नेपालको नयाँ राजनीतिक घटनाक्रम आन्तरिक मामिला : अमेरिकी दूतावास  

जगदीश्वर पाण्डे

काठमाडौँ — संसद विघटनलगायत नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई लिएर चीन र भारतपछि अमेरिकाले पनि मुख खोलेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई चीन र भारतले जस्तै नेपालको आन्तरिक मामिला भनेको छ । 

नेपालको नयाँ राजनीतिक घटनाक्रम आन्तरिक मामिला : अमेरिकी दूतावास  

दूतावासकी प्रवक्ता आना रिची–एलेनले कान्तिपुरसँग भनिन्, ‘यो नेपालका सार्वभौम संस्थाहरु र राजनीतिक दलहरुले आफ्नो लोकतान्त्रिक संवैधानिक प्रक्रिया र कानूनको शासनअनुरुप समाधान गर्ने आन्तरिक मामिला हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल नेकपाभित्रको विवादका कारण पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेपालमा नयाँ राजनीतिक संकट देखा परेको थियो ।

यसअघि नेपालको उत्तरी छिमेकी चीनबाट चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली स्थलगत अध्ययनको लागि नेपाल आएको थियो । उक्त टोली पुस १२ गते नेपाल आएर १६ गते फर्किएको थियो ।

उक्त टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (दाहाल…–नेपाल समूह) का अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललाई भेटेको थियो । साथै, चिनियाँ टोलीले सभामुख अग्नि सापकोटा, जनता समाजवादी पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराई र प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेको थियो ।

पुस १३ गते बेइजिङमा भएको पत्रकार सम्मेलनमा नेपालको नयाँ राजनीतिक घटनाक्रमबारे जवाफ दिने क्रममा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ ली च्येनले ‘चिनियाँ कम्युनिष्ट पार्टीले अर्काको स्वतन्त्रता, समानता, आपसी सम्मान र कसैको आन्तरिक मामिलामा हस्तक्षेपको सिद्धान्त नअपनाउने’ प्रष्ट पारेका थिए । उनले चिनियाँ टोलीको भ्रमणलाई दुई मुलुकबीच मित्रता गहन पार्नका लागि रहेको दावी गरे ।

नेपालको दक्षिण छिमेक भारतले भने पुस ९ गते प्रतिनिधि सभा विघटनको निर्णय र त्यसपछि विकसित राजनीतिक घटनाक्रलाई भारतले आफ्नो जानकारीमा रहेको उल्लेख गरेको थियो । भारतका विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भनेका थिए, ‘नेपालको राजनीतिक घटनाक्रम हाम्रो जानकारीमा छ । यो नेपालको आन्तरिक मामिला हो । लोकतान्त्रिक विधिअनुसार नेपालले नै आवश्यक निर्णय गर्नेछ ।’

भारत र चीनबाट नेपालको राजनीतिक घटनाक्रममाथि प्रक्रिया आए पनि अमेरिका यस विषयमा मौन थियो ।

प्रकाशित : पुस १६, २०७७ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?