१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कोरोनाविरुद्धको खोप अभियान सुरु : पहिलो खोप डा. राजभण्डारीले लगाए

काठमाडौँ — सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान बालुवाटारबाटै भिडियो कन्फरेन्समार्फत खोप अभियानको उद्घाटन गरेका हुन् ।

कोरोनाविरुद्धको खोप अभियान सुरु : पहिलो खोप डा. राजभण्डारीले लगाए

अभियान उद्घाटनलगत्तै नेपालमा कोरोनाको पहिलो खोप काठमाडौंको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाएका छन् । कोरोनाविरुद्धको सुरक्षित खोप लगाउन डराउनु पर्दैन भन्ने सन्देश दिन आफूले सुरुमै खोप लगाएको उनको भनाइ छ ।

उनीसँगै डा‍. अनुप बाँस्तोला र डा. रुना झाले पनि कोरोना खाेप लगाएका छन् । यससँगै देशैभर कोरोना खोप अभियान सुरु भएको छ ।

काठमाडौं उपत्यकामा १७ वटासहित देशभर १ सय २० केन्द्रबाट कोरोना खोप दिइनेछ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिसिल्ड’ नामक खोप पहिलो चरणमा बुधबार स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने व्यक्ति, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, वृद्धाश्रममा काम गर्ने कर्मचारीलाई दिइँदै छ । शुक्रराज अस्पतालमा कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनमा खटिएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा सफाइकर्मी गरी २६४ जनाले बुधबार खोप लगाउँदै छन् ।

यही अस्पतालमा रहने खोप केन्द्रमा स्वास्थ्य सेवा विभागअन्तर्गत रहेका स्वास्थ्यकर्मी, काठमाडौं अस्पताल, ब्लुक्रस, राजधानी अस्पतालका २ हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई पनि खोप दिइनेछ ।

काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पहिलो दिन नै ३ सय जना स्वास्थ्यकर्मीले खोप लगाउने भएका छन् । यहाँको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र बीपी कोइराला नेत्र अध्ययन केन्द्रका ३ हजारभन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मीले पनि खोप लगाउने छन् ।

कान्ति बाल अस्पताल, चिरायु अस्पताल र ईशान बाल अस्पतालका स्वास्थ्यकर्मीले पनि टिचिङ अस्पतालमै खोप लगाउने गरी केन्द्र निर्धारण गरिएको छ । सशस्त्र प्रहरी अस्पताल बलम्बुमा ५ सयभन्दा बढीले खोप लगाउँदै छन् । पहिलो चरणमा कुल ४ लाख ३० हजारलाई खोप दिने तयारी छ ।

प्रकाशित : माघ १४, २०७७ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?