मोर्चाका नेताहरू भन्छन्- विप्लवलाई हतियार बोकेर जाने बाटो छोडेर जनसंघर्षको बाटोमा अगाडि बढ्नुपर्छ भन्ने हाम्रो प्रयास हो ।
काठमाडौँ — भूमिगत राजनीति गरिरहेको नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग खुला राजनीतिमा रहेका तीन दल मिलेर सरकारविरुद्ध मोर्चा घोषणा गरिएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले एकै मोर्चामा अगाडि बढ्ने घोषणा गरेका छन् ।
पछिल्लो समय प्रहरीसँग गोली हानाहानका साथै व्यक्ति हत्यामा समेत संलग्न भएको चन्द नेतृत्वको पार्टीसँग खुला राजनीतिमा रहेका दलहरूले गरेको मोर्चाबन्दीलाई लिएर विभिन्न आकलन हुन लागेका छन् । के विप्लव खुला राजनीतिमा आउन लागेका हुन् ? वा विप्लवले यो मोर्चालाई आफ्नो शक्ति आर्जन, पार्टीका गतिविधिबाट ध्यान अन्तै भड्काउने रणनीति त होइन ? भन्नेमा अड्कलबाजीहरु भएका छन् ।
विप्लवसँग वार्तामा बसेर मोर्चा गठन गर्ने घोषणा गरेका नेताहरू भने विप्लव खुला राजनीतिमा आउन तयार रहेको बताउँछन् । उनीहरूले सरकारले गर्दा विप्लव भूमिगत रहनुपरेको बताए । मोर्चाका आगामी कार्यदिशा के हुने भनेर शीर्ष नेताहरू छलफलमा रहेका छन् । खासगरी चारवटा कार्यदिशाबारे छलफल भइरहेको उनीहरूले जानकारी दिएका छन् । मोर्चाले सरकारविरुद्ध कसरी जाने भनेर कार्यदिशालाई छिट्टै टुंगोमा पुर्याएर सार्वजनिक गर्ने तयारी थालेको छ ।
आगामी रणनीतिक कार्यदिशा सार्वजनिक कार्यक्रममा मोर्चाका चारवटै घटकका शीर्ष नेता उपस्थित हुने नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले बताए । के त्यो कार्यक्रममा विप्लव उपस्थित हुन्छन् त ? भन्ने प्रश्नको जवाफमा कट्टेल भन्छन्, 'विप्लवलाई आउन दिइयो भने आउनुहुन्छ । तर, सरकारले आउन दिन्न । उहाँ भूमिगत रहन चाहनुभएको छैन । खुला रूपमा जनताको बीचमा रहेर काम गर्ने उहाँको इच्छा हो । उहाँ अहिले पनि नेपालमै रहेर काम गरिरहनुभएको छ । तर सरकार र अरु पार्टीहरू आउन दिन्नन्, जनमत आफूबाट खोस्ला भनेर प्रतिबन्ध लगाएका छन् ।'
विप्लवको पार्टीले आफूहरू खुला राजनीतिमा नै रहेको बताइरहेको मोर्चाका नेता आहुतिले बताए । व्यक्ति हत्या र हतियारबन्द राजनीतिको मोर्चाले समर्थन नगर्ने र त्यस्ता कदम गलत हो आफूले भनिरहेको बताउँदै विप्लवको भूमिगत राजनीतिबारे आहुति अगाडि भन्छन्, 'प्रतिबन्ध लगाउनुभन्दा अगाडि उहाँहरू खुला राजनीतिमा हुनुहुन्थ्यो । अहिले पनि उहाँले युद्ध घोषणा गर्नुभएको छैन । उहाँहरू शान्तिपूर्ण राजनीतिमा नै छौं भनिरहनुभएको छ । उहाँहरू युद्धमा भएको शक्ति हो भन्ने कुरा उहाँहरूले स्वीकार गरेको स्थिति होइन र सरकारले पनि स्वीकारेको छैन ।'
सरकारले किन प्रतिबन्ध लगाएको भनेर ठोस कारण दिन नसकेको आहुतिको भनाइ छ । विप्लव नेतृत्वको नेकपाले टेलिफोन टावरमाथि आगजनी गर्ने र काठमाडौंलगायतका विभिन्न ठाउँमा बमलगायतका विस्फोटक पदार्थ राखेर जनजीवन त्रस्त पार्न थालेपछि सरकारले २०७५ फागुनदेखि उनको पार्टीलाई प्रतिबन्ध लगाएको छ । यो पार्टीका गतिविधि आपराधिक भएकाले प्रतिबन्ध लगाउनुपरेको सरकारको भनाइ थियो ।
कट्टेल भने 'नेकपा अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापालाई कार्यकर्ता विप्लवले लगिदेला भन्ने पीर र प्रधानमन्त्री ओलीलाई सक्कली कम्युनिस्ट आयो भने आफ्नो शासनमाथि समस्या पर्ला भन्ने चिन्ता' ले प्रतिबन्ध लगाइएको दाबी गर्छन् ।
मोर्चाले आफ्ना गतिविधि अगाडि बढाउँदै लगेपछि विप्लव पनि खुला राजनीतिमा आउने कट्टेलको भनाइ छ । आफूले विगत केही महिनायता विप्लवसँग सयौं वार्ता गरेको भन्दै उनले अहिले नै सार्वजनिक हुने कि नहुने भन्नेबारे मोर्चामा सल्लाह भइरहेको बताए । विप्लव सार्वजनिक हुँदा त्यसको असर कस्तो पर्छ भनेर छलफल भइरहेको उनले बताए ।
'उहाँ खुला राजनीतिमा आउनलाई यो मोर्चा बनाइएको हो । यो काम गरिरहेका छौं । सैयौंपटक उहाँसँग वार्ता भएका छन् । विप्लवलाई हतियार बोकेर जाने बाटोबाट ल्याएर जनसंघर्षको बाटोमा अगाडि बढ्नुपर्छ भन्ने हाम्रो प्रयास हो र त्यसमा हामी सहमत छौं,' कट्टेलले भने । भविष्यमा एकै राजनीतिक दल बनाउने तयारीसमेत भइरहेको कट्टेलले बताए । मोर्चाभित्र रहेका वैचारिक मतभेदलाई बहसबाट समाधान गर्दै कम्युनिस्ट पार्टी गठन गर्ने योजना रहेको उनको भनाइ छ ।
शान्तिपूर्ण जनसंघर्षबाट नै राज्यसत्तामा पुग्ने योजना रहेका दलहरूबीच एकता भएको मोर्चाका नेताहरूले बताएका छन् । मोर्चाका कुनै घटक पनि हतियारको राजनीति गर्ने पक्षमा नरहेको उनीहरूको भनाइ छ ।
सम्बन्धित समाचार :
