२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

पैदलयात्रीलाई ठक्कर दिएर भाग्यो मन्त्री प्रभु साहको गाडी

ओमप्रकाश ठाकुर

सर्लाही — सहरी विकास मन्त्री प्रभु साह सवार गाडीले शनिबार सर्लाहीको हरिवनमा एक पैदल यात्रुलाई ठक्कर दिएर भागेको छ । गाडीको ठक्करबाट घाइते भएका पैदलयात्रीको स्वाभिमान अस्पताल हरिवनमा उपचार भइरहेको छ ।

पैदलयात्रीलाई ठक्कर दिएर भाग्यो मन्त्री प्रभु साहको गाडी

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको साह सवार ना १ झ ३८४२ नम्बरको जिपले लालबन्दी नगरपालिका–८ का ३० वर्षीय बच्चु तामाङलाई ठक्कर दिएको थियो । घाइते तामाङको अवस्था सामान्य छ ।

प्रत्यक्षदर्शी हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसका स्ववियु सभापति प्रज्वल ढुंगानाका अनुसार पश्चिमबाट पूर्वतर्फ झण्डा हल्लाउँदै आएको गाडीले ठक्कर दिएको थियो । दुर्घटना लगत्तै घाइतेको उद्धार गर्न लाग्दा जिप भागेको उनले बताए । मन्त्री साहको गाडीको ठक्करबाट घाइते भएका बच्चु तामाङ।

ढुंगानाले राज्यको मन्त्री जस्तो गरिमा पदमा बसेका व्यक्तीले मानवियता समेत नदेखाएको बताए । ‘दुर्घटना नहुने कुरो हैन, तर ठक्कर लागेपछि सामान्य मनिसले पनि मानवियता देखाउनुपर्छ, वहाँ त अहिलेको बहालवाला मन्त्री पर्नु भयो र पनि ठक्कर दिएपछि झन् भाग्नु भयो,’ उनले भने, ‘हामीले तत्काल उद्धार गर्दा घाइतेको अवस्था सामान्य बनेको छ, यसमा मन्त्रीज्युले गल्ती महसुस गर्नुपर्छ ।’

मन्त्री साह गृह जिल्ला रौतहटबाट महोत्तरीको जलेश्वरतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो । ठक्कर दिने गाडीको अल्फाबेट देख्न नपाएका प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेपछि मन्त्री साह चढेको गाडी रहेको फेला परेको थियो । प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले मन्त्री साह चढेको जिपले पैदल यात्रुलाई ठक्कर दिएको पुष्टि गरे । ‘मन्त्री ज्यू चढेको जिपले नै ठक्कर दिएको रहेछ, यसबारेमामाथि जाहेर गरिसकेका छौं,’ उनले भने, ‘घाइतेको उपचार भइरहेको छ, उनको अवस्था सामान्य छ ।’

प्रकाशित : पुस १८, २०७७ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?