कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

मिडियाले राम्रो काम देखेनन् : उपप्रधानमन्त्री पोखरेल

प्रतीक्षा काफ्ले

कास्की — उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले राम्रा काम गरे पनि मिडियाले जहिल्यै नराम्रो मात्र देख्ने गरेको आरोप लगाएका छन् ।

मिडियाले राम्रो काम देखेनन् : उपप्रधानमन्त्री पोखरेल

नेकपा ओली समूह निकट प्रेस संगठन नेपालको गण्डकी प्रदेश भेलालाई आइतबार पोखरामा सम्बोधन गर्दै पोखरेलले सरकार गठन भएका तीन वर्षसम्म जतिसुकै राम्रा काम भए पनि ठूला भनिएका मिडियाले जहिल्यै नकारात्मक समाचार लेखेर जनतालाई भ्रममात्र छाड्ने गरेको बताए । ‘कर्पोरेट मिडियाका दलालको समाचार संप्रेषण हेर्नुस्,’ उनले भने, ‘अपराधमूलक समाचारको भ्रम छरेका छन् । यस्ता मिडियाको विरोधमा प्रेस संगठन उठ्नुपर्छ । गतल प्रचार गरी जनतालाई भ्रम छर्ने काम भइरहेको छ ।’

उनले प्रेस संगठन सरकार र जनताको पुल रहेको बताए । ‘हाम्रा राम्रा काम ओझेलमा परेका छन् । प्रेस संगठनका पत्रकारले समाचार लेख्न सकेनन् । समाचार प्रचार नहुँदा जनताले केपी ओली मान्छे त राम्रो हुन् तर, के गरे के ? भन्ने बुझाई छ । ओलीले गरेका राम्रा कामको प्रचार गर्न मिडियाको आवश्यक छ ।’ तीन सय ९ वटा सरकारी अस्पताल एकैदिन शिलान्यास गरिनु, सामाजिक सुरक्षा भत्ताजस्ता राम्रा कामको प्रचारप्रसार नभएको उनको भनाइ थियो ।

उनले केपी ओलीको नेतृत्वको नेकपा नै आधिकारिक पार्टी भएको दाबी गर्दै सूर्य चिन्ह अन्यत्र नजाने बताए । ‘हामी वैशाखमा नै चुनाव गराउनुपर्छ भनेर तयारीमा लागेका छौं,’ उनले भने, ‘अर्को पक्ष चुनाव गराउनु हुँदैन भनेर निर्वाचन आयोगमा दबाब दिन गएका छन् । जनताको ताजा जनादेशमा जाने कसरी अलोकतान्त्रिक हुन्छ ?’

उनले पुष्पकमल दाहालको पार्टी र सत्ता कब्जा गर्ने लक्ष्य रहेको आरोप लगाए । माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमतिर लक्षित गर्दै उनले अवसर र लोभका कारण पार्टी एकतामा बढी बल गरेको बताए । पदको लोभमा गौतमले अझै पनि यता न उता भई बीचमा बसेको आरोप लगाएका थिए ।

नेकपा ओली समूह निकट प्रेस संगठन गण्डकी प्रदेशको भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेल । तस्बिर : प्रतीक्षा काफ्ले/कान्तिपुर

प्रकाशित : फाल्गुन २, २०७७ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?