आउँदो चुनावमा दुई तिहाईका साथ फेरि सिंहदरबार फर्किन्छु : प्रधानमन्त्री

फाल्गुन १८, २०७७

अर्जुन राजवंशी

बिर्तामोड — प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट कसैले हटाउन सक्छ भने हटाएर देखाउन चुनौती दिएका छन् ।

गृहजिल्ला झापाको बिर्तामोडमा दुर्गा प्रसाईंले सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको मंगलबार उद्घाटन गरेपछिको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई कसैले हटाउन सक्ने भने खुसीकासाथ हट्न तयार रहेको बताउँदै आउँदो चुनावमा दुई तिहाईका साथ फेरि सिंहदरबारमा फर्कने बताए । 

उनले भने,‘अहिले पनि कसैले हटाउन सक्छ भने मलाई प्रधानमन्त्रीबाट हटाओस् । खुसीसाथ हट्न तयार छु । तर, आउँदो चुनावमा दुई तिहाईका साथ फेरी सिंहदरबार फर्किन्छु ।’ उनले डेढ/दुई वर्षमा चुनाव हुने बताए । ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएको दाबी समेत गरे । 

'राजनीति गर्ने मान्छे भएकाले कुनै कुरा माग गर्दै अदालतमा मुद्दा हाल्न जाने मेरो बानी छैन,' प्रधानमन्त्री ओलीले भने,'निवेदन हाल्नुपरे नेपाली जनताको बीचमा आउँछु। ' 

ओलीले अरुको लागि नभई नेपाली जनताको लागि कम्फर्टेबल हुने सरकार बनाउने धारणा राखे । ‘नेपाली जनताको लागि सजिलो हुने सरकार चाहियो । नेपाली जनतालाई आवास, शिक्षा, स्वास्थ्य, विकास दिन सक्ने सरकार चाहियो । हामी त्यस्तो सरकार चलाउन खोजिरहेका छौं,’ उनले भने ।

यस्तै, उनले आफू संसद् अधिवेशन राम्ररी चलाएर अघि बढ्ने आफ्नो प्रयास हुने बताए । २३ गते बस्ने प्रतिनिधिसभाको सातौं अधिवेशनमा आफू सकारात्मक भूमिकामा उपस्थिति हुने बताएका हुन् । 

अर्जुन

Link copied successfully