कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

महिला भएर होइन, तीव्र प्रतिस्पर्धा गरेर डेपुटी गर्भनर बनेकी हुँ : नीलम ढुंगाना

काठमाडौँ — नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना तीव्र प्रतिस्पर्धाका बीच आफू उक्त पदमा पुग्न सफल भएको बताएकी छिन् । 

महिला भएर होइन, तीव्र प्रतिस्पर्धा गरेर डेपुटी गर्भनर बनेकी हुँ : नीलम ढुंगाना

कान्तिपुर मिडिया ग्रुपको सहप्रकाशन नारी मासिक पत्रिकाद्वारा आयोजित निर्भीक नारी कार्यक्रमको स्वाभिमानलाई सम्मान सत्रमा निलमले राष्ट्र बैंकको कार्यकारी निर्देशकमा पुगेपछि मात्रै केही हुन्छु भन्ने विश्वास लागेको बताइन् । मेहनतले नै आफूलाई उक्त पदसम्म पुर्‍याएको उनले बताइन् ।

उनले भनिन्, 'रातभरि पढेर भए पनि पीएचडी गरेँ । पहिले डेपुटी गर्भनर हुन्छु भन्ने विश्वास थिएन । पछि कार्यकारीमा पुगेपछि केही हुन्छ भन्ने लाग्यो । आफ्नो मेहनत र इमान्दारिताका कारण नियुक्ति भयो भन्ने लागेको छ ।' उनले अगाडि भनिन्, 'महिलाका लागि डेपुटी गर्भनरको लागि आरक्षण त छैन पक्कै पनि । भीषण प्रतिस्पर्धा नै गर्नुपर्ने हुन्छ । म वरिष्ठतमको नम्बरमा ३ नम्बरमा थिएँ । सम्पूर्ण तहमा लिखित पास गरेको मान्छे । पीएचडी गरेको मान्छे । एक प्रकारको प्रुभ भइसकेको थियो बैँकमा । प्रतिस्पर्धामा खत्रो उत्रेर नै भएको ।'

खुट्टा तान्ने र इर्ष्या गर्ने मानिसहरु हुने भए पनि आफैलाई प्रमाणित र विश्वास गर्नुपर्ने डेपुटी गर्भनर निलम बताउँछिन् । उनले भनिन्, सबै महिलाले प्रुभ गर्नुपर्छ अनि विश्वास गर्नुपर्छ । खुट्टा तान्ने इष्र्या गर्ने सहयोग गर्ने हरेक क्षेत्रमा छ । त्यस्तो समस्या खासै भोग्नुपरेन ।

अहिले बैंकिङ क्षेत्रमा २० प्रतिशत महिला रहेको उनले बताइन् । उनले भनिन्, 'अहिले २० प्रतिशत महिला छन् पहिला संख्या थोरै थियो बैंकमा । केही बैंकमा मुख्य तहमा महिला छन् । शाखाहरु महिलाले नै चलाएका पनि छन् । कोर्पोरेट सेक्टरमा महिलाको उपस्थितिमा बाक्लै छ । तर नेतृत्वमा कम नै देखिएको तर बढिरहेको नै छ ।'

बैंकिङ क्षेत्रमा आरक्षण दिएर भए पनि दलित, जनजाति र सीमान्त समुदायका महिलाको प्रतिनिधित्व बढाउनुपर्नेमा उनले जोड दिइन् । उनले भनिन्, 'दलित महिला जनजाति महिलाले पनि खुलामा पनि नाम निकालेको अवस्था छ । महिलाहरु योग्य नै छन् । आरक्षण हुँदा संख्या बढ्न सक्छ ।'

त्यस्तै युनाइटेड इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले बजारमा प्रतिस्पर्धा भए पनि आफैसँग प्रतिस्पर्धा गरेर महिलाहरु अगाडि बढ्नुपर्ने बताइन् । उनले भनिन्, 'अरुलाई तान्ने होइन कि आफू अगाडि बढ्ने कुरा गर्यो भने अगाडि बढिन्छ ।'

त्यस्तै थ्री सिस्टर्स एडभेन्चर ट्रेकिङकी संस्थापक लक्की क्षत्रीले पर्यटन क्षेत्रमा श्रममा विभेद रहेको बताइन् । उनले भनिन्, 'टुरिजममा दुर्भाग्यवश श्रमको विभेद नै छ ।'

पर्यटन क्षेत्रमा महिलाहरुको सहभागिता बढ्दै गएको पनि उनको भनाइ थियो । उनले भनिन्, 'हस्पिटालिटी इन्डस्ट्रीमा महिलाले नै सेवा दिएको राम्रो हुन्छ । अहिले पर्यटन क्षेत्रमा उत्साहजनक सहभागिता छ । राम्रो प्लेटफर्म छ । महिलाले आफ्नै ट्रेकिङ कम्पनी सुरु गरिसकेका छन् । पर्यटनमा हेर्ने हो भने राम्रो सहभागिता देखिएको छ ।'

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अहिले धेरै परिवर्तन भइसकेको बताइन् । उद्यमशीलता विकासका लागि अर्थ मन्त्रालयले कोश नै छुट्याएको उनले बताइन् । उनले भनिन्, 'महिलाहरुको अधिकार जति भए पनि आर्थिक रुपमा महिला सक्षम हुनुपर्छ भनिएको छ ।'

त्यस्तै यति एयरलाइन्सकी प्रबन्ध निर्देशक चन्दा शेर्पाले श्रीमान्‌को मृत्युपछि आफूले कम्पनीको नेतृत्व गरेर अघि बढेको बताएकी छिन् । उनका श्रीमान आङछिरिङ शेर्पाको २०७५ सालमा ताप्लेजुङमा भएको विमान दुर्घटनामा परी मृत्यु भएको थियो । उक्त दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।

यति एयरलाइन्सकी प्रबन्ध निर्देशक चन्दा शेर्पाले भनिन्, 'जब मेरो श्रीमान बित्नु भयो । त्यो दिन मेरो श्रीमान कहाँ जान्नु भयो भन्ने पनि थाहा थिएन । उहाँ हरेक समयमा गइरहनुहुन्थ्यो । म त्यो दिन अफिसमै थिएँ । त्यो दुर्घट्नाको विषयमा थाहा पाउने म नै अन्तिम व्यक्ति थिएँ होला ।'

उनले त्यतिबेलाको क्षण सम्झँदै भनिन्, 'रुने बेला होइन एयरपोर्टमा गएर पापालाई लिएर आउ भने छोरालाई । परिवार आउन थाले । त्यतिबेला संसारमा म एक्लो भएँ जस्तो लाग्यो। किनभने मेरो श्रीमान् हरेक कुरामा अगाडि हुनुहुन्थ्यो । म उहाँको छायाँ भएर बसेको थिएँ । एक्लो भएको अनुभव पनि भयो ।' आफू श्रीमान्‌को मृत्युपछि पनि निडर भएर अगाडि बढेको उनले बताइन् ।

'श्रीमान् हरेक क्षेत्रमा अगाडि बढेर राष्ट्रमा लिडर भएर काम गर्नुभएको थियो । त्यसैले म किन डराउने भन्ने अनुभव भयो । उहाँले छाडेर जानु भएको कामलाई म हरेक कामलाई सफल बनाउँछु भन्ने हिम्मत आयो,' उनले भनिन् ।

यो सत्रको सहजीकरण कान्तिपुर दैनिकका आर्थिक ब्युरो प्रमुख कृष्ण आचार्यले गरेका थिए ।

प्रकाशित : चैत्र ४, २०७७ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?