात्र नभएर उच्च सामाजिक भावना भएका नेता गुमाउँदा म पीडा सहन नसक्ने अवस्थामा छु । यो दुखको घडीमा प्रिय नविन्द्रप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।'

नर्भिक अस्पतालद्वारा जारी विज्ञप्ति

प्रकाशित : चैत्र १३, २०७७ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?