कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

खोर भत्काएर भाग्यो बाघ

निकुञ्ज आसपासको बस्तीमा त्रास, बाँकेको खोर मर्मत गरिएको थिएन 
कमल पन्थी

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएर बाँके निकुञ्जस्थित खोरमा थुनेको बाघ भागेको छ । गत चैत ५ गते नियन्त्रणमा लिई बाँके निकुञ्जको खैरी पोस्टको टाइगर होल्डिङ सेन्टर (उद्धार केन्द्र) मा थुनिएको बाघ मंगलबार बिहान फलामे डन्डी भाँचेर भागेको हो । 

खोर भत्काएर भाग्यो बाघ

बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम साहका अनुसार फलामे डन्डीसहितको खोर भत्काएर बाघ उत्तरतर्फ भागेको छ । उद्धार केन्द्रमा बाघ अनुगमनका लागि दुईवटा सीसी क्यामेरा राखिएको थियो । सीसी क्यामेराको फुटेजबाट बाघ भागेको जानकारी पाएपछि खोजी गरे पनि नभेटिएको उनले बताए । २०७४ मा बाघ थुन्ने फलामे खोर निर्माण भएको थियो । पहिलोपटक बर्दियाबाट ल्याइएको बाघ उक्त खोरमा थुनिएको थियो । खोरको अवस्था नै नबुझेर बाघलाई थुनिएको निकुञ्जका कर्मचारीले बताए । मर्मतसम्भार नहुँदा खोर थोत्रो भइसकेको थियो ।

सोमबार दिउँसो पशु चिकित्सकले बाघको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो । दिउँसो दिइएको आहारा पनि बाघले खाएको प्रमुख संरक्षण अधिकृत साहले बताए । वयस्क बाघ खोरबाट भागेपछि निकुञ्ज आसपासका बस्तीका बासिन्दा आतंकित छन् । वन्यजन्तु विशेषज्ञ डा. नरेश सुवेदीले सर्वसाधारणलाई जंगलमा नजान आग्रह गरेको बताए । ‘बाघलाई नियन्त्रणमा लिन राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली परिचालित भएको छ,’ उनले भने, ‘बाघ प्राकृतिक बासस्थानतर्फ गएकाले फर्केर गाउँबस्तीमा पस्ने सम्भावना कम छ ।’ बर्दियाको मधुवन नगरपालिका–३ गौरी सामुदायिक वनबाट डार्ट गरी उक्त पाटेबाघलाई बाँके निकुञ्जको खोरमा ल्याइएको थियो ।

मधुवन–३ खाता जैविक मार्गमा यस वर्ष बाघको आक्रमणमा ६ जनाको मृत्यु भएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली खटिएको थियो । नरभक्षी बाघलाई खोज्ने क्रममा उक्त भालेलाई टोलीले नियन्त्रणमा लिएको थियो । तर मान्छे मार्न पल्केको बाघ त्यही नै हो भन्ने पुष्टि भने भएको थिएन । बेहोस बनाउन सुई दिएर नियन्त्रणमा लिइएको उक्त बाघको अगाडिका खुट्टाका नंग्रा थिएनन् । उक्त बाघले मधुवन आसपास क्षेत्रका किसानको घरपालुवा पशुचौपाया मारेको भने पुष्टि भएको थियो । बर्दियामा बाघले दुई वर्षयता १७ र बाँकेमा २ गरी १९ जनाको ज्यान लिइसकेको छ ।

बर्दिया निकुञ्जमा बाघ थुन्ने खोर एउटै छ । उक्त खोरमा गत कात्तिक महिनामा गेरुवा गाउँपालिकाको मध्यवर्ती क्षेत्रबाट नियन्त्रणमा लिइएको भाले बाघलाई थुनिएको छ । बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले भाले बाघहरूलाई एउटै खोरमा राख्दा आपसमा जुधेर घाइते हुने र मर्ने जोखिम हुने बताए । यस वर्ष तीनवटा भाले बाघ नियन्त्रणमा लिइएको छ । करिब साताअघि गेरवामा समातिएको भाले पाटेबाघ खोरको अभावमा निकुञ्जको उद्धार केन्द्र रम्मापुरमा राखिएको छ । खोर नपुगेकाले जैविकमार्गबाट नियन्त्रणमा लिएको एउटा बाघ बाँके निकुञ्जमा पठाइएको थियो ।

बाघ भागेको घटना छानबिन गरी दोषीमाथि कडा कारबाही हुनुपर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । ‘घटनाका सम्बन्धमा बेलुकीसम्म निकुञ्जले जानकारी दिएको छैन,’ उनले भने, ‘यो गम्भीर लापरबाही हो ।’ यसैबीच बाँकेस्थित पूर्व–पश्चिम राजमार्गको कोहलपुरदेखि बाँकेसँग सीमा जोडिएको दाङको सिमानासम्म सुरक्षा व्यवस्था कडा पारिएको छ । बाँके निकुञ्जस्थित राजमार्गमा दुईपांग्रे सवारीसाधन एक्लाएक्लैको साटो समूहमा मात्रै चलाउन दिइएको छ ।

बाघभन्दा भोकको डर

बर्दियाको मधुवन–३ का ६२ वर्षीय धनबहादुर बुढाको खेतीबाहेक आम्दानीको अर्को स्रोत छैन ।

खेतीपातीका लागि पाँच कट्ठा जमिन छ । हात्तीले बर्सेनि बाली सखाप पार्न थालेपछि आजित थिए । अन्न बाली लगाउन छाडेर निजी वन हुर्काए । हुर्किएको आफ्नै वन यतिबेला उनका लागि ज्यानको जोखिम बनेको छ ।

वन आसपास आएर बाघ बस्न थालेपछि उनीसँगै गाउँले त्रासमा छन् । बाघ बस्तीमा आएर आक्रमण गर्न थालेपछि उठीबास हुने अवस्थामा पुगेको उनले बताए । दुई दशकअघि विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) ले खाता क्षेत्रका सामुदायिक वनलाई जैविकमार्ग बनाइएको थियो । नेपालसँग सीमा जोडिएको भारतको कतरियाघाट वन्यजन्तु आरक्ष जोड्ने यो मार्ग भएर अहिले वन्यजन्तु ओहोरदोहोर गर्छन् ।

‘वन संरक्षणमा तनमन लगाएर सहयोग गरियो । वन्यजन्तु कोषले स्थानीय बासिन्दालाई आयआर्जनका लागि सक्दो सहयोग गर्ने बचन दिए पनि सहयोग त परैको कुरा अहिले बाघले मानिस खाँदा फर्केर सोध्न कोही आएनन्,’ उनले गुनासो पोखे । उनीजस्तै यहाँका अधिकांश बासिन्दाको नाममा पाँच कट्ठाका दरले जग्गा छ । चारैतिर जंगलले घेरिएको बस्तीमा आयआर्जन भनेको बस्तुभाउ पालेर बेच्दा हुने हो । स्थानीय रूपा खनालले बस्तुभाउ पालेकाले बाध्य भई जंगल जानुपरेको बताइन् । ‘घाँस–दाउरा गर्न नपसी हुँदैन, अब वन पस्नै डर छ,’ उनले भनिन् ‘पहिले–पहिले हात्ती र चित्तलले अन्नबाली सखाप पारे, अहिले बाघले मान्छे नै मार्न थाल्यो ।’

वनसँगैको सुकुम्बासी बस्तीमा ६० घरधुरी छन् । अधिकांशको खेतीपातीबाहेक गुजाराको विकल्प छैन । वन्यजन्तु जोगाउन ठूलो धनराशि खर्च गरिए पनि मानिसको जीउज्यान र बालीनाली क्षति हुँदा ती सरकार र संरक्षणकर्मीका संस्थाले चासो नदिएको गुनासो स्थानीयको छ । खाताका संरक्षणकर्मी कुलराज बुढाले वन्यजन्तुको व्यवस्थापन र मानिसको सुरक्षामा सम्बन्धित निकायले काम नगर्दा यस क्षेत्रमा स्थानीय बासिन्दालाई वन्यजन्तुका कारण संकट बढेको बताए ।

मान्छे र बस्तुभाउ मार्न थालेपछि हालै राष्ट्रिय निकुञ्जले यहाँबाट एउटा बाघ नियन्त्रणमा लिएको थियो । त्यसपछि पनि स्थानीयवासी ढुक्क छैनन् । कोठियाघाटमा सोमबार पनि बाघ ओहोरदोहोर गरेको देखिएको उनीहरूले बताएका छन् । सामुदायिक वन महासंघका सचिवालय सदस्य मोहम्मद कर खाँले यहाँका बासिन्दा बाघबाट ढुक्क हुने अवस्था नरहेको बताए । ‘वन्यजन्तुको व्यवस्थापन र स्थानीयको आयआर्जनका लागि उचित प्रबन्ध नभएसम्म संरक्षणका काम दिगो हुन सक्दैन,’ उनले भने, ‘ती दुवै कुरासँगै मानिसको सुरक्षाको ग्यारेन्टी हुनुपर्छ ।’

बाघले मान्छेमाथि आक्रमणका घटना बढेपछि खाता जैविकमार्ग क्षेत्रमा विद्युतीय तारबार लगाउन सर्भेको काम सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारको करिब २५ लाखको सहयोगमा खाता जैविकमार्गको भगरैया, कोठियाघाट, धनौरालगायत ठाउँमा विद्युतीय तारबार लगाउने तयारी गरेको जिल्ला वन कार्यालयले जनाएको छ । खाता जैविकमार्गस्थित वन कार्यालयका सहायक वन अधिकृत सन्तोष चौधरीले १ किमि ८ सय मिटरमा तारबार लगाउने योजना रहेको बताए ।

गेरुवा गाउँपालिका र बर्दिया निकुञ्जले बाघको आतंक रोक्न १६ किमि क्षेत्रमा विद्युतीय तारबार लगाउने बताएका छन् । गेरुवाको एक करोड ८० लाख र निकुञ्जको ४१ लाख रुपैयाँ सहयोगमा तारबार गरिने प्रमुख प्रशासकीय अधिकृत काशीप्रसाद पंगेनीले बताए । आगामी असार महिनाभित्र तारबारको काम पूरा गर्ने लक्ष्य छ ।

प्रकाशित : चैत्र ११, २०७७ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?