कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

जब प्रजातान्त्रिक मूल्य र मान्यता कुल्चिन्छन्, नागरिक समाज उठ्नै पर्छ : प्रा. माथेमा 

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक केदारभक्त माथेमाले मुलुकमा भयानक विकृति रहेको भन्दै नागरिक समाजले निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिएका छन् । 

जब प्रजातान्त्रिक मूल्य र मान्यता कुल्चिन्छन्, नागरिक समाज उठ्नै पर्छ : प्रा. माथेमा 

प्रतिनिधिसभा विघटनको विरोधमा 'बृहत् नागरिक आन्दोलन' ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्राध्यापक माथेमाले संसद् पुन:स्थापना भएरमात्रै सबै कुरा समाधान नहुने भन्दै यहाँ देखिएका भयानक विकृतिमा खबरदारी गर्नुपर्ने बताएका हुन् । 'मेरो विचारमा संसद् पुन:स्थापना भएरमात्रै सबै कुरा सिद्धिने होइन । यहाँ भयानक विकृति देखेका छौं । भयानक विकृति हामीले खेपेका छौं ,' उनले भने, 'एउटा त इलेक्सन प्रोसेस नै हामीले कत्ति महँगो बनाएका छौं । यसलाई पनि एड्जस्ट गर्नुपर्छ । निर्वाचन प्रक्रियाका कारण भ्रष्टाचार, गडबढी हुने हो । नेपालले यो धान्न सक्दैन । नागरिक समाज एकदमै बढेर आओस् ।'

प्रजातान्त्रिक मूल्य, मान्यता खतरा पर्ने वित्तिकै नागरिक समाज उठनु पर्ने भन्दै उनले आन्दोलनमा प्राध्यापकहरु नदेखिनु दु:खको कुरा भएको बताए । 'जब प्रजातान्त्रिक मूल्य र मान्यता कुल्चिन्छन्, पछारिन्छन्, फालिन्छन् । नागरिक समाज उठ्नै पर्छ । नागरिक समाजको यो आन्दोलनमा प्राध्यापक देखिनु पर्ने मैले, दु:खको कुरो देखिरहेको छैन ।'

संघीयता र समाजवादप्रति सरकार र दलहरुको प्रतिबद्धता नदेखिएको भन्दै प्राध्यापक माथेमाले असन्तुष्टि जनाए । 'संघीयताप्रतिको प्रतिबद्धता आउनु पर्‍यो । भाषणमामात्रै होइन । अहिले के भयो, ६ महिनापछि के गर्नुहुन्छ ? अधिकार प्रत्यायोजन गर्दै जानुपर्ने हो । हामीले दुई/चार वर्षको अभ्यासमा प्रतिबद्धता देखिएन ,' उनले सुनाए, 'समाजवादी खालको रिपोर्ट आयो भने चकटीमुनि राखिदिने, बाहिर निकाल्दै, निकाल्दैनन् । हाम्रो चिकित्सा शिक्षाको प्रतिवेदन पनि उहाँहरुले डेढ महिनासम्म लुकाइदिनु भयो । यस्तो नि प्रजातन्त्र ? यो प्रजातन्त्र हो भने हामीलाई चाहिएन ।'

मन्त्रीकै अध्यक्षतामा भएको उच्चस्तरीय समितिको प्रतिवेदन लुकाइएको भन्दै उनले आपत्ति जनाएका हुन् । कार्यक्रममा तुलानारायण साह, रिता परियार लगायतले बोलेका थिए । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरिदिएपछि उक्त कदम असंवैधानिक भन्दै नागरिक समाजले आन्दोलन थालेको हो ।

प्रकाशित : माघ १८, २०७७ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×