कतारमा न्यूनतम तलब मार्चदेखि

अब रोजगारदाताले न्यूनतम तलब एक हजार, खाना ३ सय र आवासबापत ५ सय रियाल दिनुपर्ने
होम कार्की

काठमाडौँ — कतारले नयाँ घोषणा गरेको न्यूनतम तलबलाई रोजगारदाताले मार्चदेखि अनिवार्य कार्यान्वयन गर्नुपर्ने जनाएको छ । कतारले ६ महिनाअगाडि अदक्ष श्रमिकको न्यूनतम तलब एक हजार रियाल घोषणा गरेको थियो ।

कतारमा न्यूनतम तलब मार्चदेखि

प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले नेपाली समुदायका प्रतिनिधिसँग छलफल गरी यसबारे जानकारी गराएको हो । ‘मार्चदेखि सबै रोजगारदाताले आफ्ना श्रमिकलाई कतार सरकारले तोकेको न्यूनतम तलब भुक्तानी गर्नुपर्छ,’ श्रम मन्त्रालयका सचेतना, निर्देशन तथा श्रम महाशाखा प्रमुख साल्ह अल खलाफले भने, ‘हामी यसलाई कडाइका साथ कार्यान्वयन गर्नेछौं ।’

उनले रोजगारदाताले आफ्ना श्रमिकलाई बैंकमार्फत तलब दिनुपर्ने बाध्यकारी नियम बनाएको बताए । ‘यो तलब कार्यान्वयन गर्न तपाईंहरू (नेपाली समुदाय) को विशेष भूमिका रहन्छ । तोकिएको तलब नपाएका कामदारले सहज रूपमा नेपाली भाषामै उजुरी दिन सक्ने गरी हामीले संयन्त्र बनाएका छौं । त्यस संयन्त्रमार्फत उजुरी दिन तपाईंहरू पनि प्रेरित गर्नुहोला,’ उनले भने ।

कतारले २०२० को कानुन नम्बर १७ जारी गर्दै निजी क्षेत्रमा कार्यरत सबै श्रमिकको न्यूनतम तलब निर्धारण गरेको हो । घरेलु श्रमिकको हकमा पनि यो लागू हुने उनले बताए । उनका अनुसार तलब नपाउने श्रमिकले रोजगार परिवर्तन गर्नका लागि रोजगारदाताको अनुमति (रिलिज पेपर) चाहिने छैन, अब रोजगारदाताले न्यूनतम तलब एक हजार, खाना ३ सय र आवासबापत ५ सय रियाल दिनुपर्नेछ तर खाना र आवासको सुविधा दिए एक हजार रियाल तलब मात्रै दिए हुन्छ ।

यो तलब कार्यान्वयनमा आएपछि कतार सबैभन्दा बढी न्यूनतम तलब दिने रोजगारदाता मुलुक बन्नेछ । नेपालले २०१३ देखि अदक्ष श्रमिकका लागि न्यूनतम तलब ९ सय रियाल र खानाबापत तीन सय रियाल गरी १२ सय रियाल निर्धारण गरेको थियो । रोजगारदाता कम्पनीले नेपालले एकतर्फी रूपमा तलब निर्धारण गरेको भन्दै त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गरेका थिएनन् । कतारले दुई वर्षअघि भने ७५० रियालभन्दा तलको करारपत्रलाई प्रमाणीकरण गर्न छाडेको थियो । खलाफले श्रम निरीक्षण प्रणालीलाई चुस्त बनाई कानुन उल्लंघन गर्नेलाई जरिवानासमेत गराउने बताए । गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले नयाँ तलब कार्यान्वयनमा आउने भएपछि आफूहरू उत्साहित रहेको बताए । ‘कतार खाडीमै श्रमिकको न्यूनतम तलब तोक्ने पहिलो राष्ट्र बनेको छ, कहिलेदेखि यसलाई कार्यान्वयन गर्ने भनेर सबै श्रमिकले चासोपूर्वक हेरिरहेका छन्, मार्चदेखि नै यसलाई लागू गर्ने भएपछि श्रमिकलाई धेरै फाइदा पुगेको छ,’ मुसलमानले भने, ‘यो कतारमा नयाँ आउने र कतारमा हाल कार्यरत दुवै थरी श्रमिकलाई दिइने जानकारी दिएका छन् ।’

कतारका लागि श्रम काउन्सिलर कृष्ण खनालले कतार सरकारले तोकेको न्यूनतम तलब दिन राजी भएका रोजगारदाता कम्पनीको मात्रै मागपत्र प्रमाणीकरण हुन थालेको बताए । ‘अहिले मागपत्र प्रमाणीकरण गरे पनि भर्ना प्रक्रिया पूरा गरेर आउँदा मार्च नै लाग्छ । मार्चदेखि नयाँ तलबमान कार्यान्वयन हुने हुँदा हामीले पनि अनिवार्य गर्न लगाएका छौं,’ उनले भने, ‘कतारबाटै न्यूनतम तलब घोषणा भइसकेकाले तलबको विषय अब सुरक्षित भइहाल्यो । यसले कम्पनीलाई श्रमिक ल्याउन अनुमति दिन पनि सजिलो भइदियो ।’

खनालका अनुसार एक महिनाको अवधिमा कतारमा झन्डै २५ हजार नेपाली ल्याउनका लागि रोजगारदातालाई अनुमति दिइसकेको छ । दूतावासले मागपत्र प्रमाणीकरण गर्ने कार्य सुरु गरेको जनाएको छ ।

प्रकाशित : माघ २६, २०७७ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?