काठमाडौँ — वामपन्थी नेता स्वनाम साथी (शशि शेरचन) को ७० वर्षको उमेरमा शुक्रबार निधन भएको छ । उपचारका क्रममा काठमाडौं मोडेल अस्पतालमा शुक्रबार साँझ उनको निधन भएको परिवारले जनाएको छ । गत असोज २८ मा कोरोना भाइरसको संक्रमण भएपछि उनको स्वास्थ्य अवस्था बिग्रिंदै गएको थियो ।
पाटन अस्पतालमा उपचारका क्रममा कोभिड–१९ को रिपोर्ट नेगेटिभ आए पनि निमोनिया भएपछि उनलाई काठमाडौं मोडेल अस्पताल सारेर उपचार गरिएको थियो । उनले केही वर्षअघि मिर्गौला प्रत्यारोपणसमेत गराएका थिए । म्याग्दीको अर्मनमा जन्मिएका स्वनाम लामो समय नेपाली कम्युनिस्ट आन्दोलनमा थिए ।
आफूलाई ‘कम्युनिस्ट अभ्यासी’ भनेर चिनाउने उनले हेटौंडा महाधिवेशनमा तत्कालीन माओवादीको विधान बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उक्त महाधिवेशनमा विधान मस्यौदा समिति संयोजक थिए । तत्कालीन नेकपा (एकता केन्द्र मसाल), माओवादी केन्द्र हुँदै राजनीतिमा रहेका स्वनाम एकतापछिको नेकपामा भने कुनै भूमिकामा थिएनन् । पछिल्लो समय उनी मार्क्सवादी स्कुल खोल्ने अभियानमा थिए । सकारात्मक सोचका धनी उनी जीवनलाई ऊर्जावान र सकारात्मक ढंगले अघि बढाउने धारणा राख्थे ।
म्याग्दीको अर्मनमा २००७ सालको क्रान्तिकै बेला जन्मेका स्वनाम हुने खाने परिवारका थिए । त्यसैले उनलाई वसन्त गौचन (९० वर्ष) ले पढाउन भनेर दार्जिलिङ लैजान खोजेका थिए । गोरखपुरको गर्मी खप्न नसकेर उनी सात वर्षको उमेरमा काठमाडौं आए, बीएस्सीसम्मको अध्ययन गरे । राजनीति भने स्वनामले २०२२ सालदेखि सुरु गरे । त्यसपछि स्वअध्ययनमा लागे ।
मार्क्सवादसहित विभिन्न राजनीतिक दर्शनको अध्ययन गरेका उनले दुई वर्ष अघि गोंगबु नयाँ बसपार्क नजिक बहिनीको घरमा भनेका थिए, ‘साथी, जिन्दगी रमाइलोसँग बिताउनुपर्छ । धेरै हाँस्नुपर्छ, थोरै रुनुपर्छ । अरुलाई हानि गर्नुहुँदैन । जिन्दगी सुन्दर बनाउने गफ गर्ने हो । साथी, रमाइलो गरौ, असमानता मेटाउने प्रयास गरौ ।’
स्वनामले २०७० सालमा इञ्जिनियर किरण गौतमसँग विवाह गरेका थिए । माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, अमिक शेरचनलगायतको उपस्थितिमा उनले विवाह गरेका थिए । स्वनामको अन्त्येष्टि शनिबार गरिने भएको छ ।
