‘शिवरात्रिसम्म सुनको जलहरी’

पशुपतिनाथमा जलहरीका लागि चाहिने १ सय ८ किलो सुनमध्ये ६० किलो खरिद गरी पगाल्न थालियो 
दामोदर न्यौपाने

काठमाडौँ — पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको शिवलिंगमा सुनको जलहरी राख्ने काम अघि बढाएको छ । जलहरीका लागि चाहिने १ सय ८ किलो सुनमध्ये ६० किलो खरिद भइसकेको छ ।

‘शिवरात्रिसम्म सुनको जलहरी’

कोषले १ सय ४२ किलो सुन किनेर जलहरीसहित मन्दिरको बसाह र छानो राख्ने योजना बनाएको हो । त्यसमध्ये जलहरीका लागि मात्र १ सय ८ किलो सुन खर्च गर्न लागिएको हो ।

पशुपति मन्दिरको उत्तरतिरको रुद्र गाडेश्वरमा जलहरी बनाउन टहरा बनाइएको छ । त्यही टहरामा लकर बनाएर राखिएको सुनलाई नेपाली सेनाले सुरक्षा दिएको छ । जलहरी बनाउने ठाउँ वरपर सर्वसाधारण जान निषेध गरिएको छ । ‘शिवरात्रिसम्ममा लगाइसक्ने गरी काम अघि बढेको छ,’ कोषका सदस्य सचिव प्रदीप ढकालले भने, ‘सुनको जलहरी राख्नु राम्रो हो । धेरैतिरबाट प्रशंसा नै भएको छ ।’ बिहीबार सुन ल्याएर शुक्रबार बिहानैदेखि पगाल्न सुरु गरिएको उनले बताए । काम सुरु गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, संस्कृति सचिव यादव कोइराला, पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमलगायत पशुपति पुगेका थिए ।

मन्त्री ढकालसमक्ष सुनको जलहरी राख्ने कामको विरोध गर्दै आएका पशुपतिका भण्डारीले काम अघि नबढाउन आग्रह गरेका थिए । पशुपतिका पालोवाला भण्डारी केदार भण्डारीले यहाँको पुरातात्त्विक, धार्मिक र सांस्कृतिक महत्त्वको वास्तै नगरी हचुवामा काम गरेको भन्दै आपत्ति जनाए । भण्डारीलाई ढकालले आफू मन्त्रालयमा भर्खरै आएकाले धेरै बुझ्न बाँकी रहेको र छलफल गरेर अघि बढ्ने आश्वासन दिएका थिए । ‘छलफलका लागि मन्त्रीले बोलाउनुभएको छ,’ भण्डारीले भने, ‘यहाँ सबै विधि नपुर्‍याई काम गरिएको छ । विश्व सम्पदा सूचीमा परेको मन्दिरमा हचुवामा काम गर्नु हुँदैन भनेर मन्त्रीलाई भनेको छु । हामी काम रोक्न ज्ञापन बुझाउँछौं ।’ पशुपतिका सामानको रेखदेख गर्ने जिम्मेवारी भण्डारीको हुन्छ तर कुनै पनि प्रक्रियामा भण्डारीलाई सहभागी नगराएको उनले गुनासो गरे ।

‘पशुपति क्षेत्र भण्डारीको जिम्मामा हुन्छ । मन्दिरमा केही भयो भने त्यसको जिम्मा हामीले लिनुपर्छ तर भण्डारीलाई बाहिरै राखेर सुन राख्न लागियो,’ अर्का पालोवाला भण्डारी हरिशरण राजभण्डारीले प्रश्न गरे, ‘हामीसँग सल्लाह गर्नु नपर्ने तर राखेपछि जिम्माचाहिँ हामीले लिनुपर्ने ?’ प्रत्येकपटक पुजारी बाहिर जाँदा भण्डारीले नै शरीर जाँच गर्छन् । गहनाको सुरक्षा गर्न यस्तो परम्परा सुरु गरिएको हो । गहनाको सुरक्षा गर्ने काम पनि पालोवाला भण्डारीको हो ।

बहुमूल्य धातु भएकाले खिइयो भने कसले तिर्ने भनेर पनि आफूहरू चिन्तित भएको केदार भण्डारीले बताए । मन्दिरमा सुन राख्नु व्यावहारिक दृष्टिले पनि ठीक नभएको उनले तर्क गरे । ‘सुन हो, खिइन्छ । गुह्येश्वरीमा सुन घट्यो भनेर त्यहाँका पुजारीलाई दोष दिइयो,’ उनले भने, ‘यहाँ पनि पञ्चामृत चढाउँदा, पूजा गर्दा सुन त घोटिइन्छ अनि पछि तौल कम भयो भनेर भण्डारीलाई तिराउने ?’ २०७६ भदौमा गुह्येश्वरीमा ३ सय ७९ तोला रहेको सुन अहिले २ सय ९४ तोला मात्रै बाँकी रहेको भन्दै कोषले पुजारीलाई बाँकी सुन बेहोर्न पत्र लेखेको थियो ।

कोषका पूर्वकोषाध्यक्षसमेत रहेका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कोषले प्राचीन स्मारक संरक्षण ऐनविपरित जबर्जस्ती काम अघि बढाएमा आफू आमरण अनशनसमेत बस्ने घोषणा गरेका छन् । ‘मैले निरन्तर खबरदारी गर्दै आएको छु । यहाँका जनता र भण्डारी पनि विरोधमा छन् । यति गर्दा पनि कोषले सुनेन भने म अदालत जानेदेखि अनशनसमेत बस्न सक्छु,’ उनले एक कार्यक्रममा घोषणा गरे ।

पशुपतिनाथमा जलहरी राख्नु विश्व सांस्कृतिक एवं प्राकृतिक सम्पदा संरक्षणसम्बन्धी बडापत्रले समेत निषेध गरेको छ । बडापत्रअनुसार विश्व सम्पदामा सूचीकृत हुँदा जस्तो स्वरूप थियो, त्यही स्वरूपमा संरक्षण गर्नुपर्ने उल्लेख छ । पशुपतिनाथको शिवलिंगको पिँधमा रहेको चाँदीको जलहरी जीर्ण भएपछि त्यसलाई सुन लगाएर फेर्ने योजना कोषले २०७० सालमै ल्याएको थियो तर सरोकारवालाको विरोधले अघि बढ्न सकेको थिएन । गत माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथमा पूजा गर्न गएपछि सुनको जलहरी राख्न ३० करोड रुपैयाँ दिने भएपछि कोषले प्रक्रिया अघि बढाएको हो ।

प्रकाशित : फाल्गुन २, २०७७ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?