संवैधानिक निकायमा ‘जबर्जस्ती’ नियुक्तिको तयारी

कृष्ण ज्ञवाली

काठमाडौँ — सरकारले विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ३८ जना पदाधिकारीहरूको नियुक्तिको तयारी थालेको छ ।

संविधानअनुसार संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि नियुक्त हुनुपर्ने भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा संवैधानिक परिषद्को सचिवालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नियुिक्तका लागि पत्राचार गर्ने तयारी गरेको हो । यसमा गत आइतबार सभामुख अग्निप्रसाद सापकोटाले पत्र पठाएर विमति राखिसकेका छन् ।

‘४५ दिनमा अनुमोदन नभएमा नियुक्तिका लागि बाधा पर्दैन भन्ने कानुनी व्यवस्था छ । सिफारिस पत्राचार भएको मिति पुस ५ ले गणना गर्दा मंगलबार ४५ दिन कटिसकेको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले भन्यो, ‘सम्भवतः बुधबार वा बिहीबार परिषद्का सचिवसमेत रहेका मुख्यसचिवले नियुक्तिका लागि पत्राचार गर्नु हुनेछ । अनि राष्ट्रपति कार्यालयमा हुने समारोहमा शपथग्रहण गराई नियुक्त गर्ने योजना छ ।’ सिफारिस भएका ४५ जना भनिए पनि परिषद्ले गत पुस ५ गते ३८ जनाको नाम संघीय संसद् सचिवालयमा पठाएको थियो ।

संवैधानिक परिषद्को आवरणमा सरकारले थालेको नियुक्तिको तयारी विभिन्न कारणले विवादास्पद बनेको हो । एकातिर सरकारले संविधानको व्यवस्थाविपरीत हुने गरी अध्यादेश जारी गरेर परिषद्को बैठकबाट निर्णय गरेको थियो । त्यसबारे प्रश्न उठाई दर्ता गरिएको निवेदन सर्वोच्च अदालतमा डेढ महिनादेखि अलपत्र छ । अर्कोतर्फ, संसदीय सुनुवाइ नै हुन नसक्ने अवस्थामा पठाइएको सिफारिसमाथि सभामुखले समेत प्रश्न उठाई कागजात फिर्ता पठाएका छन् । त्यसका बाबजुद परिषद्ले नियुक्तिका लागि पत्राचार गर्ने तयारी गरेको हो ।

संविधानको धारा २९२ मा ‘संवैधानिक पदाधिकारीहरूको नियुक्तिअघि संसदीय सुनुवाइ हुने’ भन्ने व्यवस्था छ । अनि संघीय संसद्को संयुक्त बैठक (कार्य सञ्चालन) नियमावलीको नियम २६ मा ‘समितिले सिफारिसको पत्र प्राप्त भएको मितिले ४५ दिनभित्र सुनुवाइ गरिसक्नुपर्ने तर त्यो अवधिभित्र आफ्नो निर्णय उपलब्ध गराउन नसकेमा नियुक्तिका लागि बाधा नपर्ने भन्ने व्यवस्था छ । अहिले सरकारले नियमावलीको यही व्यवस्थालाई टेकेर नियुक्तिको प्रयास गरिरहेको हो । तर विपक्षी दलहरू एवं सभामुखको भनाइमा, संविधानको धारा २९२ मा नै स्पष्ट रूपमा संसदीय सुनुवाइ हुनुपर्ने भन्ने व्यहोरा भएकाले त्यसलाई खण्डित हुने गरी नियमावलीको व्यवस्था आकर्षित हुन सक्दैन । साथै समितिले पत्र पाएको ४५ दिनभित्र नियुक्त हुनुपर्ने व्यवस्था भएको भन्दै उनीहरू अहिले प्रतिनिधिसभा विघटन भएका कारण समिति क्रियाशील हुन नसकेको र ४५ दिनको समय सीमा सुरु हुन नसकेको जिकिर गरेका छन् । यो विषयको विवाद पनि सर्वोच्च अदालतभित्र प्रवेश गरिसकेको छ ।

बैठक किन बोलाइयो ?

संवैधानिक परिषद्को सचिवालय स्रोतका अनुसार, गत मंसिर ३० गतेका दिन भएको निर्णयमा संवैधानिक आयोगअनुसार हरेक निकायको एकमुष्ट सिफारिस गरिएको थियो । तीमध्ये केही संवैधानिक निकायका प्रस्तावित पदाधिकारीहरूले आफूले पद नलिने भन्दै सिफारिस अस्वीकार गरेका थिए । ‘अब संवैधानिक परिषद्का सचिवका रूपमा रहेका मुख्यसचिवले हरेक पानामा गरिएको निर्णयको बीचबीचमा रहेका ती नाम न हटाउन सक्नुहुन्छ, न ती नाम सिफारिस गरेर नियुक्त गर्न सक्ने नै अवस्था छ,’ परिषद् स्रोतले भन्यो, ‘त्यसैका लागि सूची संशोधन गर्न परिषद् बैठक डाकिएको थियो, तर प्रधानन्यायाधीशले त्यसमा रुचि नदेखाएपछि सम्भव भएन ।’

संवैधानिक परिषद्को अध्यादेशको वैधतामाथि प्रश्न उठाइएको रिट निवेदन सर्वोच्च अदालतमा आफ्नै नेतृत्वको संवैधानिक इजलासमा विचाराधीन भएकाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई परिषद्को बैठकमा जान नैतिक रूपमा संकट छ । त्यसैले मंगलबार साँझ र बुधबार परिषद्को बैठक डाकिएपछि उनले स्थगित गरिदिनका लागि खबर पठाए । त्यसपछि संवैधानिक परिषद्कै सचिवालयले अर्को सूचना नभएसम्म बैठक स्थगित भएको भनी पत्र पठाएको छ । ‘अब संवैधानिक परिषद्को अध्यक्षका हैसियतले प्रधानमन्त्रीको निर्देशनअनुसार मुख्यसचिवले राष्ट्रपति कार्यालयमा सोझै पत्र पठाउनुहुन्छ,’ परिषद् स्रोतले भन्यो, ‘त्यही पत्रका आधारमा पदाधिकारीहरू नियुक्त गर्ने तयारी छ ।’

सर्वोच्चले दर्ता गरेन निवेदन

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संवैधानिक पदाधिकारीहरूको नियुक्ति रोक्न माग गरेको निवेदन मंगलबार सर्वोच्च अदालतले दर्ता गरेन । सिफारिसको ४५ दिन बितेपछि ती व्यक्तिहरूलाई नियुक्त गर्ने तयारी भएको भन्दै त्रिपाठीले त्यसविरुद्ध सर्वोच्चमा निवेदन पेस गरेका थिए । राष्ट्रपतिको कार्यालय, शीतल निवाससहित संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री अनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध दिइएको निवेदनमा गत मंसिर ३० गतेको निर्णय कार्यान्वयन रोक्न अनि निर्णय बदर गराउन माग छ ।

‘संविधानको धारा २९२ मा संवैधानिक पदाधिकारी र राजदूतको नियुक्त हुनुअघि संसदीय सुनुवाइ हुनेछ भन्ने व्यवस्था छ,’ निवेदनमा उनले भनेका छन्, ‘यो प्रावधान छल्न वा बेवास्ता गर्न पाउने गरी संविधानले कहीं कतै सुविधा प्रदान गरेको छैन ।’ नियुक्ति रोक्न अन्तरिम आदेश पनि उनले माग गरेका छन् । सर्वोच्चले त्रिपाठीको निवेदन दर्ता गरेको भए संवैधानिक परिषद्को सचिवालयलाई अदालतमा विचाराधीन विषयमा नियुक्तिको पत्र पठाउन कठिन हुने थियो ।

प्रकाशित : माघ २१, २०७७ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्

करिडोर सडकलाई समन्वय र बजेटको अवरोध

ट्राफिक जाम छल्ने बाटो बने पनि सुकुम्बासी बस्तीका कारण ठाउँठाउँमा काम रोकियो
विमल खतिवडा

काठमाडौँ — ट्राफिक जामको विकल्पका रूपमा लिइएका उपत्यकाका नदी किनारका सडक निर्माणमा सरकारी व्यवस्थापन र बजेटको समस्या देखिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका नदी किनारमा करिडोर निर्माणको काम सुरु भए पनि पर्याप्त बजेट अभावमा ती समयमै सम्पन्न हुन सकेका छैनन् ।

मुख्य रूपमा वाग्मती र त्यसका सहायक नदी विष्णुमती, धोबीखोला, हनुमन्ते, नख्खु, बल्खु, कर्मानाशा, मनोहरा, महादेवखोला र टुकुचामा करिडोरको काम भइरहेको छ । यी नदी किनारमा कतै सडक, कतै ढल र नदी तटबन्ध निर्माणका काम जारी छन् । केहीको भने डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) बनाएर काम हुँदै छ ।

‘अहिले सबैभन्दा ठूलो समस्या बजेटको भएको छ,’ अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कार्यकारी समिति अध्यक्ष उद्धवप्रसाद तिमल्सेनाले भने, ‘योजना गरेर पठाएको बजेट अर्थ मन्त्रालयले घटाइदियो, अहिले भुक्तानी दिन समस्या भएको छ ।’ योजना बनाएर अर्थ मन्त्रालयमा पठाएसँगै ठेक्का गरिएको उनको भनाइ छ । ‘भने जति बजेट आउँछ भनेर धेरैतिर ठेक्का गरियो,’ उनले भने, ‘तर घटेर आउँदा काम सक्न गाह्रो भएको छ ।’

योजनाअनुसार चालु आर्थिक वर्षमा ३ अर्ब रुपैयाँभन्दा बढी चाहिने थियो । गत आर्थिक वर्षमा ४ अर्ब ७२ करोड रुपैयाँ आएकामा चालु आर्थिक वर्षमा २ अर्ब ५२ करोड मात्र विनियोजन भएको कार्यालयका सूचना अधिकारी कमल अर्यालले जानकारी दिए । करिब एक महिनादेखि कार्यालय आयोजना प्रमुखविहीन छ । जसले गर्दा कार्यालयमा कामसमेत प्रभावित बन्दै आएका छन् ।

‘कर्मचारी चलाउँदा सहरी विकास मन्त्रालयले अध्यक्षसँग समन्वय गर्दैन,’ अध्यक्ष तिमल्सेनाले भने, ‘अहिले प्रमुख नहुँदा कर्मचारीलाई तलब खुवाउन पनि सकिएको छैन ।’ चालु आर्थिक वर्षमा १ अर्ब ८९ करोड रुपैयाँ अर्थले निकासा गरिदिए अहिले ठेक्का भएका सबै काम सकिनेछन् । त्यस्तै एसियाली विकास बैंक (एडीबी) को पनि ऋण तथा अनुदान सहयोगमा वाग्मती नदी सौन्दर्यीकरणको काम दुई प्याकेजमा भइरहेको छ । २८ मठ, मन्दिर तथा देवालय पुनर्निर्माणको काम पनि जारी छ ।

वाग्मतीको सिनामंगलदेखि तीनकुनेका किनारसम्म सुकुमबासी बस्ती पर्छ । करिडोरको काम काम गर्दा यहाँ अवरोध हुने गरेको छ । सुकुमबासी बस्ती रहेका अन्य ठाउँमा पनि कामले गति लिन सकेको छैन । ‘भक्तपुरको हनुमन्तेमा वर्षौंदेखि करिडोर खोल्न नदिएपछि प्रहरी प्रशासन लगाएर काम गर्नुपरेको छ,’ तिमल्सेनाले भने, ‘कतिपयको जग्गा गएको छ । तर करिडोर बनेपछि उनीहरूलाई भविष्यमा फाइदा नै हुनेछ ।’ ढल बन्छ, सडक कालोपत्र हुन्छ । ललितपुरको कर्मानाशा–गोदावरी क्षेत्रमा जबर्जस्ती करिडोर मिचेर घरटहरा बनाइएका छन् । तिनलाई भत्काएर करिडोरलाई व्यवस्थित गरिने उनको भनाइ छ ।

‘२०६६ सालदेखि वाग्मती सभ्यताका नाममा उपत्यकाका सबै मालपोतबाट मालपोत रजिस्ट्रेसन दस्तुरको शून्य दशमलव ५ प्रतिशत सरकारले उठाउँदै आएको थियो । २०७५ बाट भने वाग्मती प्रदेश सरकारले उठाउन थालेको छ,’ उनले भने, ‘सरकारले हामीलाई दिएको छैन । यो पैसा आए सबै समस्या समाधान हुने थियो ।’ २०७५ सालअघिसम्मको पैसा अर्थ मन्त्रालयमा छ । तर मन्त्रालयले अहिलेसम्म दिएको छैन । ‘काठमाडौं उपत्यकालाई सफा, हराभरा र पर्यटकीय हिसाबले सुन्दर बनाउने करिडोरको उद्देश्य हो,’ तिमल्सेनाले भने, ‘वाग्मतीलाई नुहाउनयोग्य र किनारका दायाँबायाँ दुई लेन सडक बनाएर कालोपत्र गर्ने हो ।’ यसले उपत्यकाको बढ्दो ट्राफिक जाम केही हदसम्म व्यवस्थापन गर्ने उनको बुझाइ छ । तीन जिल्लाबाटै ओहोरदोहोर गर्न मिल्ने गरी करिडोर बनेका छन् । नदीमा ढल मिसाउने गरिएकाले भने समस्या भएको छ । ‘५ वर्षको सरसफाइ एक्सन प्लान बनाएर अघि बढ्दै छौं,’ उनले भने, ‘ढलमुक्त उपत्यका बनाएर करिडोरमा सीसी क्यामेरा राखी फोहोर गर्नेलाई दण्डित गर्ने योजना पनि छ ।’

अहिले गुह्येश्वरीदेखि गोकर्णसम्म साढे ६ किमिमा अवरोध छ । स्थानीयले १ सय ८८ रोपनी जग्गाको मुआब्जा मागेपछि काम रोकिएको हो । ‘सुरुमा कतिपयलाई सहमति गराएर काम गरियो, कति हुन सकेन,’ उनले भने, ‘त्यो बेला खोलामा परेको जग्गाको कित्ताकाट हुन सकेन, कतिपय मर्का परेकालाई अर्को ठाउँमा जग्गाको व्यवस्था पनि भएन ।’ वाग्मतीका विभिन्न्न खण्डको २ दशमलव ५ किमि क्षेत्रमा सुकुम्बासीका घरटहरा छन् । यी क्षेत्रमा पनि काम अघि बढेको छैन । वाग्मतीको सुन्दरीजलबाट चोभारसम्म २४ किमिमध्ये १८ किमिमा काम भइरहेको छ । दायाँबायाँ किनारको दूरी जोड्दा भने दोब्बर हुनेछ ।

तीनकुनेबाट सिनामंगलसम्मको डेढ किमि क्षेत्रमा ठेक्का भएको दुई वर्षमा अहिलेसम्म करिब २० वटा मात्र घर भत्काइएको छ । करिब ५ सय घर करिडोरमा पर्छन् । नदी किनारलाई विद्यालय र धार्मिक संघसंस्थाले पनि अतिक्रण गरेको पाइएको छ । ‘यसरी बनाइएका घरटहरा भत्काउन सूचना जारी गरिसकिएको छ,’ तिमल्सेनाले भने ।

सबै करिडोर सम्पन्न हुन अनुमानित करिब २६ अर्ब ३५ करोड ४६ लाख ३० हजार रुपैयाँ लाग्ने सूचना अधिकारी एवं इन्जिनियर अर्यालको भनाइ छ । ‘यति बजेट भयो भने वाग्मती र तिनका सहायक नदीमा करिडोरको काम तीन वर्षभित्र सकिनेछ,’ उनले भने, ‘योजनाअनुसार बजेट नहुँदा समस्या भएको छ । उनका अनुसार २०५१ साल चैतमा पशुपति क्षेत्र वातावरण सुधार कार्यान्वयन तथा अनुगमन समिति गठन भएको हो । यो स्थापना गर्नुको उद्देश्य पशुपति क्षेत्रको ढल र बाटो सुरक्षित गर्ने थियो । २०५२ साल मंसिरमा अधिकारसम्पन्न पशुपति क्षेत्र ढल निर्माण सुधार कार्यान्वयन तथा अनुगमन समिति गठन भएको हो ।

त्यस्तै २०६४ जेठमा वाग्मतीका सहायक नदीलाई समेत सुधार गर्ने अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति बनाइयो । वाग्मती नदी किनारमा घाट, फुटपाथ, बगैंचा, वृक्षरोपण र पार्क निर्माणका योजना ठेक्काभित्रै पर्छन् । गुह्येश्वरीदेखि गोकर्णसम्मको जग्गाको मुआब्जाबारे आफ्नै अध्यक्षतामा सम्बोधन गर्ने गरी समिति गठन भएको र त्यहीअनुसार काम भइरहेको सहरी विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिए ।

वाग्मती र यसका सहायक नदीका दुवै किनाराको सुरक्षा गरेर बाटो खोल्नु तत्कालको उद्देश्य रहेको उनले सुनाए । नयाँ बसर्पाकबाट बालाजुतर्फ सुकुम्बासी बस्ती भएकाले विष्णुमतीको करिडोर खुलेको छैन । यही नदीका अन्य ठाउँमा भने करिडोर खुलिसकेको छ । बल्खु खोलामा पनि कतै खुलेको र कतै खुलाइँदै छ । धोबीखोला करिडोरमा यो वर्ष करिडोर निर्मण सकिन्छ । ‘हनुमन्ते, मनोहरा सबैतिर करिडोर खोल्ने काम जारी छ,’ दवाडीले भने ।

नदीका दुवै किनारमा करिडोर बन्नुपर्ने पूर्वसचिव किशोर थापा बताउनुपर्ने बताउँछन् । ‘यसले नदी किनारका बस्तीको पहुँच बढाउँछ, सुविधा वृद्धि हुन्छ, सहरको ट्राफिक व्यवस्थापनमा पनि राहत दिन्छ,’ उनले भने, ‘अर्को कुरा नदीको सीमांकन गर्ने काम पनि गर्नेछ ।’ तर किनारका सडक साँघुरा भएको उनको भनाइ छ । ‘ट्राफिक जाम बढ्दो छ, चार लेनको सडक बनाउन पाएको भए राम्रो हुने थियो,’ उनले भने, ‘दुई लेनको मात्र बनाउँदा सार्वजनिक यातायात चलाउन गाह्रो पर्छ ।’

प्रकाशित : माघ २१, २०७७ ०७:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×