कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीले चुनाव गराउँदैनन् : भीम रावल

अर्जुन शाह

धनगढी — नेकपा दाहाल–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीको चुनाव गराउने योजना नरहेको दाबी गरेका छन् । उनले भने, ‘प्रधानमन्त्री ओलीले चुनाव गराउने उद्देश्यले संसद विघटन गरेकै हैनन् ।’

ओलीले चुनाव गराउँदैनन् : भीम रावल

धनगढीमा आइतबार अपरान्ह्र नेता कार्यकर्ताहरुलाई सम्बोधन गर्दै प्रश्न गरे, ‘ओली कस्ता प्रधानमन्त्री र पार्टी अध्यक्ष हुन्, जसले आफ्नै पार्टीभित्र जालझेल गर्छन्, संविधानमा कुनै व्यवस्था नभए पनि बलजफ्ती संसद् विघटन गर्छन्, आफै पार्टी फुटाउँछन् र पार्टी कार्यकर्ताहरुमाथि विश्वासघात गर्छन् ।’

पार्टीको स्थायी कमिटीको निर्देशन उल्लंघन गर्नुको कारण पार्टी विभाजन गर्ने मनस्थिति रहेको अहिले आएर पुष्टि भएको उनको भनाइ थियो । ‘यसअघि नै अध्यादेश ल्याउन खोज्नु यसकैका लागि रहेछ भन्ने त बल्ल बुझियो’ उनले भने । रावलले अगाडि भने, ‘सामन्तहरुसँग बालुवाटारमा मध्यराति भेट्नुका रहस्यहरु पनि विस्तारै खुल्दैछन् ।’ उनले अबको लडाइँ संविधान, वर्तमान व्यवस्था तथा विधि प्रणालीका पक्षधर र कानुन नमान्ने तथा निरंकुश चरित्र व्यवहार भएकाहरुबीच हुने बताए ।

कसले आधिकारिता प्राप्त गर्ने भन्ने उल्झन कायमै रहेका बेला नेता रावलले आफू पक्षधरले नेकपाको आधिकारिकता प्राप्त गर्नेमा कुनै शंकै नरहेको दाबी गरे । उनले भने, ‘उहाँहरु पक्षमा वैधानिक केन्द्रीय सदस्यहरुको संख्या २८ प्रतिशतभन्दा कम छ । त्यसैले उहाँहरुले वैधानिकता पाउने कल्पना पनि नगरे भो । आयोगले संख्या नपुगेको पक्षलाई वैधानिकता दिने प्रश्नै छैन ।’

प्रकाशित : पुस १२, २०७७ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?