३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्‍वास प्रस्ताव सदनमा पेस

माघ १९ गतेसम्मका लागि प्रदेशसभा बैठक स्थगित
सुवास विडारी

हेटौंडा — वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव सदनमा पेस भएको छ । शुक्रबार दिउँसो १ बजे बसेको प्रदेशसभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले सांसद् अरुण नेपाललाई मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव सदनमा पेस गर्न अनुमति दिएका थिए ।

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्‍वास प्रस्ताव सदनमा पेस

पुस १० गते सत्तारुढ नेकपाका दाहाल–नेपाल समूहका ४५ जना सांसदहरुको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता भएको थियो ।

अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस गर्दै पूर्व उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्रीसमेत रहेका नेपालले मुख्यमन्त्री पौडेलले तीन वर्षको अवधिमा प्रदेशलाई स्थापित गर्नबाट चुकेको, कोरोना महामारीमा प्रदेश सरकारको भूमिका कमजोर रहेको र प्रदेशप्रति जनताको विश्वास कमजोर बन्दै गएको कारण अविश्वासको प्रस्ताव दर्ता गरिएको बताए । उनले सदनमा मुख्यमन्त्री पौडेललाई नेकपाको संसदीय दलको नेताबाट पदमुक्त गरिएको र नयाँ मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको समेत बताएका थिए ।

उक्त प्रस्ताव पेस भएसँगै प्रदेशसभाको बैठक सभामुख श्रेष्ठले स्थगित गरेका थिए । प्रदेशसभाको अर्को बैठक माघ १९ गते दिउँसो २ बजे बस्ने भएको छ । ‘अबको प्रदेशसभाको बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल अगाडि बढ्नेछ,’ सभामुख श्रेष्ठले भने ।

प्रकाशित : माघ ९, २०७७ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?