सानो भ्यागुतो, ठूलो महत्त्व- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सानो भ्यागुतो, ठूलो महत्त्व

५७ जिल्लामा भेटिए २० प्रजातिका भ्यागुता
गोविन्द पोखरेल

काठमाडौँ — सिन्धुलीकी रविना श्रेष्ठलाई संरक्षण अभियान भन्नेबित्तिकै ठूल्ठूला जीवको मात्र हुन्छ भन्ने लाग्थ्यो । स–साना जीवतिर चासै थिएन । यस्तैमा भ्यागुता पनि संरक्षणीय जीव हो भन्दा उनलाई सुरुमा पत्यारै लागेन । तर जब इकोसिस्टममा यो उभयचरको महत्त्वबारे थाहा पाइन्, यसबाट छुट्टिनै नसकिने गरी जोडिइन् । हिजोआज उनी भ्यागुता संरक्षणमा यति दत्तचित्त छिन् कि टोले भाइबहिनीहरूले उनलाई चिन्ने नामै बनेको छ– ‘भ्यागुता दिदी ।’

श्रेष्ठ भन्छिन्, ‘लकडाउनका बेला म वरिपरिका भाइबहिनीलाई लिएर भ्यागुताको फोटो खिच्न र यसबारे जानकारी दिन गाउँ जान्थें । गाउँमा कसैले भ्यागुता देख्नेबित्तिकै मलाई सुनाउने र फोटो खिचेर दिन थाले । अनि हुँदाहुँदा अहिले मलाई नै ‘भ्यागुता दिदी’ भनेर भाइबहिनीहरु बोलाउने गर्छन् । ’

त्रिचन्द्र कलेजबाट बीएस्सी चौथो वर्षको परीक्षा दिएकी उनले ‘कमन टोड’ प्रजातिको भ्यागुता धेरै फेला पारेको बताइन् ।

बैतडीका महेश अवस्थी पनि भ्यागुतालाई खासै चासो दिँदैनथे । घरमा देख्ने बित्तिकै मार्ने/खेदाउने गर्थे । ‘जब यसका बारेमा थाहा पाएँ, संरक्षणमा लागेको छु,’ उनले भने, ‘मेरो गाउँमा कसैले भ्यागुता देख्नेबित्तिकै फोटो खिचेर मलाई जानकारी दिन्छन् ।’

विश्व भ्यागुता दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा श्रेष्ठ र अवस्थीजस्ता धेरै युवाले भ्यागुतासम्बन्धी आफ्ना अनुभव सुनाए । एक वर्षयता उनीहरूजस्ता धेरै युवा भ्यागुताको खोजी र संरक्षण अभियानमा जुटेका छन् । जैविक विविधतासम्बन्धी अध्ययन/अनुसन्धान गर्दै आएका क्यारोन, इन्प्रोक्स, डब्लूसीएन र गोल्डेन गेट कलेजले यसको अवसर युवालाई जुटाइदिएका हुन् । भ्यागुताको खोजीका लागि सुरु गरिएको ‘क्रोकिङ मनसुन’ अभियान मार्फत युवा पुस्ता भ्यागुतासँग जोडिएका छन् ।

भ्यागुतालाई मानिसहरूले खासै चासो नदिए पनि यसको भूमिका महत्त्वपूर्ण रहेको यसका अनुसन्धानकर्ता प्रकाशचन्द्र अर्याल बताउँछन् । उनी भन्छन्, ‘हामीले संरक्षण भनेर ठूला जीवलाई मात्रै चासो दिएका छौं तर साना जीवको भूमिका पनि महत्वपूर्ण हुन्छ । पारिस्थितिक प्रणालीमा भ्यागुताले महत्त्वपूर्ण भूमिका खेल्छ ।’ भ्यागुताले किरा, फट्यांग्रा खाइदिने, लामखुट्टेको नियन्त्रण र खाद्य चक्रमा यसको विशेष स्थान हुने भएकाले भ्यागुता महत्त्वपूर्ण उभयचर रहेको उनले सुनाए ।

क्रोकिङ मनसुन अभियानमार्फत सुरु गरिएको भ्यागुताको खोजी अभियानमार्फत यस वर्ष ५७ जिल्लामा २० प्रजातिका भ्यागुता भेटिएको इन्प्रोक्सका अनुसन्धानकर्ता विशाल शर्माले बताए । ‘यो संख्या भनेको नेपालमा पाइने भनिएका भ्यागुताको एक तिहाइ हो,’ शर्माले भने । नेपालमा ५५ प्रजातिका भ्यागुता पाइने गरेको उनले सुनाए ।

सबैभन्दा बढी खस्रो प्रजातिको भ्यागुता भेटिएको छ । यो भ्यागुता विशेष गरी सुक्खा ठाउँमा र मानव बस्तीनजिकै बस्ने अनुसन्धाताका भनाइ छ । खस्रो भ्यागुता प्रजातिपछि सबैभन्दा बढी सिर्के पाहा भ्यागुता भेटिएको छ ।

सन् २०२०को क्रोकिङ मनसुन अभियानमा थोरै जिल्लामा मात्र पाइने भनिएका भ्यागुता अन्य जिल्लामा पनि भेटिएका छन् । ‘बरोइंग फ्रग’ भनिने भ्यागुताको प्रजाति तराई र मध्यपहाडीका विभिन्न जिल्लामा भेटिएको इन्प्रोक्सका अनुसन्धाता चन्द्रमणि अर्यालले बताए । ‘नेपालको सन्दर्भमा केही अध्ययन नभएका भ्यागुता पनि यसपटक भेटिए । तराईमा रेकर्ड भएको बरोङंग फ्रग अन्य जिल्लामा पनि भेटिएको छ । यसबाट हामी उत्साही छौं,’ उनले भने ।

नागरिक वैज्ञानिक अवधारणाअनुसार सुरु गरिएको यो अभियानमा धेरै मानिसहरू जोडिएको र अहिले नेपालका भ्यागुताको अवस्थाबारे अध्ययन गर्न थप सजिलो भएको अनुसन्धाता सन्देश न्यौपानेले बताए । सन् २०२१ बाट सम्बन्धित ठाउँमा गएर वासस्थानसमेत अध्ययन गर्ने योजना रहेको उनले जनाए ।

पछिल्लो समय विकास निर्माण तथा सडक सञ्जाल विस्तारका कारण भ्यागुताहरूलाई खतरा बढ्दै गएको छ ।

हर्पिटोलोजिस्टसमेत रहेका प्राध्यापक करनकुमार शाहका अनुसार एउटा वयष्क भ्यागुताले १० हजारवटा किरा–फट्यांग्रा खाएर पारिस्थितक प्रणाली सन्तुलनमा राख्न मद्दत गर्छ । उनी भन्छन्, ‘उभयचरहरू गाई–प्राणी हुन् । यिनले कसैलाई पनि हानि गर्दैनन् बरु उल्टै वातावरणलाई फाइदा पुर्‍याएका छन् ।’ नेपालका भ्यागुताहरू कृषि तथा रासायनिक प्रदूषण, पानीको स्रोत मासिनु र जलवायु परिवर्तनका कारण घट्दै गइरहेको अनुसन्धाताहरूको बुझाइ छ । मानव बस्तीआसपास बस्ने भ्यागुता दुर्घटनाका कारण पनि मर्ने गरेका छन् । कतिपय प्रजातिलाई मानिसहरूले मारेर खाने गरेकाले यसको संरक्षणमा चुनौती थपिएको विज्ञहरुको भनाइ छ ।

प्रकाशित : चैत्र ८, २०७७ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्

सोमबारदेखि राष्ट्रपतिको बंगलादेश भ्रमण : ऊर्जा, पारवहन र आर्थिक सहकार्यमा जोड 

जगदीश्वर पाण्डे

काठमाडौँ — सन् १९७२ को अप्रिल ८ मा कूटनीतिक सम्बन्ध स्थापना गर्दै बंगलादेशलाई नयाँ मुलुकको मान्यता दिने नेपाल विश्वकै सातौं राष्ट्र थियो । तर अहिले त्यही बंगलादेश नेपाललाई नै आर्थिक र औद्योगिक क्षेत्रमा पछि पार्दै दक्षिण एसियामा एक आर्थिक रुपमा शक्तिशाली मुलुक बन्ने लक्ष्यका साथ अघि बढिरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमणका क्रममा पर्यटन, संस्कृति आदानप्रदान, स्यानेटरी र फाइटो स्यानेटरी तथा रोहनपुरदेखि सिंहबादसम्म ‘ट्रान्जिट रुट’ का रूपमा प्रयोगमा सहकार्य गर्न दुई मुलुकबीच सम्झौता हुने भएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यी सम्झौता सोमबार बेलुकी बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको सरकारी निवास बंग भवनमा हुने गरी कार्यक्रम तय भइसकेको छ ।

राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति हमिदको निमन्त्रणा र बंगलादेशका राष्ट्रिय पिता बंगलाबन्धुको सयौं जन्मजयन्तीका अवसर पारेर बंगलादेश जान लागेकी हुन् । बंगलाबन्धु त्यहाँकी प्रधानमन्त्री शेख हसिनाका पिता हुन् । नेपालको राष्ट्राध्यक्षबाट ४२ वर्षपछि बंगलादेशको राजकीय भ्रमण हुन लागेको हो । तत्कालीन राजा वीरेन्द्र शाहले सन् १९७८ मा बंगलादेशको द्विपक्षीय भ्रमण गरेपछि राष्ट्राध्यक्षका रूपमा नेपालबाट भ्रमण भएको छैन । सन् २०१९ को अन्त्यमा बंगलादेशका राष्ट्रपति अब्दुल हमिल नेपाल आएका थिए । ‘यो भ्रमणबाट नेपाल र बंगलादेशको मैत्री सम्बन्धलाई अझ बलियो बनाउन थप मद्दत पुग्ने विश्वास छ,’ राष्ट्रपतिका प्रेस विज्ञ तथा भ्रमण दलका एक सदस्य टीका ढकालले भने ।

सोमबार बिहान बंगलादेश प्रस्थान गर्ने राष्ट्रपति भण्डारीको भ्रमण दलमा २७ सदस्य छन् । टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका साथै परराष्ट्र सचिव भरतराज पौड्याल, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई पनि छन् । भ्रमण दलमा राष्ट्रपति कार्यालयबाट चार जना परेका छन् । अन्य सरकारी अधिकारी र सांस्कृतिक कार्यक्रमका लागि छुट्टै टोली पनि राष्ट्रपतिसँग बंगलादेश उड्ने तय छ ।

नेपाल र बंगलादेशबीचको सम्बन्ध राम्रो रहनुका साथै बंगलादेशले नेपाललाई सधैं राम्रो नजरले हेर्ने गरेको छ । त्यसको मुख्य कारण हो, नेपाल बंगलादेशलाई नयाँ मुलुकका रूपमा मान्यता दिएर कूटनीतिक सम्बन्ध विस्तार गर्ने सातौं मुलुक हो । बंगलादेश पूर्वी पाकिस्तानबाट छुट्टिएर सन् १९७१ मा नयाँ मुलुक बनेको हो । दक्षिण एसियाली क्षेत्रमा बंगलादेशको आर्थिक वृद्धिदर राम्रो छ ।

नजिक भए पनि बंगलादेशसँगको सहकार्यमा धेरै तदारुकता नहुनुको मुख्य कारण लामो समय द्विपक्षीय भ्रमण हुन नसक्नुलाई पनि औंल्याउने गरिएको छ । सन् २०२० फेब्रुअरीमा ज्ञवालीले परराष्ट्रमन्त्रीको हैसियतमा नेपालका तर्फबाट १७ वर्षपछि बंगलादेशको

द्विपक्षीय भ्रमण गरेका थिए । बंगलादेशको नेपालसँग मुख्य जोड ऊर्जा आयातमा छ । त्यसका लागि उसले नेपालसँग सन् २०४० सम्ममा नौ हजार मेगावाट विद्युत् आयात गर्ने लक्ष्य राखिसकेको छ ।

बंगलादेशका लागि नेपालका पूर्वराजदूत मोहनप्रसाद लोहनी दुई मुलुकबीचको सम्बन्ध सुमधुर हुँदै आएको मान्छन् । ‘यो सम्बन्धलाई हामीले थप बलियो बनाउनुपर्छ । जसले गर्दा आपसी सहकार्यबाट थप फाइदा होस्,’ उनले कान्तिपुरसँग भने । पूर्वराजदूत लोहनीले

आफ्नो कार्यकाल (सन् १९८८–९१) मा आफूले बंगलादेशसँग उसको सहकार्य र प्राविधिक सहयोगमा नेपालमा मल उद्योग खोल्न पहल गरे पनि नेपाल सरकारकै कारण अघि बढ्न नसकेको बताए । लोहनी नेपालको बंगलादेशसँग राजनीतिकभन्दा पनि आर्थिक, ऊर्जा, पर्यटन, स्थल र हवाई कनेक्टिभिटी तथा पारवहन सम्बन्धमा सहकार्य हुनुपर्ने बताउँछन् । ‘अहिले भारत र बंगलादेशबीच पनि सम्बन्ध राम्रो छ । त्यसैले नेपालले बंगलादेशसँगको सम्बन्धमा आर्थिक पक्षलाई महत्त्व दिएर अघि बढ्नु उचित हुन्छ,’ उनले भने ।

यस्ता छन् सम्झौता

नेपाल र बंगलादेशबीच सहकार्यको सम्झौतापत्रमा दुई राष्ट्रपतिको उपस्थितिमा सम्बन्धित मन्त्रालयका सचिवहरूले हस्ताक्षर गर्ने कार्यक्रम छ । पहिलो सम्झौता पर्यटनमा सहकार्यबारे छ । जसअन्तर्गत नेपालमा बंगलादेशबाट पर्यटन भित्र्याउन सहिदपुरदेखि विराटनगरसम्मको हवाई सेवा दिने भन्नेछ । अहिले बंगलादेशी पर्यटक नेपाल आउन चाहे पनि सहज छैन । भारतले बंगलादेशीलाई ‘मल्टिपल इन्ट्री भिसा’ दिँदैन ।

त्यसैले उनीहरू भारत हुँदै एक पटक नेपाल आउन पाउँछन् तर नेपाल आइसकेपछि स्थलमार्गबाट भारत जान फेरि भिसा लगाउनुपर्छ । त्यसैले नेपाल र बंगलादेशबीच सिधा हवाई सेवा आवश्यक परेको हो । तर हवाई रुटका लागि चाहिँ नेपालले भारतसँगै सहकार्य गरेर स्वीकृति लिनुपर्ने हुन्छ । पर्यटनमा सहकार्य भए बंगलादेशी सिधै विराटनगरमा आउँछन् ।

नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विराटनगर विमानस्थलमा अध्यागमन लगायतका काम सुरु गरिसकेको एक सरकारी अधिकारीले बताए । विराटनगरलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवधारणामा अघि बढाउने तयारी छ । तर तत्कालका लागि सहिदपुरदेखि विराटनगरबीचको हवाई सम्पर्क हुने र त्यसका लागि आधारभूत पूर्वाधार ६ महिनाभित्रमा तयार पार्ने गरी सम्झौता गर्न लागिएको हो । ‘नेपाली पनि बंगलादेश जान्छन् । तर बंगलादेशमा जनसंख्या बढी भएकाले उतैबाट बढी पर्यटक आउने अनुमान छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘उनीहरूले थोरै खर्चमा नेपाल घुम्न सक्छन् ।’

यस्तै, नेपाल र बंगलादेशका विद्यार्थी र संस्कृतिकर्मीले आपसमा क्षमता र ज्ञान आदानप्रदान गर्ने वातावरण बनाउन अर्को सम्झौता हुन लागेको हो । ‘एकअर्का देशको संस्कृति अध्ययनका लागि सरकारीस्तरबाटै सहयोग उपलब्ध गराउने भन्ने विषयमा यो सम्झौता केन्द्रित छ,’ ती अधिकारीले भने । तेस्रो सम्झौता स्यानेटरी र फाइटो स्यानेटरीमा सहकार्यबारे हो । बोटबिरुवा तथा पशुपन्छीमा लाग्ने रोग पत्ता लगाई त्यसको निवारणका लागि अध्ययन र अनुसन्धानमा सहकार्य गर्ने विषयमा यो सम्झौतामा केन्द्रित छ ।

चौथो सम्झौता रोहनपुरदेखि सिंहबादसम्मलाई ‘ट्रान्जिट रुट’ का रूपमा प्रयोग गर्ने सहकार्यबारे हो । अहिले नेपालले बंगलादेशबाट चटगाउँ र मंगला बन्दरगाह प्रयोग गरिरहेको छ । चटगाउँमा धेरै भीड हुने भएकाले सामान राख्न नेपाली व्यापारीलाई समस्या हुने गरेको छ । बंगलादेशले अहिले चटगाउँभन्दा वर रोहनपुरलाई सामान भण्डार गर्ने स्थान अर्थात् सुक्खा बन्दरगाहका रूपमा विकास गरेको छ ।

रोहनपुरदेखि भारतको पश्चिम बंगालको सिहबादसम्म करिब २ सय ५५ किलोमिटरको रेलमार्ग छ । त्यसलाई ट्रान्जिट रुटका रूपमा नेपालले विकास गर्ने विषयमा सम्झौता हुन लागेको परराष्ट्रका अधिकारीले बताए । त्यो नेपाल–भारत–बंगलादेश त्रिदेशीय सहकार्यसँग सम्बन्धित छ । सम्झौतापछि नेपालले सामान सिंहबादबाट सिलगुडी ल्याएर काँकडभिट्टा हुँदै वा वीरगन्जमा भन्सारमा पनि लान सक्छ । जुन नेपालले अहिले भारतको कोलकाता बन्दरगाहबाट सामान ल्याउन खर्चेको समयभन्दा कम हुन्छ ।

प्रकाशित : चैत्र ८, २०७७ १३:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×