धरहराको २०औं तला पुनर्निर्माण सम्पन्न

काठमाडौँ — २०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको २० औं तलाको पुननिर्माणको काम सम्पन्न भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको २० औं तलाको पुननिर्माण गर्ने काम सम्पन्न भएको बताएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशिल ज्ञवालीले २० औं तलामा बन्ने बारदली बनाउने काम भइराखेको बताए । यही बारदलीबाट सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउनेछन् । धरहरा कूल २३ तला रहने पनि ज्ञवालीले बताए ।
यस्तै, धरहरा परिसरभित्र एक हजार भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङ स्थल निर्माणको काम पनि द्रूत गतिमा भइरहेको सीईओ ज्ञवालीले बताए । त्यसबाहेक टक्सार संग्राहलय, भूकम्प संग्राहलय लगायतको संग्राहलय रहने भवनको निर्माण कार्यपनि तीव्र गतिमा भइरहेको छ ।
जमिन मुनीको दुईतलाबाट लिफ्ट प्रयोग गरी २० औं तलासम्म जान मिल्ने गरी तयार पारिएको ढाँचामा धरहराको पूनर्निर्माण भइरहेको छ । ज्ञवालीले यसै आर्थिक वर्षभित्रैमा काम सम्पन्न गर्ने गरी निर्माण कार्य अगाडि बढेको बताए । आगामी असार मसान्त सम्म मूलभुत कामहरु सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरिने ज्ञवालीले बताए ।
प्राधिकरणको समयावधि आगामी वर्षको पुष १० गते सम्म भएकाले आगामी असार मसान्तसम्म सबै क्षेत्रको पुनर्निर्माणको आधारभूत काम सम्पन्न गर्ने र बाँकी काम सम्बन्धित निकायलाई जिम्मा लगाउने बताए । असार मसान्तपछिको समय भने अहिलेसम्म प्राधिकरणले गरेका कामहरुको अडिट गर्न लाग्ने पनि सीईओ ज्ञवालीले बताए ।
धरहराको कूल लागत भ्याटसहित ३ अर्ब ४५ करोड रुपैयाँ छ । धरहराको कूल क्षेत्रफल ४२.२ रोपनी रहेको छ ।
प्रकाशित : पुस ९, २०७७ १५:५५