१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेपाल–खनाल समूहको भेलाले आगामी ३ महिनाको कार्यदिशा बनाउने

काठमाडौँ — नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले काठमाडौंमा जारी राष्ट्रिय कार्यकर्ता भेलाबाट आगामी ३ महिनाको कार्यदिशा बनाउने भएको छ । बृहत राष्ट्रिय कार्यकर्ता भेलाले वर्तमान राजनीतिक अवस्थामा पार्टीलाई एकताबद्ध गर्दै स्वेच्छारी शक्तिको विरुद्ध लड्ने रणनीति तय गर्न लागेको हो ।

नेपाल–खनाल समूहको भेलाले आगामी ३ महिनाको कार्यदिशा बनाउने

भेलामा पहिलो दिन सहभागीलाई विभिन्न १० वटा समूहमा विभाजन गरेर समूहगत छलफल गरिने छ । १० वटै समूहमा उठेका सुझावलाई एकीकृत गरी भोलिको बैठकमा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । बैठकले प्राप्त सुझावका आधारमा आगामी ३ महिनाका लागि कार्यदिशा बनाउने र त्यसलाई सभाले पारित गर्ने नेता गंगालाल तुलाधरले बताए ।

मूलभूत रुपमा वर्तमान परिवेशमा पार्टी एकता कायम गरी नेतृत्वको स्वेच्छाचारी कदम विरुद्धका अन्तरसंघर्षहरुलाई रणनैतिक रुपमा कार्यदिशामा समावेश गरिने पनि उनले बताए । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेलाई पुन: सक्रियताका साथ अगाडि बढाउने जिम्मेवारी काँधमा आएका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीका क्रियाकलापहरुले पार्टी एकता भाँडिने संकेत देखिएकाले आफूहरु कार्यकर्ता भेला गरी उनीहरुको सुझावका आधारमा पार्टी एकताको पक्षमा अघि बढ्ने निष्कर्षमा पुगेको उनले उल्लेख गरे ।

उनले भने, 'एकपक्षीय ढंगले स्वेच्छाचारी, दम्भ र घमण्डी स्वभावलाई देखाउदै पार्टी अध्यक्ष केपी ओलीले जुन प्रकारका हर्कतहरु देखाउन थाल्नुभयो, त्यसले पार्टी एकता भाँडिने संकेत देख्यौं । पछिल्लो श्रृंखला भनेको २८ गते केन्द्रीय पदाधिकारीहरुको जिम्मेवारी खोस्ने, एकपक्षीय रुपबाट पदाधिकारी सदस्य थपेको घोषणा गर्ने र कयौलाई पार्टी जिम्मेबारीबाट हटाउने र कारबाही गर्ने भन्ने स्थिति आएपछि हामी यो निष्कर्षमा पुग्यौं कि पार्टी जोगाउने हो भने स्वेच्छाचारी कदमको विरोधमा उत्रनु पर्दछ । यो पार्टीलाई एकताबद्ध गरेर लैजाने हो भने हैकमवादी प्रवृत्तिबाट पार्टीलाई जोगाउनुपर्छ । त्यस्तो खालको कुरा महसुस भइसकेपछि हामी यो ठाउँमा आइपुगेका हौं । '

उनले एकताका साथ अघि बढ्नका लागि भेलाले उर्जा दिने विश्वास आफूहरुले लिएको बताए । उनले भेलामा भएको कार्यकर्ताको उपस्थितिले पार्टी अध्यक्ष ओलीको कामकारबाहीहरु कुनैपनि हालतमा सर्वस्वीकार्य छैन र विरोधयोग्य छ भन्ने सन्देश पनि देशव्यापी रुपमा प्रवाहित गरेको दाबी गरे । पार्टी अध्यक्षले गुटगत भेलामा सहभागी भए कारबाही गर्ने बताइरहेका बेला पार्टी एकताका लागि जुनसुकै परिणाम भोग्ने मानसिकतामा नेताकार्यकर्ताहरु भेलामा सहभागी भएको पनि उनले बताए ।

उनले भने, 'उहाँले कति कारबाही गरेर जानुहुन्छ, त्यो पनि हामी हेर्नेवाला छौं । हामी उहाँलाई भन्न चाहन्छौं तपाईं कारबाही गरेर देखाउनुहोस् । आजदेखि हामी कारबाहीका लागि लामबद्ध हुँदैछौं । २५ सय कार्यकर्ताहरु यहाँ लामबद्ध भएर । केपी ओली कमरेडलाई हामी भन्न चाहन्छौं तपाईं कारबाही गरेर देखाउनुहोस् । कारबाही गर्दै जाने हो भने त उहाँ पनि बाँकी रहनुहुन्न नि त । उहाँ भोलि गएर एैया पनि भन्न नसक्ने अवस्थामा पुग्नुहुन्छ । '

उनले वृहतर वामपन्थी एकताबाट च्युत हुनुहुँदैन भन्ने मानसिकताले आफूहरु अगाडि बढ्दै गरेको अवस्थामा अध्यक्ष ओलीबाट एमाले पनि एकताबद्ध भएर अघि बढ्न नसक्ने परिस्थिति सिर्जना हुनु दुखद भएको प्रतिक्रिया दिए । विभाजित हुन नपरोस् भन्ने मनोविज्ञान कार्यकर्तामा देखिएको भएपनि नेतृत्वले विभेदपूर्ण व्यवहार गरेकाले समस्या भएको भन्दै उनले कुनै पनि कार्यकर्ता नेतृत्वबाट अपमानित भएर बस्न नसक्ने बताए ।

प्रकाशित : चैत्र ४, २०७७ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?