२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

दाहाल-नेपाल समूहको भेलामा ओलीको आलोचना

काठमाडौँ — सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर आलोचना गरेका छन् । 

दाहाल-नेपाल समूहको भेलामा ओलीको आलोचना

शुक्रबार जनवर्गीय संगठनको कार्यालय कोटेश्वर पेरिसडाँडामा प्रदेश १ अन्तर्गतका आफू निकट जिल्ला पदाधिकारीहरुको भेलामा नेताहरुले ओलीको कार्यशैली र प्रवृत्तिलाई लिएर आलोचना गरेका हुन् । भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता नलिए थप कदम चाल्ने संकेत गरेको एक नेताले बताए ।

पार्टीले निर्णय गरिसकेकाले प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिनेमा आफूहरु ढुक्क रहेको दाहालले बताएका थिए । फिर्ता नभए त्यसको जिम्मेवार प्रधानमन्त्री ओली नै हुने दाहालको भनाइ थियो । भेलामा सहभागी केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले ओलीका गलत प्रवृत्तिहरुका बारेमा नेताहरुले खुलेरै आलोचना गरेको बताए ।

भेलामा अध्यक्ष दाहालले ओलीबाट पटक–पटक धोका पाएको गुनासो गरेका थिए । ‘उहाँले जे जे भन्नु भयो सबै मान्दै आएँ । उहाँलाई साथ र सहयोग गर्दागर्दै पनि पटक पटक धोका दिनुभयो । अपमानित गर्नुभयो,’ भेलामा दाहालले भनेका थिए, ‘केपी कमरेडले आन्दोलन, पार्टी सबैलाई कमजोर बनाउनुभयो । मलाई अन्तत: केपीजीको तरिकाले दुई अध्यक्ष मिलेर काम गर्न भन्दा पाँचजना सचिवालय सदस्यसँग मिलेर बस्न सबैभन्दा प्रिय लाग्यो ।’

केन्द्रीय सदस्य खतिवडाका अनुसार नेता नेपालले पार्टीको विधि पद्धतिलाई ओलीले कसरी उल्लङ्घन गरे भन्नेबारे बोलेका थिए । ‘गोयवल्स शैलीमा कुप्रचार गरेर केपी कमरेडले कसरी मिडियालाई दुरुपयोग गर्दै हुनुहुन्छ । राज्यसत्ता, शक्तिलाई कसरी दुरुपयोग गर्दै हुनुहुन्छ भन्नेमा माधव कमरेड केन्द्रित हुनुहुन्थ्यो,’ खतिवडाले भने ।

भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता झलनाथ खनालले भनेका थिए, ‘कम्युनिष्ट आन्दोलनको पृष्ठभूमिलाई सम्झेर केपी ओलीले न समाजवाद निर्माण गर्ने आधार तयार गर्नुभयो, न त्यस प्रकारको कार्ययोजना ल्याउनु भयो । न त्यसमा छलफल परामर्श गर्न चाहनु भयो । न पार्टी संगठनलाई अनुशासन, पद्धतियुक्त र ईमान्दारहरुको फौज बनाउनु भयो । यी दुवै क्षेत्रमा उहाँको गम्भीर असफलता छ ।’

खतिवडाले खराब प्रवृत्तिका विरुद्धमा संगठित भएर प्रतिवाद गर्न लागेको बताए । ‘आज पार्टीको एकतालाई जोगाउनु हाम्रो प्रमुख कर्तव्य हो । त्यसकारण हामी खराब प्रवृत्तिको विरुद्धमा संगठित भएर प्रतिवाद गर्न लागिरहेका छौं,’ खतिवडाले भने ।

भेलामा प्रदेश १ अन्तर्गत १४ जिल्लाका जिल्ला कमिटीका अध्यक्ष र सचिव सहभागी थिए । साथै सोही प्रदेशबाट प्रतिनिधित्व काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य पनि उपस्थित रहेको खतिवडाले जानकारी दिए ।

दाहाल–नेपाल समूहले केही दिनअघि पेरिसडाँडामा नै वाग्मती प्रदेशस्तरीय भेला गरेको थियो । कोटेश्‍वर भेलापछि ओली र दाहालबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रकाशित : पुस ३, २०७७ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?