कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

गुडिरहेको मोटरसाइकलमै झम्टेर बाघले मार्‍यो

राजमार्गमा राति दुई पांग्रे सवारी साधन र पैदल हिड्न रोक
कमल पन्थी

बर्दिया — छोराको मोटरसाइकलमा पछाडि बसेकी एक महिलालाई गुडिरहेकै बेला बाघले झम्टेर लगेर मारेको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको अम्रेनी–चिसापानी खण्डमा शुक्रबार बेलुकी भएको घटनामा मृत्यु हुनेमा कैलालीको लम्कीचुहा नगरपालिका–४ कौवापुरकी ५२ वर्षीया नन्दकला थापा रहेको प्रहरीले जनाएको छ ।

सूपप्र १००८ प ६८०१ नम्बरको मोटरसाइकलमा उनी र छोरा सन्तोष कोहलपुर हुँदै घर जाँदै थिए । बेलुकी करिब ९ बजे घुम्ना पुल नजिक घटना भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बताए । ‘बाघले आमालाई लगेपछि मोटरसाइकलबाट लडेका सन्तोषले मोबाइलबाट प्रहरीलाई फोन गर्नुभएछ,’ उनले भने, ‘अनि प्रहरीले सेनालाई खबर गरेपछि तत्कालै राति नै खोजतलास गरे पनि फेला पार्न सकिएन ।’ नन्दकलाको शव शनिबार दिउँसो राजमार्गदेखि दक्षिण घना वन रहेको दुई किलोमिटर क्षेत्रभित्र फेला परेको हो ।

राजमार्गमा निकुञ्जको घना वन सुरु हुनुअघि अम्रेनीमा सेनाको चेकपोस्ट छ । वन्यजन्तुलाई बाधा नपुगोस् भन्दै सवारी साधनहरूलाई अम्रेनी–चिसापानीको १४ किलोमिटर क्षेत्रमा स्पीड लिमिट प्रतिघण्टा ४० किमि तोकिएको छ । सेनाले जान संकेत गरेपछि उक्त सडकमा अगाडि बढ्ने सवारीहरूले २३ मिनेटमा निकुञ्ज क्षेत्र पार गर्नुपर्छ । एक्लै पैदल वा मोटरसाइकलमा दिउँसै हिड्दा जोखिम हुने क्षेत्र भएकाले मोटरसाइकलहरूले अरु सवारी पर्खिएर साथै लागेमात्रै उक्त दुरी पार गर्छन् । अमालाई लिएर घर जाँदै गरेका सन्तोष शुक्रबार बेलुकी उक्त सडकमा एक्लै परेका थिए ।

मोटरसाइकलमा सवारलाई बाघले एकै ठाउँमा झम्टेर मारेको दुई दशकको अन्तरालमा यो दोस्रो घटना हो । यसअघि २०५८ मा कैलाली लम्कीको सिनेमाघर शितल चलचित्र मन्दिरका सञ्चालक ५२ वर्षीय छेसाङ लामा पनि यस्तै घटना परेर मारिएका थिए । उनी नेपालगञ्जबाट मोटरसाइकलमा पछाडि बसेर लम्की जाँदै गरेका बेला बाघले आक्रमण गरेको थियो ।

शुक्रबारको घटनापछि अम्रेनी–चिसापानी खण्डमा सेनाले गस्ती बढाएको छ । शनिबार राति ८ बजेदेखि बिहान ६ बजेसम्म उक्त खण्डमा मोटरसाइकल, स्कुटर, साइकल र पैदल यात्रुलाई आउजाउमा रोक लगाइएको छ ।

एकला एक्लै यात्रु देखेर बाघले पुनः आक्रमण गर्न सक्ने सम्भावनालाई मध्यनजर राख्दै अनिश्चितकालका लागि दुई पांग्रे साधन र पैदल यात्रुलाई प्रतिबन्ध लगाइएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए । अम्रेनी–चिसापानी सडक खण्ड निकुञ्जको घना वन भएको क्षेत्र हो । उक्त खण्डमा दिउँसै पनि वन्यजन्तु ओहरदोहर गर्छन् ।

सन् २०१८ को गणनाअनुसार बर्दिया निकुञ्ज क्षेत्रका ८७ वटा बाघ छन् । पूर्वपश्चिम राजमार्ग क्षेत्रबाहिर निकुञ्जको मध्यवर्ती र खाता जैविक मार्गमा बाघको आक्रमणबाट गत कात्तिकयता पाँच जनाको मृत्यु भइसकेको छ । मान्छेमाथि आक्रमण गर्न थालेपछि नरभक्षी बाघको खोजी थालिए पनि निकुञ्जले हालसम्म पहिचान गर्न सकेको छैन ।

प्रकाशित : पुस १८, २०७७ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?