न्यायालयको फैसला सबैले मान्‍नुपर्छ : उपप्रधानमन्त्री पोखरेल- समाचार - कान्तिपुर समाचार

न्यायालयको फैसला सबैले मान्‍नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

रासस

चितवन — उपप्रधानमन्त्री ईश्वर पोखरेलले लोकतन्त्रवादीले न्यायालयको फैसला मान्नुपर्ने बताएका छन् ।  प्रेस संगठन चितवनले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले न्यायालयको फैसला आफूहरुले मान्ने स्पष्ट पारेका हुन्। 

'न्यायालयले जे फैसला गर्छ त्यसलाई हामी मान्दैनौँ भनेर कसले भन्छ र ?,' उनले भने, 'न्यायपालिकाले गर्ने फैसलाप्रति विमति जनाउने कुन लोकतन्त्रवादी हुन्छ ?' शक्ति पृथकीकरणको सिद्धान्तलाई आफूहरुले विश्वास गर्ने जनाउँदै उनले न्यायपालिकाको निर्णयलाई सबैले शिरोधार्य गर्नुपर्ने बताए ।

राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिका लागि दुई वामपन्थी दलबीच एकता गरिए पनि संकट आएका कारण दिगो हुन नसकेको पोखरेलले बताए । उनले भने, 'राजनीतिक स्थिरताका लागि ताजा जनादेशमा जानुपर्ने अवस्था आएर विघटनको निर्णय भएको हो । ताजा जनादेशमा जाने कुरा असंवैधानिक र अलोकतान्त्रिक कसरी हुन सक्छ ?'

निर्वाचन तोकिएकै समयमा हुने जनाउँदै उनले यसलाई हुन नदिनका लागि कुनै खालका कोसिस नगर्न सबैलाई अनुरोध गरे । उनले भने, 'यो निर्वाचन ताजा जनादेशका लागि हो । यो सबैको हितमा हुन्छ ।' उनले निर्वाचन आयोग, सुरक्षा निकायलगायत सबैले निर्वाचन तयारी गरिरहेको जानकारी दिए ।

प्रकाशित : फाल्गुन ११, २०७७ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्

सुनको मूल्य तोलामा ११ सय रुपैयाँ बढ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — सुनको मूल्य तोलामा एघार सयले उकालो लागेको छ । सोमबारको तुलनामा सुनको मूल्यमा एक हजार एक सय बढी भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा ९० हजार एक सयमा कारोबार भएको छ ।

यस्तै तेजाबी सुन सोमबार तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोबार भएकोमा मंगलबारका लागि ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन समेत तोलामा एक हजार एक सयले उकालो लागेको हो ।

चाँदीको मूल्यमा समेत मंगलबार २५ रुपैयाँले वृद्धि भएको छ । तोलामा एक हजार ३३५ रुपैयाँमा सोमबार कारोबार भएको चाँदी मंगलबार एक हजार ३६० रुपैयाँ भएको छ ।

प्रकाशित : फाल्गुन ११, २०७७ १२:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×