कार्यकर्तालाई ओलीको आग्रह- 'भगौडाका पछाडि नलाग्‍नुस्'

देशभरबाट १० सिट चुनाव जितेर देखाउन दाहाल–नेपाल समूहलाई ओलीको चुनौती

पुस २४, २०७७

अर्जुन शाह

धनगढी — प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार धनगढीमा आयोजित नेकपा ओली समूहको आमसभालाई सम्बोधन गर्दै दाहाल–नेपाल समूहलाई भगौडाकाे संज्ञा दिएका छन् । उनले पार्टी छाडेर गएका भगौडाका पछाडि नलाग्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

‘तपाईंहरूले पार्टी छोडेर हिँडेका केही भगौडाहरुको कुरा सुन्नु भएको होला । केन्द्रीय कमिटीका बैठकमा नआएर, अन्त अन्त गएर सडकमा गएर हामी यहाँ छौं रे । गाली गरेर, पत्रपत्रिकामा लेखाएर हामी यता छौँ भनेका छन् । हामीलाई गाली गर्ने फुर्सद छैन। हामी दन्तबजान गर्ने फुर्सद छैन । हामीलाई देश बनाउनु छ,' ओलीले भने ।

उनले  दाहाल–नेपाल समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावललाई लक्षित गर्दै कडा शब्दमा आलोचना गरेका छन् । ‘लिपुलेक लिम्पियाधुराको अतिक्रमित भूमिसहितको नक्सा सार्वजनिक गरेपछि यही प्रदेशका केही मान्छेलाई छटपटी भएको छ,’ प्रधानमन्त्री ओलीले रावलको नाम नलिई भने, ‘उहाँलाई मात्र मन्त्री बनाउनु पर्ने ?, पद पाए ठिक नत्र बेठिक ?, अहिले चारचार जना मन्त्री बनाउदा पनि उहाँ दु:खी हुनुको कारण बन मास्ने योजना सफल नहुने देखेर हो ।’ 

देशभरबाट १० सिट चुनाव जितेर देखाउन दाहाल–नेपाल समूहलाई चुनौती

ओलीले दाहाल–नेपाल समूहलाई देशभरबाट दुई अंगको संख्यामा चुनाव जितेर देखाउन चुनौती दिएका छन् । देशभरबाट दुई अंक अर्थात् १० सिटमा चुनाव जितेर देखाउन दाहाल–नेपाल समूहलाई चुनौती दिएका हुन् । ‘चोईटिएर जानेहरुलाई दुई अंकमा चुनाव जितेर देखाउनुस् । १० वटा सिट ल्याएर देखाउनुस् । उहाँहरुले ठूल्ठूला कुरा गर्नुहुन्छ,’ ओलीले भने ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully