संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि पार्ने नसोचे हुन्छ : प्रधानमन्त्री ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको निष्ठामा प्रश्न नउठाउन आग्रह गरेका छन् । प्रतिनिधिसभा विघटन गरेपछि प्रतिगमनकारी कदम चालेको आरोप खेपिरहेका ओलीले देशमा कसैले लोकतन्त्र खोस्न नसक्ने बताए । 

उनले काम गर्न नपाएपछि संसद् विघटन गरेको पनि प्रष्टीकरण दिए । ‘कसैले पनि लोकतन्त्र खोस्न सक्दैन । लोकतन्त्रको भविष्य उज्ज्वल छ । लोकतन्त्रतर्फ कसैले कर्के आँखा नलगाए हुन्छ । किनभने नेपाली जनता सचेत छन् । देश अघि बढ्योबढ्यो’, शुक्रबार काठमाडौंमा भएको ओली समूहको सभामा उनले भने, ‘संसद् विघटन संविधानसम्मत छ कि छैन भनेर बहस निकालिएको छ । जनताले बुझेको कुरा हो–काम गर्ने अवस्था नभए प्रधानमन्त्रीले संसद् विघटन गर्छ । हाम्रै बलमा संसद्‌मा आएर काम गर्न नदिने र सरकारले काम गर्न सकेन भन्ने प्रवृत्तिको जवाफ जनताको ताजा जनादेशबाट खोज्नुपर्छ ।’ कोही पनि नाटकबाजको नाटकमा परेर देशलाई गलत बाटोमा जान दिन नहुने ओलीको भनाइ थियो ।

ओलीले आफूलाई गणतन्त्रविरोधी भनेर प्रचार गरेकोमा असन्तुष्टि जनाए । ‘आधा दशक लोकतन्त्र, गणतन्त्र र सामाजिक न्यायका लागि लडेको ओलीले राजतन्त्र फर्काउने घोषणा गर्छ रे । संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई कसैले तलमाथि पार्ने नसोचे हुन्छ । हामी यसको कार्यान्वयन गरेर जान्छौं ।’

संसद्‌लाई पंगु बनाउन खोजिएपछि चुनावमा जानु परेको ओलीले बताए । ‘संसद्‌लाई ठीक ढंगले चल्न दिनुभएन । संसदलाई पंगु बनाउन थाल्नुभयो । पहिलाजस्तै किनबेचको, समीकरणको, जोडजामको राजनीति गर्न खोज्नुभयो । काम गर्नै नपाउने अवस्था आएपछि ताजा जनादेशका लागि जानुपर‍्यो,’ ओलीले कार्यकर्तातर्फ प्रश्न सोध्दै भने, ‘अस्थिरताका राजनीतितर्फ जाने कि जनताका बीचमा जाने ? अस्थिरतातर्फ होइन, चुनावतर्फ जाऔं । अस्थिरता होइन, चुनाव चाहियो । जनता के भन्छ, अब सबै सुने होलान् ।’

ओलीले दाहाल–नेपालले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई धम्की दिएको आरोप लगाए । ‘अदालतलाई धम्की दिनुभयो । आयोगलाई धम्की दिनुभयो । ती संस्थाहरु स्वतन्त्र छन्, विवेकसम्मत निर्णय गर्नेछन् । अब देश चुनावतर्फ गयो,’ ओलीले भने, ‘कसको सरकार बन्नुपर्छ चुनावले फैसला गर्छ । चुनावले सबै कुराको फैसला गर्छ । आयोगमा गएर निर्वाचनको तयारी नगर भन्नु लोकतन्त्र रे । चुनावमा हुँदा देश संकटमा पर्छ रे । जनताले सरकार छान्दा देश संकटमा पर्छ । त्यसो होइन, केही मानिसले कुनामा बसेर अरुका लागि काम गर्दा देश संकटमा पर्छ । देशलाई संकटमा पर्दैन ।’

ओलीले पार्टी विभाजनपछि आयोग गठन गर्न सम्भव भएको बताए । ‘उनीहरुले काम गर्न दिएनन् । तीन वर्षसम्म आयोग बनेनन् । दुई चार वटा मानिस पार्टी छाडेर हिँडेपछि आयोग बने । ती मानिस रहुन्जेल आयोग गठन गर्न सकिएन । आयोग बनेकोमा कति पीर आयोग बनेको भोलिपल्ट नेपाल बन्द । षड्यन्त्र चिरेर आयोग बनायौं ।’

ओलीले आफूहरुलाई ललकार्ने काम भएकाले बाध्य भएर सकडमा आएको बताए । ‘दुई/चार हजार मानिस जम्मा गरेर हामीलाई ललकार्ने काम भएकाले हामी सडकमा आएका हौं । बाध्यताबस आएका हौं । कार्यक्रम गर्नै पर्ने अवस्था आयो,’ उनले भने, ‘आजको सभा कास्टिङको रुपमा हो । सबै सडकमा लाउड स्पिकर राखेर आमसभा गर्नुपर्ने अवस्था आउँछ । आलोचक मित्रहरुलाई मन थामेर बस्नुस् । हेर्दै जानुस्, नेपाल कता जान्छ । नेपाललाई समाजवाद उन्मुख हुनबाट, सामाजिक न्यायसहितको देश बनाउनबाट कसैले रोक्न सक्दैन ।’

पहिलो पटक चीनसँग पारवहन सन्धि गरेको कारण र दोस्रो पटक नक्सा छापेपछि आफूलाई सरकारबाट हटाउन उत्पात मच्चाइएको र त्यसका लागि नक्कली राष्ट्रवादको नारा लगाउने काम भएको ओलीको दाबी थियो ।

प्रकाशित : माघ २३, २०७७ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्

गृहमन्त्रीको अभिव्यक्तिप्रति टिप्पणी गर्दै भीम रावलले भने : निरंकुशतन्त्र ढल्छ

कान्तिपुर संवाददाता

काठमाडौँ — पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाह बन्ने दु:स्वपन देखेको बताएका छन् ।

नेता रावलले प्रधानमन्त्री ओलीले निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दु:स्वप्‍न देखेको बताएका हुन् । शुक्रबार आयोजित आमसभामा ओली नेतृत्वको सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री थापाले मांसाहारी आन्दोलन गर्नेलाई जाउलाखेलको चिडियाखानामा लगेर थुन्ने बताएका थिए ।

त्यसैको प्रतिक्रियामा भीम रावलले सामाजिक सञ्‍जालमा लेखेका छन्, 'प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन र मनपरी गर्ने असंवैधानिक कार्यका विरूद्ध आन्दोलन गर्नेहरूलाई जाउलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्रीको भाषणले प्रम ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दु:स्वप्न देखिरहनु भएको पुष्टि हुन्छ । निरंकुशतन्त्र ढल्छ।'

सम्बन्धित समाचार

प्रकाशित : माघ २३, २०७७ १५:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×