प्रतिनिधिसभा पुन:स्थापना गर्ने फैसला ऐतिहासिक : दाहाल- समाचार - कान्तिपुर समाचार

प्रतिनिधिसभा पुन:स्थापना गर्ने फैसला ऐतिहासिक : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा पुन:स्थापना गर्ने फैसला ऐतिहासिक भएको बताएका छन् ।

फाइल तस्बिर

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि मंगलबार साँझ चितवनमा आयोजित कार्यक्रममा दाहालले आफूलाई गौरवको अनुभूति भएको र यो ऐतिहासिक फैसला रहेको बताएका हुन् । उनले यसअघि तोकिएका विरोध कार्यक्रमलाई देशभर विजय जुलुसका रुपमा मनाउन पार्टी पंक्तीलाई अपील गरे । 'अब हाम्रो विरोध प्रदर्शन विजय र्‍यालीमा परिणत भयो । हामी यहाँ प्रवेश गर्नेवित्तिकै बडो गौरवको फैसला आयो, यो ऐतिहासिक छ । म पार्टीको तर्फबाट देशभरि भएका साथीहरुलाई विजय र्‍याली गर्न विशेष अपील गर्छु ।'

उनले संसद् पुन:स्थापना सबैको जित भएको उल्लेख गर्दै विभिन्न राजनीतिक दल, पार्टीका नेता, कार्यकर्ता, नागरिक समाज, बुद्धिजीवी लगायत आन्दोलनमा उत्रिएका सबै जनालाई बधाई र धन्यवाद दिए ।दाहालले संवैधानिक इजलासका प्रधानन्यायाधीश, न्यायधीशहरुको आजको फैसला ऐतिहासिक र सहासिक भन्दै उनीहरुलाई पनि बधाइ दिए ।

अब राजनीतिक दलहरुबीच सहमति र समझदारी गरी अगाडि बढ्ने भन्दै दाहालले यो आफूहरुको लडाइँ कुर्सीको होइन, संविधान ट्याकमा ल्याउने भने जसरी फैसला आएको बताए ।

उनले नेकपा केपी ओली समूहमा लागेकाहरुलाई आफू नेतृत्वको पार्टीमा फर्कन समेत अपीले गरे ।

यस्तै अर्का अध्यक्ष माधवकुमार नेपालले आफूहरु विजयोत्सवमा रहेको भन्दै ओली युगको अन्त्य भएको बताए । 'निरंकुश बन्ने प्रवृत्तिले पराजय बन्न पर्‍यो । सत्यको जित भयो । न्यायको जित भयो । नेपाली जनताको जित भयो । हामी खुसी छौं,' उनले भने, 'यसका लागि सबभन्दा पहिले न्यायका पक्षमा दृढताका साथ संघर्षका मैदानमा उत्रिने बहादुर नेपाली जनतालाई हार्दिक हार्दिक क्रान्तिकारी लालसलाम टक्र्याउन चाहन्छु ।'

संविधानको सर्वोच्चतालाई कायम राख्न, विधिको शासनको पक्षमा दृढताका साथ उभिने, प्रतिनिधिसभा विघटनको विरोधमा उत्रने सबै पक्षलाई उनले धन्यवाद दिए । यो फैसला ऐतिहासिक र संविधानलाई लिकमा ल्याउने भएको नेपालको भनाइ थियो ।


प्रकाशित : फाल्गुन ११, २०७७ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्

सर्वोच्चको फैसला ऐतिहासिक र स्वागतयोग्य : देउवा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला ऐतिहासिक भएको भन्दै स्वागत गरेका छन् । विघटित प्रतिनिधिसभा पुनःस्थापना हुने गरी सर्वोच्चले गरेको फैसलाको सम्मान गर्दै देउवाले ऐतिहासिक भनेका हुन् ।

ओली नेतृत्वको नेकपाको सरकारले प्रतिनिधि सभा विघटन गरेको घटनालाई नेपाली कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको पनि उनले बताएका छन् ।

कांग्रेसले अदालतमा विचाराधीन मुद्दामा आफ्नो पक्षमा फैसला गराउन कसैले पनि दबाब दिन नहुने र सर्वोच्च अदालतले गर्ने फैसलालाई सम्मान गर्ने कुरा सार्वजनिक गर्दै आएको पनि उनले विज्ञप्ति मार्फत जनाएका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्,'सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ । मैले सुरुदेखि नै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थिएँ । सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ। कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ ।'


यस्तै, उनले सर्वोच्चले संसद् विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको पनि बताएका छन् । उनले अदालतको संवैधानिक इजालशका न्यायधीहरुलाई पनि धन्यवाद दिएका छन् ।

प्रकाशित : फाल्गुन ११, २०७७ १९:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×