साइबर स्यालहरु अझै पनि जिउँदै रहेछन् : माधव नेपाल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साइबर स्यालहरु अझै पनि जिउँदै रहेछन् : माधव नेपाल

'हाम्रो लडाइँ पदको हैन, सिद्धान्त, नीति, विधि र पार्टी निर्माणका लागि हो'
'ओलीले टिकट वितरण, नियुक्ति र कार्यविभाजन, कामको जिम्मेवारी बाँडफाँडमा समेत पूर्वाग्रह गरे'
इकान्तिपुर डेस्क

काठमाडौँ — नेकपा एमालेका नेता माधवकुमार नेपालले ओ‌लीका साइबर स्यालहरु अझै पनि जिउँदै रहेको बताएका छन् । बुधबार खनाल-नेपाल पक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले नेकपा हुँदा रहेका ओलीका साइबर स्यालहरु अझै पनि बाँचिरहेको बताएका हुन् । 

एमाले नेता माधवकुमार नेपाल । तस्बिरः बिजु महर्जन/कान्तिपुर

'नेकपा हुँदा थियो भनेको त साइबर स्यालहरु अझै पनि जिँउदै रहेछन्,' नेता नेपालले भने,'साइबर स्यालहरु अझै पनि बाँचिरहेका छन् ।'

आफूहरुको भेला रोक्नका लागि साइबर स्यालहरुले नेता योगेश भट्टराईको फेक हस्ताक्षर प्रयोग गरेको उनले बताए । उनले भने,' आज बिहान फेक सूचना जारी गरेका थिए । योगेश भट्टराईको हस्ताक्षर चोरेर फेक पत्र जारी गरेका थिए । साइबर स्यालहरु त अझै पनि जिँउदै रहेछन् । नेकपा हुँदा थियो भनेको त अझै पनि रहेका छन् ।'

उनले ओलीका साइबार स्यालबाट होसियर हुन आग्रह गर्दै गलत सूचनाहरु अझ आउने र कुनै पनि किसिमको अलमल नगर्न कार्यकर्ताहरुलाई आग्रह गरे । उनले कुनै पनि भ्रमको समाचारमा नलाग्न पनि आग्रह गरे ।

यस्तै नेता नेपालले आफूहरुको लडाईं पदको नभएर सिद्धान्त,नीति,विधि र पार्टी निर्माणको लडाइँ भएको बताए । पार्टीभित्रको वर्तमान स्थिती उत्पन्न हुनुको कारण केपी शर्मा ओली नै प्रमुख जिम्मेवार रहेको उनले आरोप लगाए ।

ओलीले टिकट वितरण,नियुक्ती र कार्यविभाजन,कामको जिम्मेवारी बाँडफाँडमा समेत पूर्वाग्रह राखेको उनले बताए । 'गुटको सुरुवात उहाँले गरेको हो, मदन भण्डारी फाउण्डेशनको नाममा,' नेता नेपालले भने,' बैठक बोलाउनका लागि पनि अनुनय विनय गर्नुपर्ने अवस्था थियो । कम्युनिष्ट पार्टी कस्तो हुनुपर्छ र कस्तो निर्माण गर्नुपर्ने भन्ने विषय हाम्रो हो । ३ वर्षसम्म पनि पार्टीका कमिटीहरु निर्माण हुन सकेनन् । यो सबै ओलीको पूर्वाग्रह राखिएको थियो ।'

'तपाई पनि पीडित, हामी पनि पीडित, पीडित पीडित हामी भेला भएका छौं,' उनले भने ।

प्रकाशित : चैत्र ४, २०७७ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्

ओलीले फागुन २८ को निर्णय सच्याए मात्र छलफलमा बस्न सकिन्छ : अष्टलक्ष्मी शाक्य

कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले नेत्री अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी ओलीको समूहले फागुन २८ गते गरेको निर्णय सच्याए मात्र छलफलमा बस्न सकिने बताएकी छन् ।

नेकपा एमालेको नेपाल–खनाल समूहले बुधबार आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा उनले केपी समूहले गरेको निर्णय विधिसम्मत नभएको बताएकी हुन् । ‘फागुन २८ को भेला पार्टीको होइन गुटको हो, त्यो विधिसम्मत छैन,’ उनले भनिन् ।

उनले बुधबारको कार्यकर्ता भेला भने गुटको नभएर पार्टीको भेला भएको दाबी गरिन् । शाक्यले निर्णय सच्याएर यो भेलामा आउन पनि ओलीलाई आग्रह गरिन् । ‘यो गुटको भेला हैन, पार्टीको भेला हो । यहाँ आउन कोही डराउन पर्दैन,’ उनले भनिन् । ओलीले भेलामा सहभागी नहुन धम्की दिएको आरोप पनि उनले लगाइन् ।

‘केपी ओली सच्चिनुपर्छ । पार्टीलाई विधि–पद्धतिमा चलाउनुपर्छ । २८ गतेको निर्णय फिर्ता लिनुपर्छ । त्यसपछि मात्रै हामी छलफलमा बस्न सक्छौं,’ शाक्यले भनिन् ।

ओली समूहले फागुन २८ एकपक्षीय केन्द्रीय कमिटी बैठक बोलाएर महाधिवेशनबाट निर्वाचित भएका नेपाल समूहका नेताहरूको जिम्मेवारी खोस्नुका साथै पदसमेत खारेज गरिदिएको थियो । त्यसपछि रुष्ट बनेको नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएको हो ।

प्रकाशित : चैत्र ४, २०७७ १३:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×