कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

चन्द समूहको निगरानी बढाउन सेनामा निर्देशन

संविधान र ऐन/नियमविपरीतका चन्द समूहका गतिविधि निगरानी गर्न जरूरी छ । – सन्तोषबल्लभ पौडेल, सैनिक प्रवक्ता

काठमाडौँ — प्रधानसेनापति पूर्णचन्द्र थापाले हिंसात्मक गतिविधिमा संलग्न नेत्रविक्रम चन्द समूहका गतिविधिमा सूक्ष्म निगरानी बढाउन मातहत युनिटहरूलाई निर्देशन दिएका छन् । शान्तिसुरक्षा व्यवस्थापनमा अन्य सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पनि त्यहीअनुसार सहयोग गर्न उनले पृतना, वाहिनी र गण/ गुल्मपतिहरूलाई भनेका छन् ।

चन्द समूहको निगरानी बढाउन सेनामा निर्देशन

पछिल्लो पटक मंसिर २३ गते मोरङको मिक्लाजुङ गाउँपालिका–१, रमितेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको चन्द समूहले अपहरणपछि घाँटी रेटेर हत्या गरेको थियो । त्यसको भोलिपल्ट २४ गते प्रधानसेनापति थापाले पूर्वी पृतना हेडक्वार्टर इटहरी र त्यस मातहतका युनिटमा पुगेर शान्तिसुरक्षाको अवस्थाबारे जानकारी लिएका थिए । त्यसअघि मंसिर १६ देखि १८ सम्म थापाले उत्तर–पश्चिम र सुदूरपश्चिम पृतना हेडक्वार्टर तथा त्यसअन्तर्गतका जिल्लाका ब्यारेकको निरीक्षण गरेका थिए ।

सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले प्रधानसेनापतिको विभिन्न जिल्लाको भ्रमण क्रममा चन्द समूहका हिंसात्मक र संविधान, ऐन–नियमविरुद्धका गतिविधि नियन्त्रणमा सूक्ष्म निगरानी राख्न मातहत युनिटहरूलाई निर्देशन दिइएको बताए । मंसिर २४ गते प्रधानसेनापति थापाले पूर्वी पृतना हेडक्वार्टर र अन्तर्गत युनिटहरूको निरीक्षण गरेका थिए । बुधबार पाँचथरको भैरवी दल गण, ताप्लेजुङको भीमकाली गुल्म, संखुवासभाको रणभीम गुल्म र इटहरीस्थित पृतना हेडक्वार्टरको निरीक्षण गरेका थिए ।

२५ गते ओखलढुंगा र भोजपुरस्थित सैनिक ब्यारेकको भ्रमण गरेका प्रधानसेनापति थापाले त्यसअघि मंसिर १६ गते उत्तर–पश्चिम पृतना हेडक्वार्टर सुर्खेतसहित हुम्ला, कालीकोटलगायत जिल्लास्थित सैनिक ब्यारेकको निरीक्षण गरेका थिए । मंसिर १७ र १८ गते सुदूरपश्चिम पृतना हेडक्वार्टर र मातहत जिल्लाका ब्यारेक पुगेका थिए । थापाले पछिल्लोपटक निरीक्षण गरेका जिल्लाका विकट भू–भागमा चन्द समूहका गतिविधि बढेका छन् । त्यसैलाई मध्यनजर गर्दै थापाले यी जिल्लाका ब्यारेक पुगेर चन्द समूहका गतिविधिमा सूक्ष्म निगरानी बढाउन भनेका हुन् ।

‘आफ्नो जिम्मेवारी क्षेत्रमा भएका सुरक्षासम्बन्धी विभिन्न चुनौतीलाई विश्लेषण तथा अनुगमन गर्ने सेनाको दायित्व नै हो,’ प्रवक्ता पौडेलले कान्तिपुरसँग भने, ‘यसमा प्रधानसेनापतिको भनाइ गैरसंवैधानिक बाटो र हिंसात्मक गतिविधिमा संलग्नहरूको बारेमा विशेष निगरानी राख्नुपर्छ भन्ने नै हो । यसबारेमा जानकारी लिइरहनुपर्छ भनेर प्रधानसेनापतिले भन्नुभएको छ ।’

मुलुकको समग्र शान्तिसुरक्षाको स्थितिबारे जानकारीमा राखिरहनु र आवश्यकताअनुसार प्रशासन र अन्य सुरक्षा निकायलाई साथ/सहयोग गर्नु सेनाको ‘न्याचुरल ड्युटी’ भएको उनले स्पष्ट पारे । ‘मातहत युनिटमार्फत आ–आफ्ना इलाकाको शान्तिसुरक्षालाई चुस्त र व्यवस्थित बनाउन जिम्मेवारी निर्वाह गर्नु हाम्रा लागि अनन्याचुरल होइन, हाम्रो जिम्मेवारीभित्रकै दायित्व हो,’ पौडेलले भने, ‘चन्द समूहका संविधान र ऐन/नियमविपरीतका गतिविधि निगरानी गर्न जरुरी पनि छ ।’

शान्तिसुरक्षा व्यवस्थापनमा स्थानीय प्रशासनलाई सेनाले सधैं साथ–सहयोग गर्दै आएको उनले बताए । प्रधानसेनापति विभिन्न युनिटको भ्रमणमा जाँदा यस्ता सहयोगलाई अझ प्रभावकारी बनाउन र प्रशासनलाई मागअनुसार सहयोग गर्न पनि निर्देशन दिइएको उनले बताए । ‘यसका लागि पनि तयार भएर बस्नुहोस् । हिंसात्मक गतिविधिमा संलग्न समूहहरूको निगरानीमा विशेष ध्यान दिनुहोस् भनेर प्रधानसेनापतिबाट स्पष्ट रूपमा निर्देशन भएको छ ।’

प्रकाशित : मंसिर ३०, २०७७ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×