पत्नीको उपचारमा दाहाल भारतमा, होला त राजनीतिक भेट ? - समाचार - कान्तिपुर समाचार

पत्नीको उपचारमा दाहाल भारतमा, होला त राजनीतिक भेट ? 

दाहालको सचिवालय भन्छ : राजनीतिक भेटघाटको कुनै कार्यक्रम छैन 
बबिता शर्मा

काठमाडौँ — पत्नी सीता दाहालको उपचारको सिलसिलामा सोमबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल भारतको मुम्बई गएका छन् । नेपाल वायु सेवा निगमको नियमित उडानबाट उनीहरु दिल्ली प्रस्थान गरेको केही घण्टापछि उपप्रधानमन्त्री एवं नेकपाको ओली समूहका नेता ईश्वर पोखरेलले सीताको स्वास्थ्य लाभको कामना गरे ।

तर, उनले भ्रमणमा दाहालले गर्न सक्ने राजनीतिक भेटलाई लिएर ‘आंशका’ पनि व्यक्त गरे । अध्यक्ष दाहालसँगै छोरीहरु रेणु र गंगा पनि मुम्बई गएका छन् ।

‘आज कमरेड पुष्पकमल दाहाल प्रचण्ड गम्भीर अस्वस्थता झेलिरहेकी आफ्नी पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई प्रस्थान गर्नुभएको छ । सीताजीको स्वास्थ्य लाभको कामना ! हालै भारतीय सञ्‍चारमाध्यमहरूले ‘प्रचण्डले नेपालमा देखापरेको राजनीतिक समस्या समाधानका लागि खासगरी नेकपाभित्र देखापरेको समस्या समाधानका लागि भारतसित सहयोगको माग गरे’ भन्ने समाचारसित जोडिएर सीताजीको उपचारमा कहीँकतै अलमल नहोस् भन्ने सुझाव दिन चाहन्छु । सीताजी चाँडै स्वास्थ्यलाभ गरी फिर्नुहोस्–हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु’ पोखरेलले सामाजिक सञ्जालमार्फत लेखे ।

दाहालकै अभिव्यक्तिलाई लिएर उपप्रधानमन्त्री पोखरेलले शंका गरेका हुन् । संसद् विघटनमा भारतलगायतका देशले औपचारिक धारणा सार्वजनिक नगरेकोमा दाहालको असन्तुष्टि थियो ।

कान्तिपुर टेलिभिजनको एक कार्यक्रममा दाहालले भनेका थिए, ‘...संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै सबै सबै सडकमा छन्...मैले चीनबाट यसमा यति धेरै नैतीक समर्थनको अपेक्षा गरेको होइन । मैले भारतबाट अपेक्षा गरेको हुँ । अमेरिका, युरोपबाट जसले हामीलाई पार्लियामेन्ट्री डेमोक्रेसीको (संसदीय प्रजातन्त्र) र कस्टिच्युसनलिजम (संविधानवाद)को प्रवल पक्षधर ठान्छन्, त्यस्ता देशहरुको नैतीक समर्थन चाहेको हो ।’

उनले थप अगाडि भनेका थिए, ‘यो शान्तिप्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको प्रक्रियामा भारतको पनि नैतिक समर्थन रहेको कुरा इतिहासमा स्थापित नै छ । अहिले यो संकटमा पर्न लागेको बेला मौन बसिराख्नु त्यति स्वाभाविक लाग्दैन । तर यो आलोचना नबुझियोस् फेरि । यहाँ संविधानवाद र लोकतन्त्रमाथि जबरजस्ती कुल्चिन खोजिएको छ । मैले नैतिक समर्थन खोजेको छु ।’

दाहालको सचिवालयले भारतमा रहँदा राजनीतिक भेटबारे कुनै कार्यक्रम नभएको बताएको छ । तर, दाहाल–नेपाल समूहकै एक नेता राजनीतिक भेट सम्भव ठान्छन् । ‘पूर्वप्रधानमन्त्री र देशको ठूलो पार्टीको अध्यक्ष भ्रमणमा गएको बेला भेटघाट नै हुँदैनन् भन्ने होइन । तर, कसैले भेटन खोजे म भेट्दिनँ भन्ने हुँदैन,’ दाहाल नजिक मानिने स्थायी कमिटीका एक सदस्यले भने ।

संसद् विघटनलाई गैरसंवैधानिक र अलोकतान्त्रिक भन्दै नेकपाको दाहाल–नेपाल समूह सडक संघर्षमा छ । उसले शनिबारमात्रै दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

विगतमा उपचारका क्रममा विदेश जाँदा विभिन्न दलका शीर्ष नेताहरुले नै गोप्य रुपमा ‘राजनीतिक एवं कुटनीतिक भेट’ गर्दै आएको अवस्थामा सरकारमा दोस्रो वरीयतामा रहेका मन्त्रीले दाहालको भ्रमणलाई लिएर आंशका जनाएका हुन् । नेपालका ठूला राजनीतिक घटनामा अन्तराष्ट्रिय समुदायले चासो राख्ने र त्यसपछि छिमेकी भारत र चीनको ‘उपस्थितिपूर्ण र अर्थपूर्ण चासो’ रहने गरेको छ ।

पुस ५ मा प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि पनि चीन र भारतले चासो राखेका छन् । यही सिलसिलामा चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले नेपालको चार दिने भ्रमण गरेर फर्केको छ । पुस १२ मा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा आएको प्रतिनिधिमण्डले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, नेकपाका अध्यक्षद्वय दाहाल र नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, वामदेव गौतम, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा नेता बाबुराम भट्टराईलगायतलाई भेटेको थियो ।

संसद् विघटन अगाडि भारतीय पक्षबाट भएका भ्रमण र भेटलाई लिएर दाहाल–नेपाल सुरु देखि नै सशंकित थियो । कात्तिक ५ मा भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयल काठमाडौं आएर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए । गोयलले प्रधानमन्त्री ओलीसँग राति तीन घण्टा वार्ता गरेका थिए । यो विषयले नेकपाभित्र भाँडभैलो भएको थियो ।

‘रअ’ प्रमुख गोयल फर्केको दुई सातापछि कात्तिक १९मा भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल भ्रमण गरेका थिए । नरवणे फर्केपछि ११ मंसिरमा भारतीय विदेशसचिव हर्षवर्धन शृंगलाको भ्रमण भएको थियो । शृंगलापछि मंसिर २५ मा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाल भ्रमण गरेका थिए । उनी नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणामा आएका थिए ।

चौथाइवालेले प्रधानमन्त्री ओली तथा उनीनिकटका नेतासँग भेट गरेका थिए । भाजपाका विदेश विभाग प्रमुखको भ्रमणको केही दिनमै प्रधानमन्त्री ओलीले संसद् भंग गरेका थिए । त्यसैले संसद् विघटनमा भारतीय भूमिकालाई दाहाल–नेपालसमूहले शंकाको दृष्टिले हेरेको छ ।

प्रकाशित : पुस २१, २०७७ १४:११
प्रतिक्रिया
पठाउनुहोस्

यसरी खिचियो यो फोटो

सन् २०२० को अन्तिम सूर्य यति बेला प्रकृतिमा लालिमा छर्दै आफूचाहिँ कुनै ग्रामीण मनुवाको साइकलको गहना बनेर त्यसको चक्कामा चम्किरहेको थियो ।
मनोज पौडेल

सन् २०२० को बिदाइ क्षणलाई कसरी सिर्जनात्मक बनाउने ? मनमा कुरा खेल्दै थियो । दुई–चार दिनअघिदेखि नै योजना बनाउँदै थिएँ । समय र परिस्थिति अनुकूल भए एउटा राम्रो फोटो खिच्ने गरी मस्तिष्कमा स्केचहरू कोरेको थिएँ ।

इनोभेटिभ काम गर्न क्षमता र कला चाहिन्छ । त्यही हुटहुटीका कारण फोटो पत्रकारितामा विस्तारै लगाब बढ्दै थियो । ६/७ वर्षदेखिको त्यही लगाबलाई सिर्जनशीलतामा बदल्न सन् २०२० को अन्तिम सूर्यास्तलाई फोटोमा उतार्ने सोच बनाएँ । यस्तो त धेरैले सोचेका हुन्छन् । तर, अरूले भन्दा फरक गर्ने कसरी ?

अघिल्लो वर्ष खिचेको सूर्यास्तको फोटोले पनि पत्रिकामा राम्रै ठाउँ पाएको थियो । यसपालि त्यसभन्दा फरक र रोमाञ्चक फोटो खिच्ने चुनौती थियो । मैले कपिलवस्तु नगरपालिका–२, कुदान गाउँ, पश्चिम नहरको बाटोलाई छनोट गरेँ । कारण– त्यहाँदेखि पश्चिम निकै परसम्म गाउँबस्ती थिएन । सूर्य तलै खस्दासम्मको दृश्य पछ्याउन सकिन्थ्यो । अपराह्न ५ बजेतिर घरबाट क्यामरा र लेन्स लिएर बाइकमा निस्किएँ । १५ मिनेटमा त्यहाँ पुगेँ । हरेक सेकेन्डको ‘मुभमेन्ट’ महत्त्वपूर्ण हुने भएकाले एउटै क्यामेरामा लेन्स परिवर्तन गर्दै फोटो खिच्न सम्भव थिएन । क्याननको सेभेन्टी डीमा २४–१०५ एमएमको लेन्स लगाएँ । अर्को क्याननकै सिक्स डीमा ७५–३०० एमएमको लेन्स लगाएँ ।

साँझ ढल्कँदै गयो । म बाटोबाट पूर्वतिर अलि होचो ठाउँमा बसे । सूर्य लालीमय हुँदै ओह्रालिँदै थियो । मान्छेको आवतजावत पातलो थियो । गाईगोरु लिएर गोठालाहरू फर्कंदै थिए । सेभेन्टी डीले गाईगोरुसँगै अस्ताउँदै गरेको सूर्यको फोटो खिचेँ । तर जुम लेन्स प्रयोग नगरिएकाले सूर्य सानो र पर देखियो । सूर्य फोकस हुन जरुरी थियो, नयाँ वर्ष जान लागेको संकेत गर्ने मुख्य कुरा नै यही थियो ।

फेरि जुम लेन्स लगाएको क्यामराबाट अर्को फोटो लिने निर्णय गरेँ । यसबीच नहरको बाटोमा साइकल चढेर मानिसहरू आउन–जान थाले । म १२/१५ मिटर परबाट सय आईएसओमा २५ सयदेखि ३ हजार ‘सटर स्पिड’ राखेर क्यामरा चलाउन थालेँ । साइकल चालकको मुखको अगाडि, चक्काको अगाडि सूर्यलाई पारेर क्लिक गरेँ । चक्कापछाडि, टाउकोको माथि पारेर पनि खिचेँ । साझ ढल्कँदै गएपछि आईएसओ कम गर्दै गएँ । फोटो राम्रो आए पनि के नपुगे, के नपुगेजस्तो लाग्यो । उता कान्तिपुर र काठमाडौं पोस्टमा बिहानै फोन गरेर सूर्यास्तको तस्बिर पठाउने जानकारी गराइसकेको थिएँ । यता सूर्य डुब्न अब धेरै मिनेट बाँकी थिएन । तत्काल दिमागमा आयो, सूर्यलाई साइकलको चक्कामा पार्ने । तर तत्काल साइकलवाला आए पो ?

धन्न, केही परबाट एक जना साइकल चलाउँदै आएको देखेँ । सतर्क भएर बसेँ । टाइमिङ मिलाएर फोटो खिची पनि हालेँ । राम्रो आयो । तर फोटोमा सग्लो साइकल र मानिस मात्र थिए । लाग्यो– त्यसमा अघिपछि कतै झोला पनि झुन्ड्याएको दृश्य समेट्न पाए अझ जीवन्त हुने थियो । फेरि कुर्न थालेँ । लुक्दै गरेको सूर्यले मनमा तनाब बढाउँदै थियो । केही बेरमै एउटा साइकल आउँदै गरेको देखेँ । मेरो पहिलो ध्यान नै त्यसमा झोला छ कि छैन भन्नेमा गयो । नभन्दै रहेछ । ती युवक साइकलको पछाडिपट्टि झोला राखेर घरतिर हुइँकिँदै थिए । मैले खोजेजस्तै संयोजन ।

साइकलको चक्काको पनि बीच भागमा पारेर सूर्यलाई फोटोमा समेटेँ । अगाडिदेखि पछाडिको चक्कासम्म बीचमा पारेर फोटो खिचेँ । सन् २०२० को अन्तिम सूर्य यति बेला आफ्नो रूप फेर्दै कुनै ग्रामीण मनुवाको साइकलको गहना बनेर त्यसको चक्कामा चम्किरहेको थियो । गरिबी र असुविधाको अँध्यारोले छोपिएका कति मनुवाहरू हरेक नयाँ वर्षको आगमनसँगै जीवन चम्काइदिने यस्तै कुनै उज्यालो प्रवेश गर्ने सपना पालेर बसिरहेका होलान् !

फोटो देख्दै आनन्दित भएँ । तर त्यो आनन्द आफूमा मात्र राख्नु थिएन, सबैलाई बाँड्नु र अनुभूत गराउनु थियो । छिटो–छिटो घर आएँ । सामान्य सम्पादन गरेर पत्रिकालाई फाइल गरेँ ।

रातभरि मनमा कौतूहल जाग्यो– भोलि छापिँदा कस्तो आउला ? त्यसमाथि काठमाडौंमै काम गर्ने अग्रजहरूका फोटोसँग प्रतिस्पर्धा हुने भएकाले छापिन्छ कि छापिँदैन भन्ने खुलदुली पनि थियो ।

जे होस् भोलिपल्ट कान्तिपुर दैनिकमा त्यसले राम्रो ‘स्पेस’ पाएछ । मैले त्यो फोटो फेसबुकमा पनि सेयर गरेँ । इकान्तिपुरले पनि फेसबुक र ट्विटरमा पोस्ट गर्‍यो । त्यसपछि त फोटो क्षणभरमै भाइरल भइगयो । नाम चलेका पत्रकार वसन्त बस्नेत, नारायण अमृत, सीपी अर्याल, प्रदीपराज वन्त र अनमोलमणि पौडेललगायतले सन्देशसहित फोटो सेयर गरेका छन् । इकान्तिपुरले फेसबुकमा पोस्ट गरेको फोटोले ४ दिनमै ८ दशमलव ३ के लाइक पाएको छ । १ सय ३२ जनाले सेयर गरे ।

कमेन्टमा २ सय २७ जनाले फोटो उत्कृष्ट र पुरस्कृत हुन योग्य भएको टिप्पणी गरेका छन् । मैले धेरै फोटो खिचेँ । पुरस्कार पनि हात पारे । तर यो फोटोबाट छोटो समयमै धेरै चर्चा, प्रेरणा र स्याबासी पाएँ । यसबाट म निकै उत्साही भएको छु । फोटोमै थप सिर्जनात्मकता खोज्दै त्यसलाई बाहिर ल्याउन प्रेरणा मिलेको छ ।

प्रकाशित : पुस २१, २०७७ १४:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×